सत्तासीन नेकपा र राजपामा भिन्नता के रह्यो अब ?

163

– निमकान्त पाण्डे

सत्तासीन नेकपा र उसले सञ्चालन गरेको सरकारको कामकारबाहीबाट जनता असन्तुष्ट बन्दै गएका छन् । एकपछि अर्को काण्डमा फस्दै गएको सरकारको आलोचना पनि चौतर्फी रूपमा हुन थालेको छ । सरकारले न जनताको दैनिक जनजीवनमा फेरबदल हुने काम गर्न सकेको छ, न त ठूला विकास निर्माणका कामहरू सुरुआत गरेर जनतामा आशा जगाउन नै सकेको छ । उल्टै राष्ट्रिय सम्पत्ति व्यापारी वर्गलाई कौडीको भाउमा सुम्पिने, शिक्षा, स्वास्थ्य तथा बैंक र वित्त क्षेत्रमा मनपरी गर्न छुट दिने र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने अवस्थाबीच सरकार अलोकप्रिय बन्दै गइरहेको देखिएको छ ।

सत्तासीन नेकपाले आफ्नो विधानमा नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्थाका रूपमा पार्टीलाई चिनाएको छ । नेकपाले मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा एवम् संस्कृतिका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । तर, व्यवहारमा भने त्यसको ठीक उल्टो देखिन्छ । उसले सर्वहारा, निम्न वर्गको हितमा काम गर्नुको सट्टा विवादास्पद व्यापारी वर्गलाई लाभ हुने गरी काम गरिरहेको छ । आफ्ना नजिकका व्यक्तिहरूकै हित हुने गरी ‘क्रोनि क्यापिटालिज्म’ अर्थात् भाइचारा पुँजीवादलाई सत्तासीन नेकपाले प्रश्रय दिइरहेको छ । सत्ताको आडमा यती होल्डिङ्स कम्पनीलाई सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि सस्तोमा सुम्पिनु, मेडिकल मालिकहरूसँग साँठगाँठ गर्नु र भ्रष्टाचारका ठूला काण्डहरूको अनुसन्धान नै नगर्नुले यो सरकार सर्वहारा वर्गको पक्षमा छ कि छैन भन्ने स्वतः स्पष्ट हुन्छ ।

हालै मात्र सत्तासीन नेकपाको स्थायी समिति बैठकले पार्टीको सिद्धान्त वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ उन्मुख हुने किटानी गरेको छ । तर, व्यवहारमा यो पार्टी दलाल नोकरशाही पुँजीपति र साम्राज्यवादको पक्षमा रहेको देखिन्छ । अन्य कम्युनिष्ट पार्टी तथा बुद्धिजीवीहरूले पनि सरकारको आलोचना यसरी नै गर्दै आएका छन् । नामबाट कम्युनिष्ट पार्टी भनिए पनि व्यवहारले हाल सत्तासीन पार्टी कम्युनिष्ट नरहेको पुष्टि हुँदै गएको छ । कतिपय बुद्धिजीवीहरूले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणताका पनि यस्तो दावी गर्दै आएका थिए ।

सत्तासीन नेकपाको विधानमा दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु यस पार्टीको तात्कालीन कार्यभार उल्लेख गरिएको छ । यो डबल नेकपाले आफ्ना नेताहरू नेपाली क्रान्तिका निर्दृष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जनआधारित, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील, जुझारु, अग्रगामी र उच्च नैतिक आचरणयुक्त राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्न दृढ संकल्पित रहने आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । तर, व्यवहारमा भने अमेरिकाजस्तो साम्राज्यवादी शक्तिसँग हात मिलाउन सरकार उद्दत देखिन्छ । सरकार अहिले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको एमसीसी परियोजनालाई संसद्बाट पारित गराएर नेपालमा लागू गराउन खोजिरहेको छ । जसले नेपालको भविष्यमा दूरगामी असर पार्ने निश्चित छ । नेपालका बुद्धिजीवीहरूले पनि यस्तै विश्लेषण गर्दै सरकारलाई खबरदारी गर्दैआएका छन् । उच्च नैतिक आचरणयुक्त राजनीतिक भूमिका डबल नेकपाका नेताहरूले निर्वाह गर्ने विधानमा उल्लेख भएको भए पनि यसका नेताहरू भ्रष्ट र नवसामन्तका रूपमा उदाउँदै गएका छन् । उनीहरूबाट विगतमा भएका नेपाली क्रान्तिका लक्ष्य र उद्देश्यहरू हासिल हुने कदापि देखिँदैन ।

सत्तासीन नेकपाले हालै मात्र मधेसवादी दल राजपासँग दुई बुँदे सम्झौता गरेको छ । प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका लागि गरिएको यो सम्झौता राजपाको सत्ता आरोहणसम्म पुग्ने हो कि भन्ने आँकलनसमेत गरिएको छ । तर, पछिल्लो समय आफ्नो सैद्धान्तिक र वैचारिक धरातल बिर्संदै गएको सत्तासीन नेकपामा कम्युनिष्ट चरित्र देखिँदैन भने उसले राजापासँग एकता गरे पनि कुनै फरक हुने देखिँदैन । चुनावी गठबन्धनको नाममा यो डबल नेकपाले नेपाली कांग्रेससँग पनि गठबन्धन ग¥यो, राजावादी राप्रपासँग पनि गठबन्धन ग¥यो, अहिले राजपासँग यसको लगनगाँठो जोडिनु र राजपाका नेताहरू लस्कर लाग्दै दिल्लीबाट निर्देशन लिन धाइरहनुले देशको अवस्था नाजुक बन्दै गइरहेको संकेत गर्दछ । एकातिर सिके राउतजस्ता विखण्डनकारी अभियानका नायकसँग सरकारको सम्बन्ध जोडिनु अर्कातिर कम्युनिष्ट आदर्श अनुसार राजनीतिक कार्यदिशा अवलम्बन गरिरहेको विप्लव नेतृत्वको नेकपालाई जबर्जस्ती हिंसात्मक गतिविधितर्फ घचेट्न प्रयास गर्नुले सरकारको कम्युनिष्ट आवरण नितान्त नक्कली भएको पुष्टि हुन्छ । सैद्धान्तिक र वैचारिक धरातलमा रहेर काम गर्न नसक्ने डबल नेकपाले अब आफूलाई कम्युनिष्ट पार्टी भनिरहन सुहाउँदैन । दिल्लीबाट निर्देशन लिंदै नेपालमा संदिग्ध गतिविधि गरिरहेका र त्यसैलाई मधेसीको हितमा राजनीति गरेको भ्रम छर्न सफल भएका राजपाका नेताहरूलाई नाङ्गेझार पार्नुको साटो उनीहरूसँगै आश्चर्यजनक गठबन्धन गर्नुले डबल नेकपाको वैचारिक स्खलनलाई छर्लङ्ग पारेको छ । आगे डबल नेकपाका नेताहरूलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here