सभामुखको चयनसँगै एमसीसीको रडाको समाप्त हुने भो कि !

166

–चन्द्रप्रकाश बानियाँ

जसले पाए पनि सभामुखको जिम्मेवारी पाउने नेकपाकै नेताले थियो । दुईतीहाई संसदीय बहुमत जुटाएर गजधम्मिएको पार्टीले संसदको नेतृत्व छोड्ने प्रश्नै आउँदैनथ्यो । अनावश्यक आनाकानीपछि पदनिवृत्त उपसभामुखमा त्यत्ति सामान्य ज्ञान नभएको हो अथवा प्रमोसनको लागि दलाली थियो कुन्नी पदमा टिकिरहन निकै कशरत गरेको देखियो । पार्टी पद्धति र अनुशासनले सांगठनिक जीवनमा निकै ठूलो अर्थ राख्दछ । इमान्दार र अनुशासित पार्टी कार्यकर्ताले पार्टीलाई घाटा पुग्नेगरी अडान लिन मिल्दैनथ्यो । उपसभामुखको अडानले पार्टीलाई सभामुख गुमाउनुपर्ने अवस्थामा पु¥याउन सक्तथ्यो । त्यस्तो चेष्टा दण्डनीय अपराध मानिन्थ्यो । त्यसबाट पार्टी र डा. तुम्बाहाम्फे दुवैलाई नोक्सान पुग्दथ्यो ।

सभामुख वा उपसभामुखमा निर्वाचित भएपछि पार्टी सदस्यता परित्याग गर्नु एउटा औपचारिकता मात्र हो । त्यो औपचारिकता पार्टी सदस्यताको परित्याग होइन, स्थगन मात्र हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा पद रिक्त भएको खण्डमा सुब्बामा पदोन्नति हुन मिल्ने खरदारको जागिरजस्तो उपसभामुखको पद होइन । खरदारले पद रिक्त हुँदा सुब्बाको जिम्मेवारीको कायममुकाम पाउन सक्छ तर उपसभामुखलाई त्यस्तो अधिकार संविधानले दिएको छैन ।  अर्थात उपसभामुखलाई सभामुखको जिम्मेवारी लिनसक्ने हैसियत संविधानले दिएकै छैन । त्यसको अर्था हाम्रो संविधानले उपसभामुखलाई सभामुखको जिम्मेवारी लिन योग्य मानेकै छैन । सभामुखको अनुपस्थितिमा उपसभामुखले सम्पूर्ण उत्तराधिकार लिन वा उपभोग गर्न पाउने व्यवस्था संविधानले नगर्नुको अर्थ उपसभामुख हुनु सभामुखको लागि योग्य नमानिनु हो । सभामुखको मर्यादा उप–प्रधानमन्त्रीभन्दा माथि हुन्छ । उपसभामुख मन्त्रीभन्दा तल हुन्छ । अर्थात सभामुख र उपसभामुखबिच मर्यादाक्रमको अलि ठूलो ग्याप रहन्छ । डा. तुम्वाहाम्फेले यो तथ्य बुझ्न बाँकी रहेछ सायद !

जे होस् उपसभामुखले बाटो खुलागरिदिइन्, पार्टीले सभामुखको लागि नयाँ नामको चुनाव ग¥यो । एउटा पट्यारलाग्दो अन्योल समाप्त भयो । नेकपाका अध्यक्षद्वय बिचको भाले जुधाई समाप्त भयो । सभामुख चयनको गतिरोध अन्त भयो । अर्थात समाधान भयो । युद्धमा हारजीत भन्दा पनि लोकलाजले एउटा पक्षलाई गलायो । सधै जित्दै आएको पक्ष यसपटक पराजित भएजस्तो देखियो । मनोमानी निर्णय लिँदै आएको पक्षलाई अडान छोड्नुपर्दा दाँतमा ढुङ्गो लागेजस्तो हुनु स्वभाविक हो तर निरंकुशतातिर पाइलो चलाएको तानाशाह अलिकता झुकेजस्तो, लत्रेजस्तो, हारेजस्तो देखिनु समाजका लागि भने सुखकर विषय हो ।

