जनताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण गरिएको हो : रक्षामन्त्री पोखरेल

74

पोखरा /  उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको जनाउनुभएको छ ।

नेकपा कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको जनाउनुभएको हो ।

बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको जनाउँदै उहाँले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको बताउनुभयो । सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने उहाँको भनाइ छ ।

सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको  जनाउँदै उहाँले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरु भइसकेको  जनाउनुभयो ।

आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदको उम्मेदवारीका लागि पार्टीले आवश्यकता, औचित्य एवं योगदानका आधारमा तय गरेको जानकारी गराउनुभयो । सरकारको बाँकी कार्यविधि जनताले अनुभूति गर्ने किसिमले काम गर्ने जनाउँदै उहाँले संविधान कार्यान्वयन पनि सोही गतिमा अघि बढेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here