राष्ट्रवादको अन्तिम परिणति ‘जल्लादी जातिवादमा’ पतन हुनु हो

23

– चन्द्रप्रकाश बानियाँ

जर्मन राष्ट्रवाद हिटलरको नाजिवादी हिंसामा मात्र टुङ्गिएन । त्यसले दोश्रो विश्वयुद्ध निम्तायो । जर्मनीको पतन गरायो र स्वयम नाजिवादका नायक हिटलरको आत्महत्याको कारण बन्यो । ट्रम्पसँगै उदाएको अमेरिकी राष्ट्रवादले अमेरिकी समाजमा जातीय विद्वेषको वीष विस्तारै विस्तारै फैलाउन थालेको छ । मोदीको हिन्दू राष्ट्रवादको गन्तव्य आखिर कुन हो त भन्ने कुरा पछिल्ला घटनाक्रमहरूबाट स्पष्ट हुँदै जानथालेको छ । अस्तित्वका लागि सबै अल्पसंख्यक, आदिवासी र जनजातिहरू गोलवन्द हुनुपर्ने र उच्च जातीय राष्ट्रवाद अर्थात हिन्दू राष्ट्रवाद विरुद्ध निर्णायक संघर्षमा उत्रनुपर्ने खण्ड उपस्थित हुन थालेको छ । आम जनताको भावनालाई नक्कली संकथनबाट बसिभूत गरेर वर्गीय स्वार्थसिद्धिको लागि प्रयोग गरिने हतियार हो ‘राष्ट्रवाद’ । राष्ट्रवादको नाममा जनतालई कसरी उल्लु बनाइन्छ र जातिवादी राष्ट्रवादको हतियार बनाइन्छ भन्ने कुराको गतिलो उदाहरण गतबर्ष सम्पन्न भएको भारतको आम निर्वाचन र निर्वाचन जित्नका लागि अपनाइएको घिनलाग्दो प्रपञ्चको विद्रुप कथा नयाँ बर्षको पहिलो दिन एउटा संस्थाले सार्वजनिक गरिदिएको छ ।

अरबपति मुकेश अम्वानी र भारतीय प्रधानमन्त्री नरेन्द्र भाइ मोदीबिच नङ्मासुको सम्बन्ध छ भनिन्छ । उनै अम्वानीको लगानीमा सञ्चालित अनुसन्धान संंस्था छ ः ‘ओ आर एफ’ जसलाई भारतको एकमात्र विश्वसनीय थिङ्कट्याङ्क भनेर पनि चिनिन्छ । त्यही सबभन्दा विश्वसनीय र नरेन्द्र मोदीका विश्वासपात्र मित्रको लगानीमा सञ्चालित संस्थाले बर्ष २०२० को पहिलो दिन एउटा आश्चर्यजनक अनुसन्धान रिपोर्ट प्रकाशित गरिदिएको छ । सिमा सिरोही नामकी महिला पत्रकारले ‘क्यान इन्डिया रिगेन’ भन्ने लेखमा कथित सर्जिकल स्ट्राइकको पर्दाफास गरिदिएकी छन् ।

पाकिस्तान समर्थित मुस्लिम आतङ्कवादीहरूले कास्मिरको ओलवामामा हमला गरेर भारतीय सिमा सुरक्षाबलका

४९ जना जवानहरूको ज्यान लिइदियोे भनेर त्यसको बदलास्वरूप भारतले पाकिस्तानी सिमाभित्र छिरेर आतङ्कवादीहरूको गुप्त ठेगानामा घनघोर हमला ग¥यो र तीनसय जनाको एउटै चिहान बनाएको हल्ला निर्वाचनको मुखैमा सार्वजनिक गरियो । फर्र्जी भिडियो पनि सार्वजनिक गरियो । मिथ्याप्रचारमा मिडियाहरूको दुरूपयोग गरियो । पाकिस्तानको एफ–१६ नामको अत्याधुनिक अमेरिकी हवाइजहाज खसालेको हल्ला फैलाइयो । त्यसलाई मोदीको राष्ट्रवादी पुरुषार्थको रूपमा प्रचार गरियो । सर्जिकल स्ट्राइकको प्रमाण माग्नेहरूलाई अराष्ट्रियतत्व भनियो । त्यही कारणले विपक्षी नेता राहुल गान्धीलाई देशैभर अपमानित गरियो ।