माननीय अग्नि सापकोटा सभामुखको पदमा निर्विरोध निर्वाचित हुने भए । उनको योग्यतामा प्रश्न उठाउने ठाउँ छैन । सबैले उनको कार्यकाल सफल रहोस् भन्ने कामना गर्नु उचित होला । दुर्भाग्य भन्नु कि संयोग एउटा कस्तो विडम्वना सिर्जना भएको छ भने समाजले माननीय सापकोटालाई एमसीसी परियोजना संसदबाट पारित गराउने सर्तमा सभामुखको पद हासिल गर्ने लुब्ध राजनीतिज्ञ ठान्ने भो । अवश्य त्यस्तो लेनदेन भएको होवोइन होला । त्यस्तो लिखित मौखिक सहमति भयो होला भनेर कल्पना गर्न सकिदैन । गर्नु उचित पनि हुदैन । परिस्थिति यसरी विकसित भएको छ कि महरालाई फर्काइएको भए पनि एमसीसी संसदबाट अनुमोदित हुन्थ्यो । यतिखेर चर्को विरोधको नौटङ्कीमा उत्रेका कमरेड रावललाई सभामुख बनाएका भए पनि उनको पहिलो काम एमसीसी पास गराउनु हुन्थ्यो । अथवा जनमोर्चाका नेता केसी नै त्यो पदमा निर्वाचित भएपनि हुने कुरा त्यही थियो । अर्थात एमसीसी अनुमोदन गर्नैपर्ने वाध्यात्मक परिस्थितिमा सरकार फसिसकेको छ । हरहालतमा अनुमोदन भैछाड्ने हो । यो वा त्यो व्यक्ति सभामुख हुनुले कुनै फरक पार्दैन । तर समाजले माननीय सापकोटाप्रति औलो उठाउने ठाउँ पाउने भो । किनकि बजारहल्ला त्यस्तै छ । अर्थात सरकारलाई अप्ठेरो नपार्ने सर्तमा प्रधानमन्त्री सभामुख चयनमा लचिलो भएका हुन भनिन्छ ।

एमसीसी परियोजना नेपालका लागि “नखाउँ दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार” भनेजस्तै हो । नेपाल आफैले हात थापेर लिएको अनुदान हो त्यो । नेपालले याचना गरेको हुनाले अमेरिकाले निगाहपूर्वक दान दिएको हो । फरक कति मात्रै भने एमसीसी नामको दान घरबारेले जोगीलाई दिएको मुष्ठीदानजस्तो होइन । जोगीको कमण्डलुमा परेको आनासुका वा मुठी चिम्टीमा मगन्तेको पूर्ण हक लाग्छ । दानमा प्राप्त वस्तुको आफूखुुसी प्रयोग गर्न याचक स्वतन्त्र हुन्छ । मनमाफिक खर्च गर्ने स्वच्छन्दता प्राप्त गर्छ ।  कमण्डलुमा जम्मा भएको चामलको खिचडी खाए पनि उसको खुसी, बजारमा बेचेर गाँजा खरिद गरेपनि उसको स्वेच्छा  ! अथवा शरावमै खर्च गरेपनि कसैले प्रश्न उठाउने ठाउँ रहँदैन । तर एमसीसीमा दाताका अनिवार्य सर्तहरू छन् । दुरूपयोग रोक्ने वा कसरी कुन कुरामा कति र कसरी खर्च गर्ने भन्ने निश्चित मार्ग निर्देशन दाताको रहने व्यवस्था छ । खर्चको रेखदेख र नियन्त्रण गर्ने अधिकार उसैसँग सुरक्षित रहन्छ । कुरो त्यत्रि मात्रै हो ।

