इरानमा काेराेना मेथानोल पिउँदा ३०० को मृत्यु

399

एजेन्सी – प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् : कोरोनाभाइरसको डरले मेथानोल नामक अल्कोहल पिउन छोड्नुस् ।

ती बालकलाई उनका मातापिताले भाइरसबाट सुरक्षा दिन्छ कि भनी विषाक्त मेथानोल दिएपछि उनको दृष्टि गुमेको छ । इरानमा कोरोना फैलिएपछि सयौं मानिसले मेथानोल पिएर ज्यान गुमाएका छन् ।

इरानी सञ्चारमाध्यममा आएका खबरअनुसार, मेथानोल पिएपछि ३०० भन्दा बढी मानिस मारिएका भने हजारजना बिरामी भएका छन् । इस्लामिक गणतन्त्र इरानमा अल्कोहल पिउन प्रतिबन्ध लगाइएको छ र पिउनेहरू लुकीलुकी कमसल रक्सी पिउँछन् ।

इरानको सामाजिक सञ्जालमा कोरोनाको उपचार भन्दै अनेकथरी झूटा औषधिहरू चर्चा चल्ने गरेको छ । कोरोना फैलिएपछि पनि सरकारले शुरूमा बेवास्ता गरेको भन्दै इरानीहरू सरकारप्रति आक्रोशित छन् ।