आजबाट बंगलादेशमा पनि लकडाउन

175

एजेन्सी – बंगलादेशमा रहेका नेपालीमध्ये ७ सय ११ जनाले त्यहाँस्थित नेपाली दूतावासमा आफ्नो विवरण टिपाएका छन्। ढाकास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगाउन र परेको बेला सहयोग उपलब्ध गर्न ‘अनलाइन इमर्जेन्सी रजिष्ट्रेसन’ खुला गरेपछि त्यहाँ रहेका नेपालीले आफ्नो विवरण दूतावासलाई उपलब्ध गरेका हुन्।

‘बिहीबार विहानसम्म ७ सय ११ जनाले आफ्नो नाम तथ ठेगाना दर्ता गर्नुभएका छ,’ बंगलादेशस्थित नेपाली दूतावासका उपनियोग प्रमुख धनबहादुर ओलीका अनुसार, ‘अहिलेसम्म सबै नेपालीहरु सुरक्षित हुनुहुन्छ। कसैलाई कोरोनाको संक्रमण भएको जानकारी हामीले पाएका छैनौं।’

बंगलादेशमा कोरोना संक्रमित बढ्दै गएपछि बिहीबारबाट लागू हुनेगरी त्यहाँ लकडाउन गरिएको छ। हालसम्म बंगलादेशमा ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेशमा विद्यार्थी, व्यवसायी र अन्तर्राष्ट्रिय कामादारको रुपमा ५ हजारभन्दा बढी नेपाली रहेको अनुमान छ। यीमध्ये ३ देखि ४ हजार नेपाली कोरोना भाइरस विश्वमा बढ्दै गएपछि नेपाल फर्केको अनुमान गरिएको छ। बाँकी भएकामध्येले अहिले दूतावासमा आफ्ना नाम तथा ठेगना दर्ता गरिरहेका हुन्।

‘कसैले आपत्त विपत्त परे सहयोग गर्न सजिलो हुन्छ भनेर हामीले एक साताअघिबाट अनलाइन इमर्जेन्सी रजिस्ट्रेसन सुरु गरेका हौं। हामीले दर्ता गर्दा बंगलादशेका ठेगाना, नेपालको ठेगाना, सम्पर्क नम्बरलगायतका कुरा लिएका छौं। आउँदा दिन कोही नेपालीलाई अफ्ठेरो परे यसले सहजरुपमा सहयोग उपलब्ध गर्न हामीलाई सघाउँछ,’ ओलीले भने।

नेपाल र बंगलादेश दुवै देश लकडाउन भइसकेका कारण बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई धैर्यताका साथ आ(आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले बंगलादेशमा रहेका सबै नेपालीहरुलाई कमसेकम १ महिनासम्मका लागि आवश्यक खाद्यान्‍न चामल, दाल, तेल, नुन, गेडागुडी, पिउने पानीजस्ता सामग्री व्यस्थापन गर्नसमेत भनिसकेको थियो।

उपनियोग प्रमुख ओलीका अनुसार गत साता दूतावासले त्यहाँ नेपाली अध्ययनरत कलेज, विश्वविद्यालयसँग सम्पर्क गरी नेपाली विद्यार्थीलाई नेपाल पठाउन सहजिकरण गरेको थियो। त्यसपछि ठूलो संख्यामा नेपाली विद्यार्थी नेपाल फर्किएका थिए। तर, अहिलेको अवस्थामा भने यथा(स्थानमा सुरक्षित बस्नु नै एकमात्र विकल्प रहेको दूतावासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here