मानव वेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७  पक्राउ

197

काठमाडौं / पुस काठमाडौंमा मोडलिङ गर्ने भन्दै एक युवतीलाई ललाईफकाई विराटनगर पुर्‍याई तान्त्रिक पुजा गराउने वहानामा मानव वेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती हुप्सेकोट-१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका-१४ बस्ने ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका-१० बस्ने २४ वर्षीया दिल कुमारी वुढामगर, सप्तरी सप्तकोशी नगरपालिका-११ बस्ने ३५ वर्षीय उमेश माझी, मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ५१ वर्षीय दिलिप पोदार, धादिङ
खनियाँवास गाउँपालिका-२ घर भई हाल काठमाडौं सितापाईला बस्ने २३ वर्षीया प्रेममाया तामाङ र सुनसरी गढी गाउँपालिका-१ मधेली बस्ने ३७ वर्षीय रंजित कुमार चौधरी रहेका छन् ।

उनीहरुबाट प्रहरीले नगद १ लाख ९ हजार ५ सय रुपैयाँ, मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक,
कालो रङ्गको धागो, गेरु रंगको कपडा कालो धागोले वाँधेको चाँदीको जन्तर २ थान, कृष्ण तामाङ्गको एटिएम कार्ड ७ थान र तान्त्रिक पूजाका सामाग्रीहरु बरामद गरेको छ ।

पीडित युवतीलाई मोडलिङ्गको लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगबनी बोर्डर हुँदै पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फुलचोक वुढिगंगा-१ बाट घटनामा संलग्न व्यक्तिहरुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरी पीडित युवती समेतलाई उद्दार गरी काठमाडौं ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै पक्राउ व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न मध्येका उमेश माझी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण तथा शरिर बन्धक र हातहतियार मुद्दामा जिल्ला अदालतवाट धरौटीमा छुटेको खुल्न आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here