‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’को समापन

201

काठमाडाैं / अखिल नेपाल फुटबल संघको सहकार्य र नेपाली सेनाको आयोजनामा सञ्‍चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’ को आज  पौष ९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा एक विशेष समारोहका बीच समापन गर्नुभएको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी क्लब र ए.पि.एफ. क्लब बीच भएको फाइनल खेलमा ए.पि.एफ. क्लबले त्रिभुवन आर्मी क्लबलाई 0 को विरुद्ध २ गोल गरी विजयी भएको छ । प्रथम भएको ए.पि.एफ. क्लबका खेलाडीहरुलाई प्रधानसेनापति महारथी थापाले मेडल, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार रु. ३,००,००० (तीन लाख) प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दिपा राईलाई यमाहा कम्पनिले सहयोग स्वरुप उपलब्ध गराएको स्कुटर प्रदान गर्नुभएको थियो । यस्तै खेलमा द्वितिय भएको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले मेडल, प्रमाणपत्र र नगद रु. १,५०,००० (एक लाख पचास हजार) पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र भुटानका टिमलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले नगद रु. ५०,०००/५०,००० पुरस्कार वितरण गर्नु भएको थियो । यसैगरी प्रतियोगितामा उत्कृष्ट मिड फिल्डर, फरवार्ड र टिम कोचलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले तथा उत्कृष्ट गोलरक्षक र डिफेन्डरलाई बलाधिकृत रथी शरद कुमार गिरीले पुरस्कार वितरण गर्नुभएको थियो । सोही क्रममा प्रतियोगिता सञ्‍चालन गर्ने रेफ्रि तथा अफिसियल्सहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले पुरस्कार प्रदान गर्नुभएको थियो भने सैनिक श्रीमती संघको तर्फबाट उपाध्यक्ष रिता गिरीले नेपाली सेनाको उदीयमान खेलाडी हुन सफल विमला वि.क.लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

 २०७० सालबाट शुरु भएको यस प्रतियोगितामा विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ए.पी.एफ. क्लब) टिम-३ (तीन) लगायत प्रदेश (नं. १, २ र ५) को टिम-३ (तीन) र मित्रराष्ट्र (भारतको सिक्किम र भुटान) का टिम-२ (दुई) गरी जम्मा ८ (आठ) टिमको सहभागिता रहेको थियो । गत मंसिर २९ गतेदेखि सञ्‍चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’को समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, विभिन्‍न मिडियाका सञ्‍चारकर्मीलगायत खेलप्रेमी दर्शकहरु समेतको उल्लेख्य उपस्थिती रहेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here