भ्रष्टाचार गर्नेहरूलाई चुनौतीको पहाड बन्दैछन् विप्लव

140

–निमकान्त पाण्डे

बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कारवाही प्रक्रियामा देखाएको विभेदप्रति सर्वत्र चर्चा भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले पनि मुख खोलेको छ । भ्रष्टाचारकै विरुद्ध राजनीतिक गतिविधिलाई केन्द्रित गरेको र विष्फोटक गतिविधिमा समेत विशेष क्षतिजन्य कारवाहीहरू गरिरहेको सो पार्टीले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले छुन नसकेका संलग्नहरूलाई कारवाहीको निशानामा राखेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले ललिता निवास काण्डका दोषीहरूलाई अख्तियारले जोगाएपनि आफूहरूले कारवाही गर्ने चेतावनी दिँदै प्रेस विज्ञप्ती नै जारी गरेका छन् ।

प्रकाण्डले प्रेस विज्ञप्तीमा यसरी भ्रष्टहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् । ‘ हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले सामाजिक दायित्व र जनताको माग बमोजिम ललिता निवास काण्डका दोषीहरूलाई कारवाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी ओली सरकार र सरकारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, सत्तारुढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ । अख्तियारले सरकार र सत्तारुढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवास काण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारुढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवास काण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारवाही गर्नेछ । सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसंग अनुुरोध गर्दछौं ।’

नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जारी यो विज्ञप्तीले निश्चय पनि भ्रष्टहरूको मनोबल उच्च बन्न सक्दैन भनेर अनुमान गर्न सकिन्छ । हुन त राज्यको कानुनले छुन नसकेका भ्रष्टहरू देशमा साढेंजस्तै डुक्रिदैं हिडिँरहेका छन् । उनीहरूको शानले सर्वसाधारणलाई लज्जित बनाइरहेको अवस्था देशमा विद्यमान छ । राजनीतिक आदर्शलाई एकातिर पन्छाएर माक्र्सवाद लेनिनवादको आवरणमा जुनसुकै अपराधकर्म गर्दा पनि माफी पाइन्छ भन्ने खालको चिन्तनले राजनीतिलाई विकृत बनाइरहेको छ । यस्तो अवस्थामा विप्लव नेतृत्वको नेकपाले जारी  गरेको चेतावनी गम्भीर विषय हो ।

हुन त प्रधानमन्त्री केपी ओलीले पनि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको कुरा पटक–पटक दोहो¥याइरहनु भएको छ । प्रधानमन्त्री ओलीको भ्रष्टाचार विरुद्धको प्रतिबद्धता मजाक जस्तै बन्न पुगेको छ । वाइडबडी विमान खरीद प्रकरण, एनसेलको लाभकर प्रकरण, ३३ किलो सुन काण्ड, नेपाल ट्रष्टको सम्पत्तिमाथि विवादास्पद यती होल्डिङसको हालिमुहाली लगायत पछिल्लो ललिता निवास जग्गा प्रकरणले प्रधानमन्त्री ओलीको भ्रष्टाचार विरुद्धको अभिव्यक्ति दुनियाँलाई मजाक बनिरहेको अवस्था छ । ओलीको राजनीतिक उचाइ जति माथि उठेको थियो, उहाँको नेतृत्वको सरकार बनेपछिका दुई वर्षले उहाँलाई उठ्नै नसक्ने गरी धर्तीमा सुताइदिएको अवस्था छ । भ्रष्टाचार गर्नेहरू सरकारका प्रिय पात्र बनिरहेका छन् ।  भ्रष्टाचार गर्नेहरू सरकारबाट सम्मानित भइरहेका छन् । भ्रष्टाचार गर्नेहरू सरकारलाई ढाल्न सक्ने हैसियतका देखिन थालेका छन् । सायद यस्तै कारणहरूबाट हुनसक्छ सरकारले भ्रष्टाचारका विरुद्ध बोल्ने मात्र गरिरहेको छ, काम गर्न सकिरहेको छैन ।

