रेखा थापाद्वारा छैठौं चलचित्र निर्माण गर्ने, सौगात मल्ल र दयाहाङ राई अनुबन्धित

339
काठमाडाैं / रेखा थापाले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भएका छन् । माघे संघ्रन्तीको अवसर पारेर रेखाले सौगात र दयालाई रेखा फिल्मसको छैठौं चलचित्रमा स्वागत गरेको खबर सार्वजनिक गरेकी हुन् ।

शिर्षक तय हुंन बाँकी चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । ‘राम प्यारी’ पछि रेखा र सविरले यो प्रोजेक्टमा सहकार्य गरेका हुन् भने रेखा, सौगात र दयाले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । रेखा र दयाले भने चलचित्र ‘निर फुल’मा सँगै काम गरेका छन् । सौगातसँग रेखाको पहिलो स्क्रिन सेयर हो ।

चलचित्रको पटकथा एंव संवाद जगदिश्वर थापाले लेखिरहेका छन् । सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् । गीत तथा संगीत छनोट कार्य भैरहेको रेखाले जनाइन् ।  बैशाखबाट छायाँकन सुरु गरेर ०७७ सालको लक्ष्मी पूजामा दर्शकमाझ मल्टीस्टारर फिल्म ल्याउने रेखाले  जनाइन् ।

उसो त रेखाले यसअघि रेनशा वान्तवा राईलाई  चलचित्र निर्देशन गर्ने जिम्मेवारी दिएकी थिइन् । तर, रेनशा होम प्रोडक्सनकै चलचित्रमा व्यस्त भएपछि रेखाले नयाँ कथामा सविरलाई निर्देशनको जिम्मा दिएर नयाँ  चलचित्र अघि सारेकी हुन् ।

सौगात मल्ल र दयाहाङ राई जस्ता अभिनयमा पोख्त र दर्शकका प्रिय कलाकारसँग काम गर्न आफैं पनि उत्साहित रहेको रेखाले जनाइन् । ‘सौगात र दयासँग मेरो केमेस्ट्रीलाई लिएर म आफैं पनि उत्साहित छु । दर्शकहरुमा पनि मेरो जस्तै उत्साह पैदा भएको हुनुपर्छ’, रेखाले भनिन्, ‘यस पटक फुलको प्याकेजमा फिल्म बन्नेछ ।’

नेपाली चलचित्र क्षेत्रमा आ-आफ्नै पहिचान बनाएका रेखा थापा, सौगात मल्ल र दयाहाङ राईको टिमअप कस्तो  हुने भन्ने चलचित्र  प्रदर्शनपछि नै थाहा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here