नेतृत्वको देवत्वकरण र पृथ्वी नारायणको प्रसङ्ग

14
– निमकान्त पाण्डे

हालै मात्र समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको देवत्वकरण गरिएको सम्बन्धमा  आफ्नो धारणा राखेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल निकै तातेको पाइयो । बाबुरामको भनाइ यस्तो छ– ‘प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन ! कसैको पनि मूल्यांकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ ! १८औं शताब्दीको चेतनामा उनले गरिब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो !’ भट्टराईको यो भनाइमा देवत्वकरण गर्नेहरूको मात्र होइन, पृथ्वीनारायण विरुद्ध दानवीकरण गर्न खोज्नेहरूविरुद्ध पनि स्पष्ट अभिव्यक्ति आएको  छ ।

नेतृत्वको देवत्वकरणको सवालमा डा.भट्टराईले भनेझैं ठ्याक्कै यही अवस्था अहिले नेपालमा देखिएको छ । नेपालमा इतिहास होस् वा वर्तमानका पात्र उनीहरूलाई देवत्वकरण र दानवीकरण गर्ने सिलसिला चल्दै आएको छ । आ–आफ्नो स्वार्थपूर्तिका लागि यस्तो चलन चल्दै आएको बुझ्न सकिन्छ । कुनै एउटा व्यक्तिविशेषलाई समातेर उसको नराम्रो पक्षलाई मात्र उजागर गरी दानवीकरण गरिने वा राम्रो मात्र भनेर देवत्वकरण गर्ने चलन नराम्रोसँग झाँगिएको छ । दानवीकरणभन्दा देवत्वकरण गर्ने समस्या झन् बढ्दै गएको पाइन्छ । यसको अर्को खतरनाक पक्ष भनेको जसले देवत्वकरण गर्ने अभियान थालेका छन्, उनैले अर्काको आलोचना सुन्नै नचाहने र आलोचना गरेमा अरिंगालझैं खनिने गरिएको छ ।

बाबुरामले युद्धकालमै पनि प्रचण्डलाई देवत्वकरण गर्ने प्रवृत्तिको जमेर विरोध गरेका थिए । सोही कारण बाबुरामले  युद्धकालको जनसैन्य शिविरमा आतंककाबीच केही दिनहरू बिताउनु परेको घटनाबाटै पनि बाबुरामबाट आएको नेतृत्वको देवत्वकरणबारेको धारणा बुझ्न सकिन्छ । पृथ्वी नारायण शाहबाट भएको नेपाल एकीकरणको विरोध बाबुरामले गरेका छैनन् । एकीकरणका सवालमा पृथ्वीनारायणको योगदानको विरोधमा बाबुरामले शब्द गरेका छैनन् । आफ्नो टिप्पणीलाई रोचक बनाउन पृथ्वी नारायणले अम्बा चोरेको घटनालाई उनले जोडेका छन् । नेपाल एकीकरण अभियानमा हिँडेको अगुवाले भोकाएर अम्बा टिपेर खानुलाई स्वयंले चोरेर अम्बा खानुपरेको दृष्टान्तलाई प्रचारमा नल्याएका भए हामीलाई पनि जानकारी हुने थिएन । त्यसैले बाबुरामको प्रस्तुतिमा आपत्ति नै जनाउनुपर्ने कुनै विषय छ जस्तो लाग्दैन ।

