बेलायतमा सबै फुटबल खेल स्थगित

121

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनै पनि महादेशको ठूलादेखि साना खेलहरू अछुतो रहन सकेका छैनन् । यस वर्ष (२०२०)लाई तय भएको तीन ठूला प्रतियोगिता विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप अर्काे वर्षसम्मलाई स्थगित भइसकेका छन् ।

यसबाट कुनै पनि राष्ट्र अछुतो रहन सकेको छैन । यसैक्रममा इंग्ल्यान्ड फुटबल एसोसिएसन (ईएफएल)ले इंग्ल्यान्डको पाँचांै श्रेणीको लिग फुटबल नेसनल लिगभन्दा तलका सबै फुटबल यो सिजनका लागि अन्त्य गरेको घोषणा गरेको छ । ‘नेसनल लिगभन्दा तलका तीनवटा डिभिजन अन्त्य भएको छ । यससँगै लिगमा हालसम्मको नतिजा र अंक हटाइएको छ । यसको अर्थ अब यी लिगमा कुनै बढुवा वा घटुवा हुनेछैन,’ ईएफएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, महिला फुटबलमा पनि तेस्रोदेखि सातौं तहसम्मका फुटबल अन्त्य गरिएको छ ।

पुरुष फुटबलअन्तर्गत नन लिगमा जर्सी बुल्स र भाउक्सहल मोटोर्स पाँचांै तहमा बढुवा भइसके पनि अब यो बढुवा रद्द हुने भएको छ । कम्बाइन्ड काउन्टिज फुटबल लिग डिभिजन वानमा जर्सी बुल्सले २७ वटा खेल जितेको थियो । शीर्ष स्थानमा रहेको बुल्स २० अंकले अगाडि थियो । ईएफएलले नेसनल लिग, नेसनल लिग नर्थ, नेसनल लिग साउथ, वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिप जतिसक्दो छिटो सक्ने योजना बनाएको छ । एसोसिएसनले पुरुष एफए कप सम्पन्न गर्नका लागि सबै प्रयास गर्ने जनाएको छ । एफए कप अहिले क्वार्टर फाइनल चरणमा पुगेको छ ।

यस्तै, अरू प्रतियोगिताबारे पनि एसोसिएसनले विचार गरिरहेको जनाएको छ । इंग्लिस फुटबलका लागि यो चुनौतीपूर्ण अवस्था हो र सबै खाले निर्णय खेलको राम्रोका लागि गरिएको विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले यस्तो अवस्थामा आफ्नो प्राथमिकता क्लब खेलाडी स्टाफ अफिसियल भोलिन्टियर र समर्थकको सुरक्षा एवं कल्याण रहेको जनाएको छ । इंग्ल्यान्डको प्रिमियर लिगलगायत उच्च लिगहरू रद्द गर्ने वा के गर्ने भन्ने निर्णय अझै हुन बाँकी छ । हाललाई इंग्लिस प्रिमियर लिग ३० अप्रिलसम्मका लागि स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here