प्रधानमन्त्री मोदीको फासिवादका विरुद्ध करोडौं भारतीय मजदुरहरु आन्दोलित

23

एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भाजपाको फासिवादी शासनका विरुद्ध करोडौ भारतीय मजदुरहरु सडकमा निस्किए । भारतीय मजदुरहरूले बुधबार मोदीको फासिवादका विरुद्ध ऐतिहासिक आमहड्ताल गरे । विभिन्न मजदुर सङ्गठनको आयोजनामा भएको हड्तालमा पच्चीस करोड मजदुरहरूले भाग लिएको बताइएको छ । विभिन्न सङ्गठित तथा असङ्गठित क्षेत्रका औद्योगिक, वित्तीय र अन्य सेवा क्षेत्रका मजदुरहरू हडतालमा सहभागी भई भारतका प्रमुख सहरमा प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले अधिकांश सहरमा मजदुर प्रदर्शनमाथि पक्राउ र दमन गरेको थियो । मजदुर हड्तालमा किसान, विद्यार्थी, युवा, सामाजिक अभियन्ता, बुद्धिजीवी, प्राध्यापक, शिक्षक आदि जनसमुदायको ठूलो उपस्थिति थियो । मजदुरहरूले रेल सेवा, यातायात सेवा, कार्यालय, उद्योग कलकारखाना आदि बन्द गराएका थिए ।

भारतको अर्थतन्त्रमा आएको ¥हाससँगै कठिन बनेको भारतीय जनताको जीवनलाई मजदुरहरूले हडतालको प्रमुख मुद्दा बनाएका थिए । अर्थतन्त्रमा आएको सुस्ततासँगै भारतमा बेरोजगारीको सङ्ख्या निकै बढेको छ । भारतमा हाल ७ करोड ३० लाख मानिस बेरोजगार छन् । उनीहरूमध्ये अधिकांश युवाहरू छन् । भारतले आजसम्मको इतिहासमा देखेको यो नै सबभन्दा ठूलो बेरोजगारको समूह हो । संसारकै सबभन्दा ठूलो बेरोजगारीको सङ्ख्या यतिबेला भारतमा छ । भारतको अर्थतन्त्रको मासिक विश्लेषण गर्ने एक संस्था ‘सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी’ले सन् २०१९ को डिसेम्बरमा बेरोजगारी दर ७।७ प्रतिशतले बढेको जनाएको छ ।

सहरी क्षेत्रमा बेरोजगारी अझ बढेको छ । सहरी क्षेत्रहरू रोजगारीका केन्द्र हुन् भन्ने आमबुझाईलाई लत्याउँदै भारतमा हालको सहरी बेरोजगारी ८।९ प्रतिशत पुगेको छ । भारतीय मजदुरहरूले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अदूरदर्शी नीतिको कारण नै बेरोजगारी समस्याले विकराल रूप लिएको बताएका छन् । नरेन्द्र मोदी सत्तामा आएयता भारतीय मजदुरहरूले यसप्रकारको बृहत् हडताल गरेको यो चौथो पटक हो ।

मजदुरहरूले सार्वजनिक क्षेत्रमा सरकारले गर्दै आएको लगानी कटौतीको पनि विरोध गरेका छन् । सरकारी लगानी कटौती गर्दा निजी क्षेत्रको प्रबद्र्धन भई रोजगारी सिर्जना हुने भनिए पनि भारतमा त्यस्तो नभएको मजदुरहरूले बताएका छन् । बरू जनताको करबाट जम्मा भएको सरकारी कोष अनुदान र छुटको नाममा उद्योगपति र पुँजीपतिले कुम्ल्याएको र मजदुरहरूको हात फेरि पनि रित्तो भएको भन्दै मजदुरहरूले सरकारप्रति आक्रोश पोखे ।

मजदुरहरूले हड्तालमा विभिन्न श्रम कानुनमा सरकारले गर्न लागेको संशोधनको पनि विरोध गरे । मोदी सरकारले अघि सारेको संशोधन प्रस्तावले मजदुरको रोजगारी र अन्य सुविधा थप अनिश्चित गर्ने छ । संशोधित कानुनले मजदुरमाथि काम गर्ने समय थप्ने छ, कार्यभार बढाउने छ, रोजगारी जोगाउन मालिकमाथि थप निर्भर बनाउनुका साथै मजदुरको सङ्गठित बन्ने अधिकारलाई कुण्ठित बनाउने छ ।

मजदुरविरोधी सो कानुनले कानुन उल्लङ्घनको नाममा मजदुरमाथि थप जरिवाना गर्ने, मजदुरबाट कानुन उल्लङ्घनको अवस्था बनाउने र फलतः शोषणको दायरा अझ फराकिलो बनाउने मजदुरहरूको धारणा छ ।

मजदुरहरूले भारतका श्रमिक जनताबीच विभाजन ल्याउने हालै संसद्बाट पारित नागरिकता संशोधन ऐन (सीएए) र प्रस्तावित राष्ट्रिय नागरिकता पञ्जीकरणको पनि विरोध गरेका छन् । उनीहरूले ती व्यवस्थाले मजदुरहरूबीच विभाजन ल्याउने र विभाजित मजदुरहरूलाई शोषण गर्न थप सहज बनाउन भन्दै विरोध जनाए । यसले भारतीय जनता पार्टीको माउ सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्गठन (आरएसएस) को धर्मको आधारमा समाजमा विभाजन ल्याउने नीतिलाई सफल बनाउने मात्र होइन, बरू भारतीय संविधानको मूलभावनाको समेत उल्लङ्घन गर्ने मजदुरहरूको धारणा थियो ।

मजदुरहरूले भारतका विभिन्न विश्वविद्यालय र सहरमा सत्तारूढ दलसम्बद्ध सङ्गठनहरूले विद्यार्थी, प्राध्यापक, अल्पसङ्ख्यक र मुसलमानहरूमाथिको हिंसात्मक दमनको पनि विरोध गरेका थिए । हड्तालप्रति ऐक्यबद्धता व्यक्त गर्ने भारतका विभिन्न प्रमुख विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । गत आइतबार राति विद्यार्थी र प्राध्यापकमाथि सत्तारूढ दलसम्बद्ध सङ्गठनले निर्मम कुटपिट र भाँचकुच गरेको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीले बुधबारको प्रदर्शनमार्फत मजदुर हड्तालप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।

आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का प्राध्यापक र विद्यार्थीमाथि भएको निर्मम हमलाको सर्वत्र निन्दा भइरहेको छ । आइतबार साँझ जेएनयूको प्राध्यापक सङ्गठनले आयोजना गरेको कार्यक्रममा मुखमा रुमाल बाँधेका केही हतियारधारीले अचानक गरेको भौतिक हमलामा परी दर्जनौँ प्राध्यापक र विद्यार्थीहरू गम्भीर घाइते भएका थिए । हमलाकारीहरू भारतको सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् ९एभीबीपी० सम्बद्ध विद्यार्थीहरू भएको विभिन्न प्रमाण सार्वजनिक भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here