सिरोहीको लेखले अलवामा हमलामा साँचै मुस्लिम विद्रोहीहरूको हात थियो कि अथवा त्यो पनि राज्य प्रायोजित घटना थियो भन्ने कुराको खुलासा नगरे पनि ओलवामा काण्डको प्रतिशोधमा पाकिस्तानको सिमाभित्र छिरेर बालाकोटको जङ्गलमा भारतीय सैनिक टुकडीले बमबाडी गरेकै थिएन, स्ट्राइक गरिएकै भए पनि त्यहाँँ आतंकवादीको ठेगाना थिएन, हमलामा एकजना मानिस पनि मरेको थिएन र  त्यो नितान्त झुटो हल्ला मात्र थियो भन्छ । सर्जिकल स्टा«इकको नाममा तीनसय भन्दा बढी मुस्लिम आतंककारी मारिएको कुरा झुटो थियो । पाकिस्तानको एफ– १६ विमान खसालेको कुरा पनि फर्जि थियो । भारतीय सेनाको बमबाडीबाट ध्वस्त भएको आतंकवादी अखाडामा ३०० भन्दा बढी मोबाइलहरू फेला परेको कुरा पनि झुटो थियो । बरु भारतको लडाकु विमान पाकिस्ताले खसालेको कुरा सत्य थियो । अर्को एउटा सैनिक हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको थियो । ६ जना भारतीय सैनिकहरू हताहत भएको कुरा सत्य थियो । पाकिस्तानले जहाज खसालेर एकजना पाइलटलाई बन्दी बनाएको र पछि सदासयतापूर्वक छाडिदिएको कुरा पनि सत्य थियो ।

भारत सरकार र भारतीय मिडियाहरूले जे जे हल्ला गरे त्यो फगत हल्ला मात्र थियो । भाजपाको चुनावी प्रोपोगण्डा थियो । चुनाव जित्नका लागि तयार गरिएको नक्कली एजेण्डा थियो । वास्तविकता भने त्यसको ठिक उल्टो थियो । त्यो घटनाको जानकार अमेरिका थियो, चीन थियो र पाकिस्तान त हुने नै भो । पाकिस्तानको कुरा कसैले सुनेन । सुने पनि पत्याएन । पत्याउने कुरै भएन । चीन र अमेरिकाले पनि भारत, खासगरेर मोदीको लाज बचोस् भनेर सत्य कुरा बाहिर ल्याइदिएनन् भनेर पनि सिरोहीले खुलासा गरिदिएकी छिन । भारतीय उद्योगपतिहरूको दवदवा रहेको र डेमोक्रेट्स समर्थक भनेर चिनिने टेक्सास राज्यमा भव्य सभाको आयोजना गरेर ट्रम्पका लागि मोदीले मत मागिदिनुको कारण ट्रम्प प्रशासनको त्यही गुन तिर्न पो रहेछ भनेर यतिखेर बल्ल अनुमान गर्न सकिने भएको छ । चुनावको लागि के कस्ता प्रपञ्चहरू रचिन्छन् र त्यो मामलामा राष्ट्रवादको नक्कली र कुरूप अनुहार नक्कली प्रोपोगण्डाले कसरी छोपिँदो रहेछ भन्ने कुरा सिमा सिरोहीको लेखले सार्वजनिक गरिदिएको छ ।

एकछिन नेपालतिर फर्कौं । जबर्जस्तीको बलमिचाइबाट नेपालको संविधान जारी भएको हो । संविधान पारित गर्दा प्रस्तावित विधिव्यवस्था उल्लङ्घन गरेर फाष्ट ट्रयाकको बाटो अलवम्वन गरियो । असन्तुष्ट जनजातिका आवाजहरू दवाइयो । मधेसमा पाँच दर्जनभन्दा बढी मानिस मारियो । नेपालका बुद्धिजीवी, पत्रकार, मिडियाहाउसहरू सबैले एकै स्वरमा “राष्ट्रवादको” नारा घन्काए । अल्पसंख्यक जनजातिका मागहरूलाई विखण्डनकारीको विल्ला भिराउने र मधेसी जनताका आकांक्षालाई अराष्ट्रिय सावित गर्ने चेष्टामा पहाडे राष्ट्रवादको गन्ध स्पष्ट थियो । जनजाति, पिछडिएका वर्ग सममुदाय र पीडित मधेसी समुदाय विरुद्ध ओलीका मुखारविन्दबाट झर्ने तुच्छ र निकृष्ट गाली, अपहेलना, घृणा र उपहासलाई राष्ट्रवादी महावाणीको रूपमा प्रचार गरियो । प्रशंसा गरियो । गुणगान गरियोे । भजन गाइयो । त्यो प्रपञ्च नश्लवादी वर्चस्व कायम गर्ने चेष्टा थियो ।

