कोरोना सामाग्री खरिदमा भएको भ्रष्टाचारबारे विप्लव नेकपाले मुख खोल्यो

142
कोरोनाभाइरसको संक्रमणसँगै पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै सेवामा खटिने घोषणा गर्नुभएको थियो, अहिले के गरिराख्नुभएको छ ?
– हजुर ठिकै भन्नु भयो, अहिले हामी विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरसबारे जनचेतना फैलाउन, जनसेवा र जनश्रम गर्न गाउँगाउँमा गएका छौं । कतिपय ठाउँमा स्थानीय निकाय, जनप्रतिनिधि र सुरक्षाकर्मी सँगसँगै जनचेतनासँगै स्वास्थ्य सामाग्री बितरण गरिरहेका छौँ । त्यस्तै जनस्वास्थ्यकर्मीको तर्फबाट आवश्यक औषधिको तयारी र उपचारको ब्यवस्थापन गर्ने तयारीमा पनि लागेका छौँ ।
देश र जनतालाई ठूलो संकट आउने सम्भावना नजिकिँदै गर्दा यसको सामना कसरी गर्नेभन्नेबारे केही योजना तथा कार्यक्रम बनाउनुभएको छ ?
– यसमा हाम्रो तर्फबाट बृहत ढंगले सोँचिरहेका छौँ । मुलतः यसमा राज्य जिम्मेवार हुनुपर्छ । हामीमाथि लगाएको कथित प्रतिबन्ध यथावतै छ । यदि हामी खुलेर लाग्न पाएको भए ठूलो जनशक्ति परिचालन गर्ने थियौँ । सरकारले लकडाउन त गरेको छ तर जनताको दैनिक जीवनको बारेमा केही पनि सोँचेको छैन र लकडाउनको महत्व र त्यसको सहि पालना गराउन सकेको छैन । जनता सिमानामा र बिदेशमा अलपत्र छन् । उद्दारको कुनै कार्यक्रम ल्याउन सकेको छैन । देशमा अहिले बृहत् एकताको खाँचो छ तर सरकारले सर्वदलीय र सर्वपक्षीय सहमति गरेको छैन । बरु केद्रदेखि स्थानीय स्तरसम्म कोरोना नियन्त्रणका नाममा जनप्रतिनिधि भनाउँदाहरुले छद्म काम गर्ने र कसरी पैसा कमाउने भन्नेतर्फ लागेको देखिन्छ । कोरोना पहिचान भएका बिरामीको हेरचाह राम्रोसँग नभएको गुनासो छ ।
नीजि क्षेत्र, परोपकारको नाममा खोलिएका नाफाखोर संस्था र एनजिओ र आइएनजिओको भुमिका शून्य जस्तै छ । यस्तो बेलामा पार्टीका तर्फबाट जनतालाई विश्वस्थ पार्ने र जनताको जीवन रक्षामा सिङ्गो पार्टी पंक्ति परिचालन गर्ने सोँचाई बनाएका छौँ । यसको लागि राजनीतिक प्रपोगण्डाभन्दा पनि बृहत राष्ट्रिय एकता चाहिएको छ र त्यसैमा केन्द्रीकृत भएका छौँ ।
अहिलेसम्मको विवरण हेर्दा कोरोना नियन्त्रण गर्न चीन सफल जस्तो र अमेरिका र युरोप असफल भएजस्तो देखिँदैछ, यसो किन भएको होला ?
