हिमाली जिल्लामा नयाँ शैक्षिक वर्ष सुरु भए तापनि पुस्तकबारे अन्योलता,

175

काठमाडौं /  अाजदेखि  पाँचवटा हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । पुस्तकको मूल्य निर्धारण प्रक्रियामा ढिलाइ हुँदा नयाँ कक्षामा पढाइ सुरु गरेका ती जिल्लाका विद्यार्थीले पुस्तक कहिले पाउने हो अन्योल भएको छ ।हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुगु र कालिकोट जिल्लाको केही क्षेत्रमा समेत फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष सुरु हुन्छ ।

ती जिल्लाहरुमा विद्यार्थी भर्नाको लागि १५ दिनको समय तोकिएको छ । अहिलेसम्म पुस्तक पठाउने तयारी समेत भएको छैन । जसका कारण कक्षा सुरु हुने समयमा पुस्तक नपुग्ने हो कि ? भन्ने चिन्ता सरकारी अधिकारीहरुले गरेका छन् ।

उपत्यका बाहिर विभिन्न स्थानमा गएको शिक्षा विभागको टोली अनुगमन गरी फर्किएको छ । काठमाडौं उपत्यकामा छपाइको अवस्थाबारे अध्ययन गरेपछि मात्रै प्रतिवेदन सार्वजनिक गरिने विभागका शैक्षिक योजना तथा विकास महाशाखाका प्रमुख एवं उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो सातामात्रै पुस्तकको मुल्यसम्बन्धी शिक्षा विभागबाट प्रस्तुत गरिएको प्रतिवेदन मन्त्रालयबाट स्वीकृत भएकोले पनि पुस्तक छपाइमा ढिलाइ भएको छ । अधिकारीका अनुसार विभागले अनुगमनको लागि खटाएको टोलीले उपत्यकाबाहिर विभिन्न ठाउँहरुमा अनुगमन गर्दा हिमाली जिल्लाहरुमा कक्षा सुरु हुने बेलामा नै पुस्तक पुग्न कठिन हुने अवस्था देखिएको थियो । तर, निजी मुद्रक तथा वितरक संघका अध्यक्ष दीपक भण्डारी भने कक्षा सुरु हुने बेलासम्म सबै हिमाली जिल्लाहरुमा पुस्तक पुग्ने दाबी गर्छन् ।

संघले कक्षा एकदेखि ४ सम्मको पुस्तक छपाउने जिम्मा लिएको छ भने ५ कक्षादेखि माथिको किताब जनक शिक्षा सामग्री केन्द्रले नै छाप्ने गरेको छ । भण्डारीले २, ३ र ४ कक्षाको किताब छापेर पनि सम्बन्धित ठाउँको लागि पठाइसकिएको भन्दै जनक शिक्षा सामग्री केन्द्रको किताब पुग्ने बेलासम्ममा ४ कक्षासम्मको पुस्तक पनि पुग्ने दाबी गर्नुभएको छ ।  उता जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमल्सिनाले जनक शिक्षाले छपाइको जिम्मा पाएका सबै पुस्तकहरु सम्बन्धित गाउँमा र्पुयाउन नेपालगञ्ज विमानस्थलमा राखिको जानकारी दिनुभयो ।

कर्णालीका कतिपय ठाउँहरुमा हवाइजहाज मार्फत् नै पुस्तक र्पुयाउनुपर्ने भएकोले विमानस्थलमा पुस्तक राखिएको उहाँले भन्नुभयो । शैक्षिक सत्रको सुरुमा नै र्पुयाउनुपर्ने भए पनि कक्षा सुरु हुने बेलासम्म भने पुस्तक पुग्ने उहाँको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here