त्यही बेला भारतले नाकावन्दी लगायो । नाकावन्दी आंशिक थियो । अर्थात सरकारी मान्छेहरूलाई आवश्यक पर्ने वन्दोवस्तीका सामान, खाद्यान्न र तेल अड्कलेर पठाइयो । जनतालाई भने अभावमा पिल्साइयो । जनतालाई मात्र पिर्ने तर सरकारी मान्छेहरूलाई अभाव हुननदिने नाकावन्दीमा पनि ओलवामा काण्डजस्तै प्रपञ्च पो थियो कि ? शंका गर्ने ठाउँ प्रशस्त छ । तर त्यो काण्डले ओलीको राष्ट्रवादी चरीत्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । राष्ट्रवादको नाममा जलाइएको चिताको आगोमा सत्तारोहणको रोटी सेक्न ओली सफल भए । कम्युनिष्टहरू त उनका समर्थक भैहाले, गैरकम्युनिष्ट विद्वान, बुद्धिजीवी र पत्रकारहरूले पनि ओलीको चरीत्र निर्माणमा ज्युज्यान फालेर सधाए । कैयौंले त्यसवापत सत्ताद्वारा फ्याँकिएका जुठा टपरीहरू हात पारे । कोही भने  ‘हिस्स बुढी, खिस्स दाँत’ भनेजस्तो अवस्थामा पुगे । हो, तिनै हिस्सिएका, खिस्रिक्किएका, चौटा खाने लोभ गर्दा झोलमा डुब्ने अवसरबाट समेत वञ्चित भएका बुद्धिजीवि र पत्रकारहरूले फेरि ओली र उनको सत्ताको विरोध गरिटोपल्न थालेका छन् । यतिखेर एमसीसीका नाममा आकाश उचाल्नेहरू तिनै हुन् । विचराहरूले उबेला बौलाएको कुकुरलाई माया गर्दा उसले प्रेमपूर्वक चाट्यो भने पनि रेविज संक्रमणको खतरा हुन्छ भन्ने समान्य ज्ञान राखेनन्, यतिखेर डाडुमा पानी तताएर डुबिमर्ने भनेजस्तोगरी पछुताएका छन् भन्नु बढ्ता नहोला ।

भौगोलिक र जैविक मात्रै होइन जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुक हो ‘नेपाल’ । विविधतालाई समान न्याय हुनेगरी विधिव्यवस्था मिलाउन सकिएन भने मुलुकमा न शान्ति कायम हुन्छ, न मुलुकले उन्नति प्रगतिको बाटो समात्छ । नेपाल नामको राज्य निर्माणमा सबै जाति समुदायको सानूठूलो योगदान छ । तर निर्माणकालदेखि नै सत्तामा वर्चस्वशाली रहँदै आएको जातिमा राज्य आफ्ना पुर्खाले आर्जन गरेको हो भन्ने दम्भ र भ्रम छ । अझ अचम्मको कुरा त के छ भने जसका पुर्खाले कहिल्यै हतियार उठाएनन्, राज्य निर्माणमा आनासुको योगदान पु¥याएनन् तिनले पनि यो मुुलुकलाई आफ्नो पुर्खाको आर्जन भन्न लाज मान्दैनन् । ती चौपट्ट चतुर र चलाक छन् । त्यसैले त डा.बाबुराम भट्टराईहरू समेतले पृथ्वीनारायण शाहको दुन्दुभी बजाउन अघि सर्छन् । त्यसो नगर्दा हिजो नेपाल निर्माणको सन्दर्भमा रगत बगाउनेहरूा सन्ताहरू आफूबाट कट्छन र एक्लो परिन्छ भन्ने डर छ । नक्कली कुरा गर्नुको कारण त्यही हो ।

देश भनेको माटो होइन । जनता विनाको भूमि देश भन्न लायक मानिदैन । जनताको उपेक्षा गर्ने, अन्याय गर्ने, सम्मान गर्न नजान्ने, अधिकार दिन नरुचाउने तत्वहरू साँचो अर्थमा राष्ट्रवादी हुनै सक्तैनन । एक जाति, एक भाषा निर्माणको महेन्द्रीय राष्ट्रवादको नाजायज सन्तान हो ‘ओली राष्ट्रवाद’ । मानवता विहीन माटोप्रेम वास्तवमा नक्कली राष्ट्रवाद हो । त्यस्को अन्तिम गन्तव्य जल्लादी जातिवाद नै हो । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here