– हो ठिकै भन्नुभयो, सुरुमा अमेरिका र युरोपेलीलगायतका पुँजीवादी साम्राज्यवादी देशहरूले यसलाई चिनियाँ मामिला भनेर पन्छिए । अहिले आफू संकटमा परे र चीनले यसमा बिजय पायो । त्यतिमात्र नभएर अहिले इटाली पहिलो र अमेरिका दोश्रो संक्रमित देशको सूचिमा आएको छ । आज मात्रै मेरो अमेरिकामा रहने साथीहरूसँग कुरा हुँदा उहाँहरुको भनाईमा अमेरिकामा करिब डेढ लाखभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या २५ सय नजिक पुगेको छ भन्ने थियो । अमेरिकामा मात्रै करिव बीस प्रान्तमा फैलिएको छ भने संसारका करिब एकसय ८० भन्दाबढी देशमा यो भाइरस फैलिएको छ । यसमा करिब बाइस देशमा चाइनाले आफ्नो देशबाट औषधि र स्वास्थ्यकर्मी खटाइएको छ भने अन्यत्र पठाउने तयारी गरिरहेको छ । अमेरिका भने पहिला ‘चाइनिज भाइरस’ भन्दै उदासिन देखियो भने अहिले आफ्नै देशको संकट हल गर्न नसकेर हैरान छ । यस्तो किन भएको हो भने चीनमा कम्युनिस्ट आदर्शको नभएपनि आफ्नै मौलिकताको समाजवाद छ भने अमेरिकामा पुँजिवाद छ ।
चीनमा समाजवाद भएकोले कोरोना नाफा घाटाको बिषय बनेन र सिङ्गो राष्ट्र एकताबद्ध भएर सामना गर्याे । उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लियो र बिदेशी नागरिकलाई समेत विभेद नगरी उपचार गर्याे । तर, अमेरिकाले यसलाई ब्यापारको बिषय बनायो । किनकि पुँजिवाद भनेको जनताको सेवामा होइन मुनाफामा चल्ने राजनीतिक प्रणाली र संस्कृति हो । त्यहाँ मानवियता भन्ने हँुदैन, स्वार्थ मात्रै हुन्छ ।
चिनियाँ उद्योगपतिहरु आफै यसमा सक्रिय भए तर संसारका धनीहरु अमेरिकाका कहाँ हराए ? विचारणिय कुरा छ । बरु अमेरिकी र युरोपेली फटाहा पुँजीवादीहरु अहिले पनि जनतामा बाइबल बाँड्दै हिडेका छन्, जबकि जनतालाई औषधि चाहिएको छ । योजस्तो पाखण्डीपन के हुन्छ जनताको लागि । त्यसकारण विश्व महाशक्ति भनेर संसारभरी सैन्यशक्तिको दम्भ देखाउने अमेरिका र त्यसकै शिबिरका युरोपेली राष्ट्रहरु ब्यक्ति केन्द्रीकृत पुँजिवादकै कारण असफल भएका हुन । तसर्थ चीनको सफलता समाजवादको हो भने अमेरिका र युरोपको असफलता पुँजिवादको हो ।
मौलिक खालको समाजवादको अभ्यास गरिरहेका चीन, उत्तर कोरिया, क्युवा, भेनेजुला र रुसमा कोरोनाको प्रभाव तुलनात्मक रुपमा कम देखिनुलाई राजनीतिक सत्तासँग जोडेर हेर्न सकिन्छ ?
– बिलकुल हो । अमेरिकाले आफ्नै जनतालाई नाकाबन्दी गरेर देश भित्रिन दिएको छैन, नाकै जोडिएको क्युवाले उताका संक्रमितलाई समेत ल्याएर उपचार गरिरहेको छ र उद्दार पनि गरेको छ । चीनले त अब संसारलाई नै नेतृत्व गरिसक्यो भनौं अब । पहिले ‘चिनियाँ भाइरस’ भनी जोक गरेका अमेरिकाका ब्यापारिक पृष्ठभूमिका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत लाचारी पन देखाउँदै चीनसँग मिलेर काम गर्छु भनिसके । हाम्रोभन्दा सानो भूगोल र जनसंख्या भएको उत्तरकारिया यसबाट ढुक्क छ । तर भारत र नेपालमा हेर्नुस् त लकडाउनको नाममा पुलिसले जनतालाई लठ्ठी बजारेका छन् । यो घटनाले भारत र नेपालको सुरक्षा निकाय, त्यसमा पनि पुलिस बिश्वमै बदनाम भएको छ । भारतमा कोरोनाको बहानामा लुटपाट भएको छ । जनताहरु सडक र बसपार्कमा अलपत्र छन् । नेपालमा जाबो मास्कमा समेत कालोबजारी भएको छ । कमिशनका खेल चलेका छन् ।