पञ्चायतकालमा राजाहरूको देवत्वकरण गरिन्थ्यो, राणाकालमा राणाहरूकै पनि देवत्वकरण भयो । त्यसैले नै राजा र राणाहरू निरंकुश बन्दै गए । उनीहरूका आसेपासेहरू मात्र लाभान्वित भए, जसले गर्दा जनताको अवस्था प्रभावित हुँदै आएको सत्य नै हो । देवत्वकरणकै कारणबाट निरंकुश शासकहरू इतिहासका पानामा सीमित हुन पुगेका छन् । देशले  विकासको गति लिन सकिरहेको छैन । नेतृत्वको देवत्वकरण वास्तवमै गलत हो, देशको खुम्ँिचदै गइरहेको भूगोलप्रति बेवास्ता गर्नेहरूले पृथ्वीनारायणलाई देवत्वकरण गरिरहेका छन् । घुस खानेहरू पृथ्वी नारायणको देवत्वकरण गरिरहेका छन् ! पृथ्वीनारायणका आदर्शहरूलाई पछ्याउन नसक्ने घुस्याहा डाँकाहरू नै उनको देवत्वकरण गर्ने पंक्तिमा अग्रसर देखिएका छन् । पृथ्वी नारायणले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए, तर देशको अवस्था दुई चट्टानबीचको विस्फोटक बम बन्नेतर्फ उन्मुख देखिन्छ । बाबुरामले भनेकै छन् – ‘पृथ्वी नारायणलाई सम्झिएर राम्रो काम गरौं ।’ राम्रो काम गर्नेतर्फ कसैको चेत फिरेको देखिंदैन ।

आज राष्ट्रपतिका अलोकप्रिय काम र व्यवहारहरूका आलोचना सुन्नै नचाहने प्रवृति बढेको छ । मदन भण्डारीले साइकल चढेको तस्वीर एकातिर सामाजिक सञ्जालमा व्यापक भइरहेको छ भने अर्कातिर राष्ट्रपतिलाई विलासितातर्फ उन्मुख गराउने पात्रहरू राष्ट्रपतिको प्रशंसामा रमाइरहेका छन् ।  प्रधानमन्त्री ओलीका गलत कामका नकारात्मक चर्चा गर्नै नहुने र प्रचण्डले भैंसी पूजा गर्दा होस् वा सामन्ती सोचलाई जनसाधारणमा प्रभावित तुल्याउन गरिएका जस्तासुकै व्यवहारहरूको पनि प्रशंसा नै किन नहोस् देवत्वकरणका नग्न उदाहरण हुन् ! बाबुरामका कतिपय विवादास्पद अभिव्यक्तिहरूको विरोध गर्नै पर्छ, उनलाई सचेत बनाउनैपर्छ । परन्तु नेतृत्वको देवत्वकरणले हाम्रो समाजलाई नै दास बनाइरहेको अवस्थाले बाबुरामको देवत्वकरण प्रसंगको सुझावलाई सकारात्मक रूपमा लिन सक्ने हो भने नेताहरूको स्वाभिमानको उचाइ घट्ने छैन जस्तो लाग्छ ।

विकासोन्मुख राष्ट्रहरूमा नेतृत्वको विषयमा ठूलो भ्रम देखिन्छ । कुनै पनि राजनीतिक दलको नेता होस् वा सरकारको प्रमुख नै किन नहोस्, उनीहरूलाई देवत्वकरण गरिएको हुन्छ । कार्यकर्ता पंक्तिका निम्ति नेतृत्वको देवत्वकरण गर्नु बाध्यताजस्तै बनेको छ । देश र जनताका लागि कुनै उल्लेख्य काम गर्न नसकेका र भ्रष्टाचारले डुङडुङ्ती गन्हाएका नेताहरूलाई फूलका मालाले छपक्कै शरीर ढाकिने गरी गरिएका स्वागतहरू  देवत्वकरणका नग्न उदाहरण हुन् ।  पुरानो व्यवस्थाबाट आजित भएकाहरू नयाँ राजनीतिक नेतृत्वप्रति आशावादी हुनु स्वाभाविक हो । राणा र राजाहरूको देवत्वकरणको आलोचना गरेर नागरिक बन्यौं भनेर गर्व गर्ने ठाउँ नेताहरूले राखेका छैनन् । स्वागत र सम्मानमा रमाउने नेताहरू आफूलाई वास्तवमै ‘देवता’ ठान्न थालेका छन् ।

