रसुवा – रसुवामा आइसोलेसन कक्षको स्थापना गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि चार वटा वेडको आइसोलेसन कक्ष जिल्ला अस्पताल रसुवामा स्थापना गरिएको हो।
जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलका अनुसार हालसम्म जिल्लामा कोरोना लागेका बिरामी भेटिएका छैनन्। अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका आल्मुनियमका बेडहरूलाई प्रयोगमा ल्याइएर कक्ष सञ्चालनमा ल्याइएको हो।
अस्पतालमा हाल मौसमी रुघाखोकी लागेका बिरामीको चाप बढ्दै गएको भए पनि कोरोनाको शंका लागेका बिरामी नआएका डा. खरेलले जनाए । केही महिनाअघि शंका लागेर परीक्षण गरिएका एक जना बिरामीलाई पनि कोरोना नलागेको अस्पतालले जानकारी दिएको छ।
नमुना परीक्षणका लागि खकार तथा र्याल टेकु अस्पतालमा पठाइने भएकाले बिरामीलाई पठाउन नपर्ने अस्पतालले जनाएको छ।
रसुवागढी नाकामा पनि मन्त्रालयको सहयोगमा अस्थायी संरचना निर्माण कार्य सुरु भएको छ। जिल्लामा कोरोना भित्रन नदिनका लागि नाकामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाए । हाल नाकामा दुई जना एमबीबीएस डाक्टर खटाइएको छ। नाकामा रहेको हेल्थ डेक्समा चार जना स्वास्थ्यकर्मी रहेका छन्। हेल्थ डेक्समा आवश्यक पर्ने पिपिइ, मास्क, डिजिटल थर्मामिटर राखिएको छ।

















