काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेपछि नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
१३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् । उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरे।
भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले खेलभरी गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन।
भारतीय खेलाडीबाला देवीले ५५ औं मिनेटमा अर्को गोल गर्दै गोल अन्तर बढाएकी थिइन्। १८ औं मिनेटमा पनि उनैले गोल गरेकी थिइन्।
स्वर्ण पदकको प्रमुख दाबी गरेको नेपाल रजतमै सीमित रह्यो ।