कार्यकर्ताहरूले नेतालाई देवत्वकरण गनुपर्ने अवस्थाले हिजो राजा र राणाहरूको देवत्वकरणको आलोचना किन गरियो भनेर आफैंसँग प्रश्न गर्नुपर्ने अवस्था छ । नेतृत्वले आफ्नो समस्या समाधान गर्ने अपेक्षा कार्यकर्ताहरूबाट गरिनु स्वाभाविक हो । तर, व्यवहारमा त्यस्तो नहुँदा जनता फेरि निराश हुन्छन् । नेपालको राजनीतिको सन्दर्भमा यस्तो अवस्था पटक–पटक देखिएको छ । नेपालीले समय–समयमा फरक–फरक व्यक्तिलाई देवत्वकरण गर्दै आएका छन् । कुनै व्यक्ति अलोकप्रिय भए पनि निश्चित झुण्डले उसको देवत्वकरण गरेको पाइन्छ । यसमा कार्यकर्ताहरूको स्वार्थनिहित रहेको स्पष्ट हुन्छ । इतिहासका हुन् वा वर्तमानका पात्र, सबै देवत्वकरण गरिएका छन् । पहिलेका पृथ्वीनारायण शाह, राजा महेन्द्र हुन् वा अहिलेका केपी ओली र प्रचण्ड सबैको देवत्वकरण हुने गरेको छ ।

भारतमा चर्चामा रहेका विद्यार्थी नेता कन्हैया कुमारलाई कुनै कार्यक्रममा एक व्यक्तिले प्रश्न गरे– ‘हामी आजसम्मका व्यवस्था र नेतृत्वकर्ताबाट आजित छौं, त्यसकारण हामीलाई लाग्छ कि तपाईं मात्र त्यस्तो योग्य व्यक्ति हो, जसले यो देशको सुन्दर भविष्य कोर्न सक्छ, आजका सम्पूर्ण समस्या समाधान गर्न सक्छ । किनकि मैले तपाईंको सबै विचार सुनेको छु । ती सबै सही लाग्छन् ।’ ती व्यक्तिको जवाफमा कन्हैया कुमारले भने, ‘त्यसो भए त तपाईंले मलाई चिन्दै चिन्नु भएको रहेनछ । तपाईं मलाई आँखा चिम्म गरेर विश्वास गर्न खोजिरहनु भएको छ, जुन पहिले अन्य नेताको सवालमा गर्दै आउनुभएको थियो । ममाथि शंका गर्नुस्, अनि मात्र मैले राम्रो काम गर्न सक्छु ।’ कन्हैया कुमारले भनेझैं आँखा चिम्म गरेर विश्वास गर्नु र उसको विरोधमा एक शब्द पनि सुन्न नसक्नु देवत्वकरण हो । देवत्वकरणको विरोधमा माक्र्स, लेनिन र माओले आफ्ना दृष्टिकोणहरू समयक्रममा स्पष्ट पार्दै आएको पाइन्छ । महात्मा गान्धीले पनि देवत्वकरणको चाहना गरेको पढ्न पाइएको छैन । देवत्वकरणप्रति रमाउने प्रवृत्ति आजको नेपालको नेतृत्वमा जति संसारका अन्य देशहरूमा शायदै होला ! देवत्वकरणको फाइदा भने अरुले नभएर नेतृत्वले नै लिँदै आएका छन् र नेतृत्वका वरिपरि रहने भारदारहरूले समेत लिने गरेका छन् । देश र जनताले देवत्वकरणको मार खाँदै गएको देखिन्छ । जतिसुकै गलत काम गरे पनि गलत भन्न नसक्ने प्रवृत्ति नै दासत्वको  चरित्र हो । दासहरूले नेतृत्वको देवत्वकरण गर्छन् । कारण बारम्बार तिनै व्यक्तिहरूले देशको नेतृत्व लिन पुग्छन् । यस्तै प्रवृतिबाट हामी ठगिँदै आएका छौं । आगे सबैलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here