एमसीसीको सम्बन्धमा नेपाली समाजमा चलेको बहस विवादले एउटा पुरानो घटनाको स्मरण गरायो । ६०÷६५ सालतिर एक्युपञ्चर उपचार सेवा लिनका लागि काठमाडौंको मोडेल अस्पतालको दैनिक तारिखमा झुण्डिनुपर्दाको कुरा हो । तीनमहिना लामो पट्यारलाग्दो त्यो कालखण्डमा एकजना मुस्लिम बन्धुसँग मित्रता गाँसियो । उनी जन्मे हुर्केको ठाउँ त खिचापोखरी थियो रे । त्यतिखेरसम्म भने उनी रातोपुलतिर बसाई सरेका रहेछन् । खिचापोखरीतिर जन्मी हुर्की बढेका हुनाले उनलाई वसन्तपुरको “बानियाँ वस्ती”को बारेमा जानकारी रहेछ । उनलाई नेपाली भन्दा नेवारी भाषामा बोल्न सजिलो लाग्दो रहेछ । एकदिन गफगाफकै सन्दर्भमा “म पनि बानियाँ हुँ” भन्ने जनकारी पाएपछि उनी त नेवारीमै फतल्किन थाले । नेवारी राम्रोसँग बुभ्mदिन भन्ने मेरो विवशता सुने पछि ‘तपाई नेवार होइन र’ भनेर सोधे । पहाडतिरको क्षत्री बानियाँ पो रहेछ भन्ने जानकारी पाएपछि रातोपुलतिरका क्षत्रीहरूको सरसंगतमा आफूलाई परेको मर्काको कथा सुनाएथे । रातोपुल वरपर क्षत्रीहरूको बस्ती बाक्लै रहेछ । स्वभावतः छरछिमेकमा भएपछि जन्ती मलामीको सम्बन्ध रहने नै भो । भोजभतेरमा सामेल हुनै प¥यो । क्षत्रीहरूको भोजमा सिङ्गारिएको सुँगुरको टाउको सजाएर राख्ने परम्परा रहेछ । सुँगुरको मासु खाने कुरा त परै रहोस्, मुश्लिमले सुँगुर छुनु पनि पाप लाग्ने कुरा ! भोजभतेरको निम्तिोमा नजानु भने छिमेकी रिसाउलान् भन्ने डर, भोजमा सामेल हुनु भने आफ्नो जात जाला भन्ने डर ! त्यसैले क्षत्रीबन्धुको भोजको निम्तो आयो भने अरुभन्दा निकै चाँडो उपस्थित हुने र एकदुई टुक्रा फलफूल ग्रहण गरेर भोज नमच्चिदै घर फर्कनुपर्ने वाध्यता पर्दो रहेछ । अर्थात उनका लागि भोज घाटाको व्यापारजस्तो हुँदो रहेछ  !

अरुले बनाइदिएका सडकमा अनुदानमै मिलेका गाडी चढेर जोरीपारीलाई सान देखाउनुपर्ने नेपालीहरूको वाध्यता ! मागेर विकास गर्छु भनेर जनतासँग मत माग्नु पर्ने विवशता ! छोराछोरीको शिक्षादीक्षाको लागि समेत दूतावासहरूको चाकडी गर्ने परम्परा ! सहस्रार्जुनका जस्तो हजार हात भैदिए एकैसाथ सबैसामु हात थाप्न पाइन्थ्यो होला । दुर्भाग्यवस मानिसका हात दुईवटा मात्र भैदिनाले एकपटकमा अब्बलमा दुईजनासँग मात्र हात फैलाउने सुविधा छ । कसैसँग दान लिन्छु र कसैसँग लिन्न भन्न नमिल्ने, एक दुईसँग लिएर काम पनि नचल्ने । पाएसम्म त्यसको प्रकृति नहेरिकन सोहोर्नुपर्ने ! त्यसैले चारैतिर घुमिघुमि याचनापात्र थाप्नुपर्ने हुृन्छ । दानको प्रकार पनि एकसमान हुने कुरै भएन । त्यही गुढ रहस्य नबुझ्नेहरूले चीनको ६० अर्ब र अमेरिकाको ५० अर्बमा किन फरक सर्त भनेर प्रश्न उठाउने हृुन् । माग्नेको सम्बन्ध याचना पात्रमा पर्ने रकमसँग रहन्छ । उत्तानो हातले दियो कि घोप्टो हातले दियो, भन्ने कुराले खास फरक पार्दैन । एमसीसी अनुदान नेपालका लागि नखानु भने दाता रिसाउने, श्रोत सुक्ने डर, खानु भने घाँटीमा अड्कन्छ कि भनेर डराउनुपर्ने विषय बनेको छ । विचरा सरकार ! विचरा सभामुख !! विचरा हामी नेपालीहरू !! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here