तारा एयरद्वारा अलपत्रमा परेका १४ पर्यटकको उद्दार

142

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सर्तकता अपनाउँदै लकडाउन गरेपछि लुक्लामा अलपत्र परेका १४ जना पर्यटकको तारा एयरलाइन्सले उद्दार गरेको छ।  तीनदिनदेखि लुक्लामा अलपत्र परेका १४ जना अस्ट्रेलियाका पर्यटकको यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले शुक्रबार उद्दार गरेको हो।

अस्ट्रेलियन दूतावासको आग्रहपछि उनीहरुलाई शुक्रबार बिहान उद्दार गरेर काठमाडौं ल्याइएको हो।  यसअघि हिजो पनि १४ जना फ्रान्सेली पर्यटकको उद्दार गरिएको थियो।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरूको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि निजी वायुसेवा कम्पनी तारा एयरले उद्दार गरेको थियो।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सर्तकता अपनाउँदै लकडाउन गरेपछि लुक्लामा अलपत्र परेका पर्यटकको उद्धारका लागि यती एयरलाइन्सले दूतावासहरुसँगको सहकार्यमा जहाज पठाइरहेको छ।