राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको छः बिजुक्छे

219

भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको जनाएका छन् ।

शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै बिजुक्छेले राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको जनाएका हुन् ।

‘जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो’, बिजुक्छेले भने । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज अनुसन्धान केन्द्रका रुपमा विकास गरी कलेजलाई् विश्वविद्यालयका रुपमा अगाडि बढाउन प्राध्यापकलाई उत्साहित गर्दै आइरहेको जनाए ।

भक्तपुर नगरवासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इञ्जिनीयरिङ कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय इञ्जिनीयरिङ शिक्षा प्रदान गरिरहेको उनले जनाए ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवापुस्तालाई देश र विश्वको मानचित्र बुझ्ने ढङ्गले शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको औँल्याए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इञ्जिनीयरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल, इञ्जिनीयरिङ अध्ययन संस्थान, परीक्षा सहायक डिन प्राडा ज्ञानबहादुर थापा, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाललगायतले स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इञ्जिनीयरिङ कलेजले सस्तोमा इञ्जिनीयरिङ शिक्षा प्रदान गर्दै आएको जनाए । वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेशनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयको सम्मेलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here