कोरोनासम्बन्धी प्रोपागान्डा मचाउने विरूद्व प्रहरीले थाल्यो अनुसन्धान

174

काठमाडाैं – शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एकाएक एउटा अडिओ भाइरल भयो।

भाइरल भएको अडिओ कोरोनासम्बन्धी थियो। अडिओमा भनिएको थियो, नर्भिक अस्पतालमा ९ जनामा कोरोनामा जाँच गराएकामध्ये ६ जनामा पोजेटिभ देखियो।

अडिओ भाइरल भएपछि यसले एक प्रकारले त्रास नै जनमानसमा सिर्जना गरिदियो।

धेरैजसोले कोरोनाका बिरामी भए पनि लुकाइएको भन्दै फेसबुकमा जिज्ञासा पोष्ट गर्न थाले।

यसरी अडिओ भाइरल भएपछि नेपाल प्रहरीले अनुसन्धान सुरू गरेको छ। जनमानसमा त्रास फैलाइएको भन्दै अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पनि त्यो अडिओमा कुनै सत्यता छैन।

अडिओमा नर्भिक अस्पताल पुल्चोकमा भनिएको छ। जबकी नर्भिक अस्पताल थापाथलीमा छ।

चिकित्सकहरूले पनि नेपालमा रोग देखिए त्यो लुकाउन सम्भव नहुने बताउँदै आएका छन्। नर्भिक अस्पतालले पनि अडिओको बारेमा प्रेस विज्ञप्ति जारी गरेर त्यसमा सत्यता नरहेको बताएको छ।

‘हालसम्म नर्भिकमा कोभिड-१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ,’ नर्भिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अडिओ सार्वजनिक भएपछि त्यसमा महानगरीय प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

डिआइजी विश्वराज पोखरेलले आधिकारिक निकायबाट पुष्टि भएका समाचारहरू मात्र पत्याउन सबैसँग आग्रह गरेका छन्।

उनले हचुवाका भरमा आएका प्रोपागान्डाको पछि नलाग्न भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here