मकवानपुरमा स्वदेश फर्केका ३०१ जना क्‍वारेन्टाइनमा

72

काठमाडाैं – चैत १६ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी विदेशबाट फर्कनेको संख्या हेटौंडा उपमहानगरपालिकामा छ भने सबैभन्दा कम राक्सिराङ गाउँपालिकामा रहेको छ। हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विदेशबाट आएकाहरूको संख्या १ सय २८ रहेको छ भने थाहा नगरपालिकामा ६७ रहेको छ। कैलाश गाउँपालिकामा ५, इन्द्रसरोवरमा १६, भीमफेदी गाउँपालिकामा १२, मनहरी गाउँपालिकामा ४८, राक्सिराङ गाउँपालिकामा १, मकवानपुरगढी गाउँपालिकामा ५, बकैया गाउँपालिकामा ५ र बाग्मती गाउँपालिकामा ११ जना विदेशबाट फर्केर आएका छन्।

विदेशबाट आएका सबै ३ सय १ जनाको नै प्रारिम्भक स्क्रिनिङ गरिएको र उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको छ। प्रशासनका अनुसार चैत १६ गतेसम्म हेटौंडा नगरमा रहेका २ जना आइसोलेसनमा छन् भने बाँकी होम क्वारेन्टाइनमा छन्। वागमती गाउँपालिकाका एकजना काठमाडौंमा क्वारेन्टाइनमा बसेर आएका छन्। बाँकी सबै होम क्वारेन्टाइनमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जनाए ।

विदेशबाट फर्किएका प्रायः सबै होम क्वारेन्टाइनमा रहेकाले प्रशासनले होम क्वारेन्टाइनमा निगरानी बढाउने निर्णय समेत गरेको छ। होम क्वारेन्टाइनमा बसेकाहरू सामान्य अवस्थामा झैं हिँडडुल गरेको गुनासो स्थानीयहरूले प्रशासन, सुरक्षा निकायसँग गरेकाले निगरानी बढाउन लागिएको जनाइएको छ।

‘हामीले चैत महिनाभित्रमा गाउँपालिकामा आएकाहरूको तथ्यांक संकलन गरी उनीहरूको दैनिक स्वास्थ्य परीक्षण समेत गरिरहेका छौं। गाउँपालिकामार्फत् उनीहरूको स्वास्थ्य परीक्षणको काम अगाडि बढाएको छौं’, प्रजिअ नेपालले भने। स्वास्थ्य अवस्था सामान्य भएकै कारण होम क्वारेन्टाइन बस्न दिइए उनले बताए। ‘घरमा पनि छुट्टै कोठामा बस्ने गरी व्यवस्था मिलाएका छौं’, उनले थपे।

हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनमा चारजना

हेटौंडामा रहेका क्वारेन्टाइन र आइसोलेसनमा गरी चार जनालाई राखिएको छ। हेटौंडा–४ स्थित कर्रामा रहेको आइसोलेसन र एकेडेमीमा रहेको क्वारेन्टाइनमा गरी चारजना राखिएको छ। कर्रामा रहेको आइसोलेसन वार्डमा २ र क्वारेन्टाइनमा एक जना र एकेडेमीमा रहेको क्वारेन्टाइनमा एक जना रहेको स्वास्थ्य निरीक्षक एवम् आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए। आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरूले स्वाब परीक्षणको काम अघि बढेको छ।

उनका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरू सबै पुरुष छन्। सेल्फ क्वारेन्टाइनमा रहेका हेटौंडाका एक चिकित्सकलाई भने कोरोना नरहेको पुष्टि भएको छ। सेल्फ क्वारेन्टाइनमा रहेका ती चिकित्सकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको चौलागाईंले बताए। क्वारेन्टाइनमा विदेशबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका शंकास्पद बिरामीहरूलाई ल्याएर निगरानीमा राख्ने, स्वाब परीक्षणका लागि पठाउने र उपचार गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here