राजनीतिक क्षेत्रमा सबैले विश्वास गरेको कुरा हो, कम्युनिष्टहरूले भ्रष्टाचार गर्दैनन् भन्ने कुरा । तर यो मान्यतालाई नेपालमा निर्माण भएको अत्यधिक बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले झूठ साबित गरिदिएको छ । अहिलेको सरकार वर्गशत्रु सफाया अभियान र दश वर्षे जनयुद्धको फ्यूजनका रूपमा निर्माण भएको छ । यो जति क्रान्तिकारी, यो जति विकासप्रेमी, यो जति जनताप्रति जिम्मेवार, यो जति देशभक्त सरकारको परिकल्पना नेपालका लागि असम्भव नै भन्न सकिन्छ । तर यो सरकारले सबै अपेक्षाहरूलाई निराश बनाइरहेको छ । यस्तो किन गरिरहेको छ यो सरकार ? यसको जवाफ पाउन कठिन छ ।

नेपाली जनताले कम्युनिष्ट पार्टीलाई मतदान गरेर सत्तामा पु¥याएका हुन् । कम्युनिष्ट पार्टीका नेताहरूले जनताको जीवनस्तर उठाउने कार्यक्रमहरू लागू गर्ने छन्  र देश तीव्र गतिका साथ विकासपथमा लम्किने छ भन्ने आशा जनताले गरेका हुन् । तर जनतामा निराशा व्याप्त छ । नेताहरूको भ्रष्ट चरित्र, नेताहरूको साम्राज्यवाद र विस्तारवाद परस्त गतिविधिका कारणबाट देशले ठूलो संकटको सामना गर्नुपर्ने अवस्था विकसित हुँदै गइरहेको छ । पछिल्लो पटक अमेरिकी स्वार्थमा नेपाल भित्रिन तयार भइरहेको बहुचर्चित एमसीसी प्रकरणले नेपाललाई युद्ध मैदानमा रूपान्तरित गर्ने त्रास सर्वत्र फैलिएको छ । अमेरिकाको चीन विरुद्धको युद्ध रणनीति अन्र्तगत नेपालमा प्रवेश गराउन खोजिएको एमसीसी नेपालमा ल्याउनुपर्ने आवश्यकताबोध कम्युनिष्ट पार्टीका नेताहरूलाई किन भइरहेको छ ? यो निकै गम्भीर विषय छ ।

राजनीतिक आदर्शबाट विचलित भएको यो भन्दा नाङ्गो उदाहरण अरु चाहिँदैन ।  साम्राज्यवादको गोटी बन्न भइसकेपछि माक्र्सवाद लेनिनवादको आवरण किन आवश्य प¥यो ? जनतामा भ्रम पैदा गराउनका लागि कम्युनिष्टको खोल किन लगाउनुप¥यो ? कम्युनिष्ट विचारप्रति नै आस्था छैन भने योे नाम परिवर्तन गरेर अमेरिकाकै जस्तो राजनीतिक आवरण बनाएर इमान्दारिता देखाउन सक्नुपर्दछ । नक्कली आवरणबाट गरिने कुनैपनि जनविरोधी र राष्ट्रविरोधी कामहरूलाई जनताले राम्रैसंग हेरिरहेका छन् भन्ने कुरा सत्तासीन नेकपाका नेताहरूले बुझ्न जरुरी छ । विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर, भ्रष्टाचारीहरूलाई संरक्षण गरेर, अमेरिका र भारतको चाकडी गरी सत्ता टिकाउने प्रयास गर्नु व्यर्थ हो । भ्रष्टहरूलाई कारवाही गर्दै साम्राज्यवाद र विस्तारवादका षडयन्त्रहरूलाई चिर्दै अगाडि बढ्न सके मात्र विप्लव नेकपा समाप्त हुनेछ, अन्यथा भ्रष्ट सत्तासीनहरूका लागि विप्लव चुनौतीको पहाड बनेर देखिने सम्भावना बढेको छ । भ्रष्टहरूले राम्रोसंग निदाउन पनि नपाउने दिन आउने सम्भावनालाई नजरअन्दाज गर्नु ठूलो गल्ती हुनेछ । आगे नेताजीहरूलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here