टेलिकमले नम्बर पत्ता लगाउने नयाँ व्यवस्था ल्यायो

536

काठमाडौं /  नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब कम्पनीको वेबसाइटबाट पनि आवश्यक नम्बर हेर्न सकिनेछ । नेपाल टेलिकमको वेब पेजमार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइटमा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम इन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्‍न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्‍नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमले प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here