लकडाउन अवधिभर सेयर कारोबार बन्द हुने

53

काठमाडाैं – धितोपत्रको कारोबार सरकारले लागू गरेको लकडाउन अवधिभर नहुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन अवधि ८ दिन थप गरेसँगै सेयर कारोबार पनि रोकिने भएको हो ।
सरकारले थप गरेको लकडान अवधिसम्ममा सेयर कारोबार बन्द गर्ने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । सरकारले पहिलो चरणको लकडाउन सात दिनका लागि गरेकोमा नेप्सेले सोही अवधिसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको थियो । गत मंगलबारदेखि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सोमबारसम्मका लागि कारोबार बन्द गरिएको थियो ।

लकडाउन लम्बिएपछि सेयर कारोबार के हुन्छ भन्नेमा पुँजी बजारका सम्बद्ध निकायहरूको चासो थियो । आइतबार धितोपत्र बोर्डले पत्राचार गरेपछि सोमबार सञ्चालक समिति बैठक बसेर नेप्सेले लकडाउन अवधिमा सेयर कारोबार पनि बन्द गर्ने निर्णय गरेको हो । नेप्सेको निर्णयअनुसार आगामी सातासम्म सेयर कारोबार हुँदैन । त्यसपछिका दिनमा पनि सरकारले लिने निर्णयअनुसार आफूहरू पनि अघि बढ्ने साउदले जानकारी दिए ।

बोर्डले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गरेको थियो । दोस्रो चरणमा बोर्डको निर्देशनमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ अनुसार प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिइ कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्नसक्ने व्यवस्था छ । सोहीअनुसार नेप्सेले सोमबार निर्णय गर्दै दोस्रो चरणको लकडाउनमा धितोपत्र कारोबार बन्द गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here