भरतपुर नपाले भ्रमण वर्ष २०२० मा विशेष कार्यक्रमका साथ पर्यटकको स्वागत गरिने

58

चितवन / भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० लाई विशेष कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । सङ्घीय सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानी र प्रदेश सरकारले छानेको एक जिल्ला एक पर्यटकीय गन्तव्यमध्येको मेघौली महानगरपालिकामा पर्दछ ।

महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदीले जनाए अनुसार नगर प्रमुखको संयोजकत्वमा ११ सदस्यीय स्टेरिङ कमिटी र ९१ सदस्यीय मूल समिति निर्माण गरी काम अघि बढाइएको छ । सुवेदीकै संयोजकत्वमा क्यालेन्डर र ब्रुसर निर्माण उपसमिति गठन गरिएको छ ।

पर्यटन व्यवसायी दिनेश चुकेको संयोजकत्वमा स्तम्भ निर्माण उपसमिति र अमृत जोशीको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति गठन गरिएको छ । चुकेका अनुसार जिल्ला भित्रने पर्यटकका लागि नयाँ पन दिने गरी नारायणी पुलको पूर्वपट्टि नारायणी नदी किनारमा स्तम्भ निर्माण गरिँदै छ । पन्ध्र फिट अग्लो स्तम्भमा १० फिट अग्लो बाघले मुखबाट पानी नारायणी नदीतर्फ फाल्दै गरेको दृश्य नारायणी पुलबाट समेत देख्न सकिने गरी स्तम्भ निर्माण गर्न लागिएको हो ।

उहाँका अनुसार रु एक करोड हाराहारी खर्च गरी निर्माण गर्न लागिएको स्तम्भ तीन कट्ठा जमीनमा फैलनेछ । बाघले फाल्ने पानी त्यहीँ निर्माण गर्ने पोखरीमा खस्नेछ । वरिपरि बगैँचा निर्माण गरी मानिस बस्नका लागि बेन्च राखिँदैछ । सो महानगरपालिकाले यसअघि नै पोखरा महानगरपालिकासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

पर्यटन मेलादेखि स्वदेश र विदेशमा प्रचारप्रसार, सिकाइको आदानप्रदानसँगै भरतपुरको नाम दिएर पोखरामा र पोखराको नाम दिएर भरतपुरमा सडकको नामकरणसमेत गरिँदैछ । पर्यटनविज्ञ सुवेदीका अनुसार यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकासँग निजी क्षेत्रसहित बसेर पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरिँदैछ ।

महानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी अन्तरक्रिया, पर्यटकीय गन्तव्यको भ्रमण, वत्तृत्वकला, नारायणी नदी किनारमा गरिने खेल, योग शिविर, होटल रेष्टुरेन्टमा छुट घोषणा, भ्रमण प्याकेज, चौमासिक पत्रिका प्रकाशन लगायतका ३० कार्यक्रम घोषणा गर्दैछ । महानगरपालिकाले मुख्य सात पर्यटकीय गन्तव्य मेघौली, पटीहानी, देवघाट धाम, ज्ञानेश्वर ब्लक, चौकीडाँडा, नारायणी किनार र बीसहजारी ताललाई विशेष प्राथमिकतामा राखेर भ्रमण प्याकेज घोषणा गर्दैछ ।

महानगरभित्रका २७ स्थललाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो । महानगरभित्र ६५ पर्यटकीय होटल छन् । चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसँगै राप्ती र नारायणी नदीमा जलक्रिडाका लागि रमाउन पर्यटक यहाँ आउने गर्दछन् । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ लगायतका जनावरले यहाँ आउने स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here