नौ महिनामा पाँचपटक टाउकोको शल्यक्रियापछि बालकको यस्तो हालत

175

काठमाडौं / गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए । यही कारण २३ वैशाखमा उनको मृत्यु भयो । बालिकाको उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा. ज्योतिन्द्र शर्माको युनिटमा डा. रवीन्द्रभक्त तिमिला र डा.नवीनचन्द्र गौतम संलग्न थिए । उपचारमा संलग्न तीनैजना चिकित्सकसहित कर्मचारीविरुद्ध उजुरी दिए । नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि अस्पताल र चिकित्सकलाई दोषी देखायो, तर कारबाही भने भएको छैन ।

-गत जेठ अन्तिम साता ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको निधन भयो । शल्यक्रियाका क्रममा पेटको आन्द्रा काटिएको, तर त्यसै छाडिदिँदा संक्रमण फैलिएर उनको मृत्यु भयो । डा.रविन कोइराला नेतृत्वमा उनको शल्यक्रिया भएको थियो । नेपाल मेडिकल काउन्सिलमा मृतकका आफन्तले उजुरी दिए, तर ती चिकित्सकमाथि कुनै कारबाही भएन ।

-११ फागुन ०७४ मा नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत दुई चिकित्सकले चितवनकी ३८ वर्षीया विन्दु पौडेलको देब्रे खुट्टाको अपरेसन गर्नुपर्नेमा दाहिने खुट्टाको अपरेसन गरिदिए । अस्पतालमा कार्यरत डा। प्रवीण नेपाल र डा। शैलेज रञ्जितकार शल्यक्रियामा सहभागी थिए । उपचारमा लापरबाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई एक महिना निलम्बन गर्‍यो

१८ महिने रिहान न्यौपाने

माथिका यी प्रतिनिधि घटना मात्रै हुन् । चिकित्सकको यस्तै लापरबाहिको कारण यतिखेर निकै पीडा भोगेका छन् काठमाडौं लैनचौर निवासी सञ्जीव न्यौपानेको परिवारले । चिकित्सकीय लापरबाहीका कारण न्यौपानेका १८ महिने छोरा रिहान न्यौपानेको जीवन जोखिममा परेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको गलत उपचारका कारण उनको यो अवस्था भएको हो ।  सामान्य अवस्थामा जन्मिएको शिशुमा अस्पतालजन्य संक्रमण फैलियो ।

संक्रमण बढ्दै गएपछि शिशुमा मेनिनजाइटिस भयो । संक्रमणकै कारण मस्तिष्कको एक भाग विकास भएन । शिशु सामान्य रहेको भन्दै नौ महिनामा पाँचपटक न्युरो सर्जन डा. अमित थापाले शल्यक्रिया गरे । डा. दीपिका ढकालले शिशुलाई आवश्यकभन्दा बढी प्यारासिटामोल खुवाउन सिफारिस गरिन् । शिशु क्रमशः शारीरिक अपांगता मात्रै भएन मृत्युसँग लडिरहेका छन् । उपचारमा लापरबाही भएको उजुरीका आधारमा काउन्सिलले अनुसन्धान गर्‍यो, तर अस्पताल र सम्बन्धित चिकित्सकलाई सचेत मात्रै गराएर छाड्यो ।

अस्पतालले गरेको लापरबाहीका बारेमा नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि कमजोरी भएको पुष्टि गरेको छ । तर, उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीबारे प्रष्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन् । काउन्सिलले अनुसन्धान प्रतिवेदन भने सार्वजनिक गरेको छैन । सामान्य अवस्थामा जन्मिएका रिहानको संक्रमण फैलिएर मेनिनजाइटिस भएको काउन्सिलका एक पदाधिकारीले बताए ।

काउन्सिलको प्रतिवेदनमा प्यारासिटामोल ओभरडोज खान सिफारिससमेत गरेको उल्लेख छ । मस्तिष्क विकास नभएको शिशुलाई नौ महिनाको बीचमा अस्पतालका न्युरो सर्जन डा. अमित थापाले पाँचपटक शल्यक्रिया गरेका थिए । रिहानका बुबा सञ्जीवले गलत उपचारले शिशुको ब्रेन विकास नभएकाको अवस्थामा समेत चिकित्सकले सुधार हुँदै छ भन्दै ढाँटेको आरोप लगाए । उपचारमा भएको लापरबाहीका कारण रिहानको टाउकोसमेत ‘भी’ आकारको बनेको छ ।

आवश्यकताभन्दा बढी  औषधि सिफारिस

नेपाल मेडिकल काउन्सिलले गरेको अनुसन्धानले समेत डा। ढकालले ओभरडोज प्यारासिटामोल खुवाउन सिफारिस गरेको पुष्टि गरेको छ । ओभरडोज औषधि खान सिफारिस गर्ने डा. ढकाललाई अस्पतालले जागिरबाट हटाएको छ । काउन्सिलले पनि उनलाई एक साताका लागि एमबिबिएस (जुनियर चिकित्सक)को अन्डरमा बसेर काम गर्नु भन्दै कारबाही गरेको छ । तर, शिशुको शल्यक्रियामा प्रत्यक्ष संलग्न डा. थापालाई भने आइन्दा यस्तो नगर्न सचेत मात्रै गराएको छ । गल्ती हुँदैमा धमाधम चिकित्सकलाई कारबाही गर्ने हो भने उपचार गर्ने चिकित्सक नै नरहने काउन्सिलको तर्क छ ।

थप उपचारका लागि भर्ना लिन मानेनन्

 सञ्जीव न्यौपाने पीडितका बाबु

रिहानको उपचारमा निकै कठिन भइरहेको छ । चाँडो मुक्ति पाओस् भनेर प्रार्थना गर्नुबाहेक हामीसँग विकल्प छैन । अन्य निजी अस्पतालले पनि भर्ना लिन मान्दैनन् । उनीहरूले कान्ति बाल अस्पताल, शिक्षण अस्पताल लैजान सुझाब दिएका छन् । ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले गल्ती स्वीकार्दै अमेरिका, अस्ट्रेलिया जहाँ लगेर भए पनि बच्चाको उपचारको जिम्मा लिन्छु भनेका थिए ।

प्यारासिटामोलको ओभरडोज सकिएपछि नमुना परीक्षण गरियो । लिभरमा कुनै समस्या देखिएन, त्यसवेला डा.पाण्डेले हाम्रो कुनै गल्ती छैन भनेर बाहिरिए । सामान्य अवस्थामा जन्मिएको शिशुको संक्रमणका कारण दिमाग विकास भएन । नयाँ पत्रिकामा खबर छ । जे नहुनु थियो सबै भयो । अब बच्चा राम्रो हुँदैन । मैले ठूलो माग राखेको होइन, बच्चालाई सारोगारो हुँदा अस्पतालले स्वास्थ्य उपचार गर्दियोस् भन्ने मात्रै हो । अहिले उपचार गर्ने ठाउँ कहीँ पाइनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here