पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा पर्रोहा परमेश्वर बोलबम धाममा पूजा

192

रूपन्देही / गत  आइतबार १५ मंसिरदेखि देशको पश्चिम क्षेत्रको भ्रमण शुरु गर्नुभएका पूर्वराजा  ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पश्चिमको पशुपतिनाथका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा पूजा गर्नुभएको छ ।

आज दिउँसो ३ बजे आउने भनिए पनि ४ बजे मात्रै बोलबम धाममा आउनुभएका शाह बुटवल हुँदै रानीबगिया चोकबाट बोलबम धाममा आइपुग्नुभएको हो । उहाँको स्वागतको लागि हजारौँ जनता फूल माला लिएर सडकमा बसेका थिए । पूर्वराजा  मन्दिरमा आइपुग्दा भीडले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

शाहले मन्दिरमा २० मिनेट पूजा गर्नुभएको थियो । देशवासीमा सुखशान्तिको कामना गर्दै पूर्वराजाले पूजा गर्नुभएको पण्डित विष्णु ज्ञवालीले जानकारी दिनुभयो । पण्डित ज्ञवालीले मूल मन्दिरमा विशेष पूजा गराउनुभएको थियो । पूजालगत्तै शाहले मन्दिर ब्यवस्थापन समितिले बनाएको आसनमा केहीबेर विश्राम लिनुभएको थियो । पर्रोहा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले धामको चिनो पूर्व श्री ५ लाई प्रदान गर्नुभएको थियो ।

सो लगत्तै शाह दक्षिण गेट हुँदै मुर्गिया प्रस्थान गर्नुभएको थियो । मुर्गियामा आइपुग्दा उहाँलाई सयौंको संख्यामा स्थानीयले स्वागत गरेका थिए । यस्तै, पुर्वराजा श्री ५ मंसिर १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उहाँको सचिवालयले जानकारी दिएको छ । १८ गते बसेको होटलमै विभिन्न ब्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ । अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवतीको दर्शन गरी आइतबार काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उँहाको सचिवालयले जानकारी दिएको छ।          – एस क्षेत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here