गणतन्त्र स्मारक हटाउन माधवकुमार नेपालकाे माग

122

काठमाडौं /  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेता माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयमा निर्माण गरिएको गणतन्त्र स्मारक हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपालले नारायणहिटी दरबार क्षेत्रमा त्यो क्षेत्रसँग सम्बन्धित विषयका संरचना मात्रै निर्माण गरिनुपर्ने बताए ।

नेपालले भने, ‘नारायणहिटी दरबारका संरचना नेपालमा शासन गर्ने सिंगो शाह वंशको, व्यवस्थाको झल्किने हुनुपर्दथ्यो । त्यहाँ लगेर गणतन्त्र स्मारक बनाइयो । गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनुपर्नेमा नारायणहिटीमा बनाइयो, त्यो गलत भएकाले हटाइ दिनुपर्छ ।’

नेता नेपालले गणतन्त्र र पछिल्लो व्यवस्था परिवर्तनको आन्दोलनसँग जोडिएका संरचना झल्किने गरी अर्कै ठाउँमा स्मारक बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएका छन् । ‘गणतन्त्रको आन्दोलनसँग जोडिएको, संविधानको घोषणा, संघीयतामा प्रवेश गरेको इतिहासको झलक देखाउने अर्को स्मारक बनाउनुपर्छ,’ नेपालले भने ।

मुलुकमा भएका आन्दोलनका झलक देखाउने संग्रहालय बनाउनु ठीक भए पनि दरबार संग्रहालयमा लगेर बनाउनु उपयुक्त नभएको नेपालको भनाइ थियो । नेपालमा रहेका सबै जातजातीको इतिहास झल्काउने संग्रहालयहरू मुलुकभर बनाउनुपर्ने उनले बताए ।

नारायणहिटी दरबार संग्रहालयमा व्यापारिक भवन र तारे होटल बनाउने कुरा सुनेको भन्दै नेता नेपालले त्यसो गरिए बर्बाद हुने बताए । मन्त्री योगेश भट्टराईसँग यस सम्बन्धमा चासो राख्दै उनले भने, ‘नारायणहिटीमा कमर्सियल कम्प्लेक्स बनाउने र विश्वर स्तरको होटल बनाउने भन्ने सुनेको छु । बर्बाद पार्ने हो ?’

अहिलेजस्तै रहन दिन उनले आग्रह गरे । नेपालले भने, ‘अहिलेको जस्तै रहन दिए हुँदैन । त्यस्तो हो भने त्योभन्दा विपत्तीको अवस्था केही पनि हुँदैन ।’

नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्नु पहिला कति गृहकार्य भएको छ भन्ने विषयमा पनि नेपालले जिज्ञासा राखे । पर्यटक धेरै भित्र्याउने विभिन्न मुलुकका अनुभवको अनुसन्धान र अध्ययन गरेर त्यसको नेपालमा कार्यान्वयन गर्नुपर्ने सुझाव नेपालले दिए । पर्यटन नेपालको दीर्घकालीन आर्थिक स्रोत भएकाले त्यसमा जोड दिनुपर्ने उनको सुझाव थियो । ‘नेपालको आम्दानीको महत्त्वपूर्ण माध्यम भनेको पर्यटन हो र यो दीर्घकालीन हुन्छ । नेपालको अर्थतन्त्रको मुख्य माध्यम पर्यटन हुनेछ ।

जलस्रोत भनिहरेका छौं तर त्यसमा सीमा हुन्छ । जलस्रोतले सिँचाइ र विद्युत उत्पादनका निम्ती हो । त्यसबाट माथि जाँदैन । पर्यटन भनेको त बढेको बढ्यै हुन्छ । त्यसैले पर्यटन हाम्रो देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड र इन्जिनको रूपमा रहेको हुनाले गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।’

1 COMMENT

  1. सिंगो शाह वंशको, व्यवस्थाको झल्किने हुनुपर्दथ्यो । त्यहाँ लगेर गणतन्त्र स्मारक बनाइयो । गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनुपर्नेमा नारायणहिटीमा बनाइयो, त्यो गलत भएकाले हटाइ दिनुपर्छ ।’रे त्यसो भए बसन्तपुर दरबारमा पनि मल्ल राजा हरुको मात्रै स्मारक हुनुपर्यो।???

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here