चन्द्रागिरि नपाले अलपत्र विद्यार्थी र मजदुरलाई घर पु-याइदिने

260

 काठमाडौं – चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पु-याउने व्यवस्था मिलाउने भएको छ ।

विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड-१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।

चन्द्रागिरिका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पु-याउने निर्णय गरिएको जानकारी दिए । ‘लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदुरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ’ उनले भने । चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पु-याउने व्यवस्था गर्न लागेको धारणा राखे ।

चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदुरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिन चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घसंस्थालाई पिपीइ हस्तान्तरण गरिएको जानकारी दिए । काठमाडौं प्रवेशको मुख्यद्वारका रूपमा रहेको चन्द्रागिरिले नागढुङ्गा-कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here