समयमै उखुको भुक्तानी नपाएपछि उखु किसानद्वारा काठमाडौंमा प्रदर्शन

23

काठमाडौं / चिनी मिलहरुले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी नगरेका भन्दै आज उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका उनीहरु अहिले राजधानी आई सरकारको ध्यानाकर्षण गराएका हुुन् । रामनगर गाउँपालिकाका मायाशङ्कर यादवले मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए । उनका अनुसार करिव पाँच हजार किसानले चिनी मिलबाट करिवरु ८१ करोड लिन बाँकी रहेको छ ।

अन्नपूर्ण चिनी मिलले रु ६० करोड र महालक्ष्मी मिलले २१ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उखुको रकम नपाउँदा जीविकोपार्जनमा समस्या भएको उल्लेख गर्दै मिलबाट २५ लाख पाउनुपर्ने यादवले बताए ।

भुक्तानी नपाएपछि किसानले सो मिलमा तालासमेत लगाएका छन् । उखु किसान सुखलाल सहनीले पटक पटक स्थानीय तहमा सहमति गरे पनि आफूहरुले उखुको भुक्तानी नपाएपछि यहाँ आएर आन्दोलन गर्नुपरेको दुःखेसो व्यक्त गरे । केन्द्र सरकारलाई किसानका समस्याबारे जानकारी गराउन आन्दोलनमा उत्रिएको उनले प्रष्ट्याए ।

सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम समेत भुक्तानी गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here