– निशा तामाङ
नेपाल पुरुष प्रधान समाज हो । नेपालको पारिवारिक संरचना हेर्ने हो भने यसमा पितृसत्तात्मक सोच हावी भएको देख्न सकिन्छ । पितृसत्तात्मक सोचका कारण महिला हिंसा बढ्दै गएको छ । पुरुषबाट दिनप्रतिदिन महिला हिंसाका शिकार बन्दै गइरहेका छन् । साँझ परेपछि महिला बाहिर स्वतन्त्र रूपमा हिँड्न सक्ने वातावरण छैन । पितृसत्तात्मक समाजका कारण गलत सोच र बुझाइले महिलालाई समाजमा खुलेर हिँड्न बोल्न समेत गाह्रो भएको हो ।
पुरुष सत्तात्मक सोचाइका कारण बढ्दै गएको लैंगिक हिंसा विरुद्ध हरेक वर्ष विभिन्न नारासहित अभियान चल्ने गरेको पाइन्छ । तर नारा सधैं नारामै सीमित रहँदै आएको पनि देखिन्छ । नेपाली सञ्चारमाध्यमहरूमा महिला हिंसाका समाचार हेर्दा दिनहुँ महिला हिंसा अझ बढ्दै गएको छ भन्न सकिन्छ ।
महिला हिंसाका कुरा गर्दा तथ्यांकमा जनजाति महिलाहरू नेपालमा सबैभन्दा बढी हिंसामा परेको देखिन्छ । जनजाति महिलाप्रतिको सोचाइ नै नकारात्मक रूपमा राखेको पाइन्छ । अरु महिलाहरूको तुलनामा जनजाति महिलाहरू बढी गरीब, अशिक्षित, बेरोजगार, पिछडिएको जस्ता विभिन्न कारणबाट हिंसाको शिकार हुन पुगेका छन् । अझ उनीहरूले हिंसाका घटनामा प्रहरीमा उजुरी समेत दिने गरेको पाइँदैन ।
गरीबीका कारण जनजाति महिला रोजगारका सिलसिलामा विदेशिनु पर्ने बाध्यता रहँदै आएको छ । विदेशिने क्रममा धेरै जनजाति महिला मानव बेचबिखनमा परेका छन् । जनजाति महिला आफ्नै घरमा आफ्नै दिदी बहिनी, छोरी चेली तथा नजिकका महिला नातेदारहरूबाटै हिंसामा पर्ने गरेका छन् । गरीबीका कारण विदेश जान बाध्य पार्न नातेदारहरू नै अग्रसर हुने गरेका छन् । मानव बेचबिखनका घटनामा जनजाति महिलाहरूलाई आफ्नै नातेदार बाबु, दाजुभाइ, दिदीबहिनी र श्रीमान्ले बेच्ने गरेको खुलासा हुँदै आएको छ ।
जनजाति महिलामा सानै उमेरमा विवाह गर्ने चलन रहँदै आएको छ । यो कानूनतः अपराध त हो नै, यसले उनीहरूको भविष्य पनि तहसनहस पारिदिन्छ । यो एक प्रकारको मानसिक हिंसा मान्न सकिन्छ । सानै उमेरमा विवाह गर्नाले जनजाति महिलाहरूमा बढी बहुविवाह हुने गरेको देख्न सकिन्छ ।
अशिक्षाकै कारण जनजाति महिला राम्रो रोजगारी पाउन सक्दैनन् । तसर्थ रोजगारीका सिलसिलामा विकट ठाउँहरूबाट शहरबजारमा आउँदा शिक्षा र सीप नहुनाले रोजगारी नपाएर कुलतमा फस्ने गरेको पनि पाइन्छ । रात्रिकालीन मनोरञ्जनका क्षेत्रहरू हेर्ने हो भने बढी मात्रामा जनजाति महिला नै भेट्ने गरेको पाइन्छ । जनजाति महिला शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति जस्ता पक्षहरूमा निकै पछाडि छन् ।
उनीहरू सोझा हुने भएकाले तुरुन्तै अर्काका कुरामा विश्वास गदौ हिंसाको शिकार बन्ने गरेको पाइन्छ । उनीहरूको सोझोपनको गलत फाइदा अन्यले उठाउने गरेको पाइन्छ । जनजातिका अभिभावकहरू अधिकांश अशिक्षित भएकाले र खेतबारीकै काममा व्यस्त हुनाले छोराछोरीका क्रियाकलापमा ध्यान दिन सकेको पाइँदैन । जसको फलस्वरूप उनीहरू हिंसाका शिकार बन्ने गरेका छन् ।
पितृसत्तात्मक सोचका कारण लैंगिक विभेद बढ्दै गएको छ । पुरुषको तुलनामा महिलालाई समान रूपमा हेरिँदैन । महिलालाई दोस्रो दर्जाको रूपमा लिइन्छ । परम्परागत सोचमा परिवर्तन भएको छैन । यही सोचका कारण महिला नेतृत्व अगाडि आउन सकेका छैनन् । कतिपय महिला नेतृत्व तहमा पुगे पनि निर्णयमा पुरुषको हैकम चलेको पाइन्छ ।
यस वर्ष पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान शुरु भइसकेको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित शुरु भएको अभियानले महिला पुरुषबीच समानता कायम ल्याउन आवश्यक छ । जनजाति महिलालाई शिक्षित बनाउने अभियान चलाउन आवश्यक छ । रोजगारीको सृजना गर्नु आवश्यक छ । बलात्कारका घटना अन्त्यका लागि महिला पुरुष एकजुट भएर अभियान चलाउन आवश्यक छ ।
यसका साथै सरकारले पनि महिलालाई शिक्षा, रोजगारी लगायत क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । सरकारले बजेटमा नै महिला सचेतनाका लागि छुट्याएको बजेटलाई रकमान्तर गरेर विभिन्न पूर्वाधार निर्माणमा लगाएको समाचार बेलाबेलामा सार्वजनिक हुँदै आएको छ । यसले बजेट विनियोजन गरेर मात्र हुँदैन, लक्षित वर्गसम्म कति पुग्यो भन्ने अनुगमन पनि आवश्यक छ भन्ने सन्देश यस्ता घटनाले दिएको छ । लक्षित वर्गसम्म नपुग्ने बजेट उपलब्धिमूलक हुँदैन । महिलाका लागि छुट्याएको बजेट महिलासम्म नपुग्दा वर्षौंदेखि महिलाको अवस्थामा सुधार हुन सकेको छैन । वर्षेनि महिला हिंसा बढेको तथ्यांक सार्वजनिक हुनुले पनि यसै तथ्यलाई पुष्टि गर्दछ । त्यसकारण महिला सचेतनाका लागि निजी क्षेत्र वा सरकारबाट गरिने अभियान वा कार्यक्रम प्रभावकारी छ कि छैन, लक्षित वर्गले लाभ पाएको छ कि छैन भन्ने जस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ । – [email protected] जनधारणा साप्ताहिक