डीआईजी सुब्बाले दिए राजीनामा

211

काठमाडौं – संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनले पाँचदिन अघि नै राजीनामा बुझाएका हुन् । तर हालसम्म स्वीकृत भइसकेको छैन ।

एकवर्ष कार्यकाल बाँकी रहँदा नै डीआईजी सुब्बाले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।  उनको राजीनामा गृहमन्त्रालयले नै स्वीकृत गर्नुपर्ने हुन्छ । डीआईजीसम्मको राजीनामा गृहमन्त्रालयले नै स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

सुब्बा लामो समयदेखि चारहजार पाँच सय कर्मचारी रहेको प्राविधिकतर्फबाट पनि विशिष्ट श्रेणीमा जाने व्यवस्था गर्नुपर्ने पक्षमा थिए । सूचना सञ्चार प्रविधिमा अमेरिकाबाट विद्यावारिधि गरेका सुब्बाले भूकम्पका बेला सुरु गरेको सूचना प्रवाहको त्यसबेला निकै प्रसंशा गरिएको थियो । तर लामो समयसम्म पनि सुनुवाइ नभएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दियो ।

“घरायसी कारण देखाउँदै उहाँले राजीनामा बुझाउनुभएको छ,” स्रोतले भन्यो, “पाँचदिन अघि नै उहाँले राजीनामा बुझाउनुभएको हो । कारण घरायसी देखाए पनि उहाँले लामो समयदेखि वृत्ति विकासको कुरा लगातार उठाउँदै आउनुभएको थियो । तर त्यो अवसर नपाएपछि एकवर्ष कार्यकाल रहँदै उहाँले राजीनामा बुझाउनुभएको हो ।”

प्रशासन तथा चिकित्सक क्षेत्रमा रहेका विशिष्ठ श्रेणीमा जान पाउने व्यवस्था भए पनि प्रहरीमा प्राविधिक तर्फका जाने अवस्था नभए पछि राजीनामा गर्नुपर्ने स्रोत बताउँछ ।

तर डीआईजी सुब्बाले यसबारेमा केही जानकारी  दिन चाहेनन् । उनले आफूले राजीनामा दिएको पुष्टि गर्दै भने, “मैले घरायसी कारणले राजीनामा दिएको हुँ ।” यसबाहेक उनले केही भन्न चाहेनन् ।

नेपाल प्रहरीमा उनी यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालभन्दा पनि सिनियर हुन् । खनालले महानिरीक्षकबाट अवकासप्राप्त गरिसकेका छन् ।  वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि सुब्बाभन्दा जुनियर हुन् ।

“लामो समयदेखि वृत्तिविकासको कुरा उठाइरहनुभएको थियो,” प्रहरी स्रोतले भन्यो, “त्यो अवस्था नदेखेपछि राजीनामा दिएको हुनुपर्छ तर अहिलेसम्म स्वीकृत भइसकेको छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here