नेपाली सेनालाई देशको सिमा रक्षामा खटाउन माग गर्दै पुर्वी पृतनामा एक युवाको प्रर्दशन

284

धरान / नेपाली सेनालाई ब्यारेकमा मात्र सिमित गरिएको भन्दै धरानका एक युवाले इटहरीस्थित पुर्वी पृतना मुख्यालयमा केही बेर प्ले कार्डसहित प्रर्दशन गरेका छन् ।

भारतले नेपाली भुमि निरन्तर अतिक्रमण गरेको बिषय चर्किरहेको बेला धरान १८ निवासी हर्क साम्पाङले पुर्वी पृतनाअघि केहीबेर प्ले कार्ड प्रर्दशन गरेका हुन् । उनले सिमा तथा नेपाली भुमि अतिक्रमणबारे जानकार भएर पनि नेपाल सरकारले ठोस कदम नचालेको भन्दै सेनालाई सिमा रक्षाको लागि परिचालन गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । उनी बिहिबार एक्लै पुर्वी पृतनाको प्रवेश द्धारमा प्ले कार्डसहित पुगेका थिए । नेपाली सेना अत्यन्तै संवेदनशील संस्था भएकोले उनी धर्नामा भने बसेनन् । करिब २० मिनेटजति प्लेड कार्डसहित सेनाको गेटअघि रहेका उनले पृतनापतिलाई सम्बोधन गरेको एक पत्र बुझाएर फर्किएका थिए ।

साम्पाङले मुलगेटको सुरक्षा पोष्टका हवल्दार पञ्चधन लिम्बुलाई पत्र बुझाएका थिए । उनले बुझाएको पत्रमा सिमा रक्षामा सरकारले खासै चासो नदेखाएको र कदम पनि नचालेको आरोप लगाइएको छ । साथै, सेना आफै सचेत र सक्रिय भएर देशको सिमा रक्षामा अग्रसर हुन पनि उनले माग गरेका छन् । ‘सेनालाई ब्यारेकमा मात्र राख्न हुदैन, सिमा क्षेत्रमा नेपाली भुमि रक्षाको लागि बस्नुपर्छ भन्ने मेरो माग हो,’उनले कपुरीन्युजसँग भने,‘यो कुरामा राजनीतिक दलहरुले, सांसदहरुले र सरकारले पनि चासो दिनुपर्छ, सदनमा कुरा उठ्नुपर्छ ।’ साम्पाङ गएको उपनिर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार पनि उठेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here