भक्तपुरको खोलामा महिलाको शव

378

भक्तपुर – मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ ।

शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्षकी महिलाको शव भेटिएको हो । नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी महिलाको टाउको भने भेटिएको छैन । त्यस्तै बायाँ हातको नाडीमुनिको भाग पनि नभएको भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरिएको प्रधानले जनाए  । ‘शवको टाउको छैन, घटनास्थलको अवस्था हेर्दा अन्तै घटना घटाएर खोलामा ल्याएर शव फ्याँकेको हो कि भन्ने अनुमान गरेका छौँ, शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर ल्याएर फ्याँकेको अनुमान छ, शव हेर्दा घटना कम्तीमा एक साताअघिको हनुपर्ने अनुमान गरेका छौँ’ उनले भने ।

घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्री बरामद गरेको छ । शव कसको हो भन्ने पहिचान हुन नसकेको जानकारी दिँदै उनले शव पहिचान गर्न र विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here