कामनपाद्वारा राहत कार्यविधि पास

72

काठमाडाैं – काठमाडौं महानगरपालिकाद्वारा निम्न आय भएका ज्यालादारी परिवारको निम्ति राहतको कार्यविधि पास गरेको छ। ठूला वडालाई चार लाख, मझौलालाई तीन र साना वडालाई दुई लाख रूपैयाँ निकासा गरिएको महानगरले जनाएको छ। आवश्यक परे रकम थप्ने निर्णयसमेत भएको छ।

महानगरपालिकाको सोमबार बसेको ४३औं बैठकले कोरोना भाइरसका कारण मर्कामा परेका नागरिकलाई राहत उपलब्ध गराउन यो कार्यविधि ल्याएको हो। यसमा महानगरका पशु चौपायासम्म कोही भोको नराख्ने कार्यक्रम छन्।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्ति पहिचान गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका  छन्। बैठकले पारित गरेको कार्यविधिमा अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्तिलाई असहाय मान्ने उल्लेख छ। त्यस्ता संरक्षण गृहमा बसोबास गर्ने नागरिकले महानगरले वितरण गरेको राहत पाउनेछन्।

आम्दानीको स्रोत नभएका, दैनिक गुजारा गरेर छाक टार्न धौधौ नागरिकलाई अतिविपन्न मान्ने र उनीहरूलाई पनि राहत उपलब्ध गराउने महानगरको कार्यविधिमा उल्लेख छ। राहत लिन सम्बन्धित वडाले प्रमाणित गर्नुपर्नेछ।

संगठित संस्थामा काम गर्नेबाहेक दैनिक ज्याला-मजदुरी गर्दै आएका, काठमाडौंमा घर–जग्गा नभएका भरिया लगायतलाई दैनिक ज्यालादारीमा राख्ने र उनीहरूलाई पनि राहत दिने महानगरले बताएको छ।

‘हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिलाई समेत समान व्यवहार गर्दै सबैको विवरण संकलन गर्न सम्बन्धित वडाले काम सुरू गर्ने निर्णय आजको बैठकले गरेको छ,’ मेयर शाक्यले नगर कार्यपालिकाको निर्णयबारे जानकारी दिँदै भने, ‘असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति पहिचानमा विवरण संकलनले थप सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

बैठकले विवरण संकलनका लागि एकैप्रकारका फारम ३२ वटै वडालाई वितरण गरेको छ। खाद्य सामग्री पनि समान रूपमा वितरण गर्ने जानकारी दिएको छ।

‘लक-डाउनपछि खाद्यान्न, ग्यास लगायत सामग्री अभाव हुने हो कि भन्ने धेरैको शंका छ,’ प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्या हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको सहयोगमा सबै महानगवासीको घर–घरमा खाद्यान्न पुर्याउने, आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ।’

महानगरले आफ्नो क्षेत्रभित्र पर्ने छाडा पशुचौपाया, कुकुर, बाँदर, चराचुरुङ्गीलाई पनि आहारको व्यवस्था गर्न ३२ वटै वडालाई निर्देशन दिएको छ।

‘लक-डाउनका कारण मानिस आवागमन नहुँदा र होटल, रेस्टुरेन्ट सञ्चालन नहुँदा सामुदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको अवस्था ध्यानमा राख्दै आहारा व्यवस्था गर्न ३२ वटै वडाले पहल गर्ने निर्णय भएको छ,’ शाक्यले भने। वडाहरूलाई दिइएको सहायता रकमबाटै जनावर र चराचुरुङ्गीलाई पनि आहारा व्यवस्था गरिने उनले बताए।

महानगरले पाँच सय जनासम्म अटाउने क्वारेन्टाइन निर्माणका लागि ठाउँ खोजेको जानकारी दिएको छ। आइतबारबाट सुरू सूचना प्रविधिमा आधारित ‘सर्भिलेन्स प्रणाली’ लाई ३२ वटै वडामा प्रभावकारी बनाउने पनि बैठकले निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here