अर्थ मन्त्रीले अमेरिकी सहयोग गुहारेका छन् । किनकि युवराज खतिवडा भनेका एडीबी र बिश्व बैंकका एजेण्ड हुन् । रामशरण महत पछिका पश्चिमा साम्राज्यवादीका एजेण्ड हुन खतिवडा । नेताहरुको कुरा त्यहीँ छ । टेलिभिजनमा बिज्ञापन गर्दै हिडेका छन् पुँजीवादीहरु चुनावप्रचार गरेझैं । पुँजिवाद र पुँजीवादी शासकहरु भनेका त जनताको मजबुरीको फाइदा उठाउने तत्वहरु हुन । चीन, उत्तरकोरिया, रुस, क्युवालगायतका समाजवादी बिशेषताका देशका नेताले र जनताले त्यस्तो कहीँ गरेको देख्नु भयो ? त्यसकारण जनतामा रोग, भोग र शोक राजनीतिक सत्ताका कारण पैदा हुन्छ । पुँजिवादीहरुले जनताको स्वास्थ्यमा ब्यापार गर्छन् ।
ब्यक्तिवाद चरम हुने भएकोले पुँजीवादी देशका जनतामा एक अर्कोलाई निःस्वार्थ सहयोग गर्ने भावना हुँदैन । चीनमा राज्य नियन्त्रीत पुँजीवादी चरित्रको समाजवाद भएतापनि वुहानबाट उपचारमा सहयोग गर्न अन्य देशमा स्वास्थ्यकर्मी पठाउँदा जनताले भावुक भएर रुँदै बिदाई गरे, यस्तो कुनै पुँजीवादी देशमा हुन्छ ? हुँदैन । त्यसकारण रोग, भोग र प्राकृतिक प्रकोप राजनीतिक सत्तासँग सम्बन्धित हुन्छन् र यो कोभिड–१९ नामको कोरोनाभाइरसको प्रभाव र त्यसको रोकथाम पनि राजनीतिक सत्तासँग नै जोडिएको छ । यसलाई सत्ताभन्दा अलग गरेर हेर्न मिल्दैन ।
कोरोनाभाइरस अमेरिकी सेनाले जैविक हतियारको रुपमा विकास गरेर अन्तर्राष्ट्रिय मिल्ट्री गेमको बेला वुहानमा छोडेको भन्ने पनि चर्चाको विषय बनेको छ, तपाईँलाई के लाग्छ ?
– यो चर्चामा आइरहेको छ । अहिले संसारका धेरै देशमा अमेरिकी सेना छन् । दक्षिण एसियामा मात्रै दस हजार अणु बम बिछ्याइएको छ अमेरिकाले भन्ने छ । अमेरिकी सेनाले हतियार सफा गर्दा निस्किएको ग्यासको प्रभाव भन्ने कुरापनि आएको छ । दक्षिण कोरियामा चर्चबाट यो धेरै फैलिएको भन्ने छ । क्रिश्चियन मिसन पनि पश्चिमा कै हो । अहिले बाइबलको सबैभन्दा बढी खेती उनिहरुले नै गरिरहेका छन् । चीनको विदेश मन्त्रालयका प्रबक्ता झाओ लिजियानले सार्वजनिक रुपमै अमेरिकी सेनाले कोरोनाभाइरस वुहान भित्र्याएको बताइसकेका छन् । यो बिषयमा बोलेको छ र इरानलगायतका केही देशले त यसमा दावी नै गरेका छन् । यसको पहिचान चाइनाबाट भएतापनि उत्पत्ति कुन देशबाट भयो भन्ने बिषयमा स्वास्थ्य बिज्ञानको क्षेत्रमा बहसकै बिषय छ ।
संसारमा आफ्नो प्रभुत्व कायम राख्न र बिस्तार गर्न पुँजीवादी साम्राज्यवादीहरुले यस्ता थुप्रै मानवता विरोधी हर्कतहरु गर्ने भएकोले यो पनि नगरे होलान भन्न सकिँदैन । पूराना जनताविरोधी तथा युद्धरुपी सबै षड्यन्त्र फेल भइसकेकोले युद्धका नयाँ रुपको विकास गर्नु साम्राज्यवादको चरित्र हो । त्यहीअनुसार नै कोरोनाभाइरसको विकास गरेको हुन सक्छ । चीनले सार्वजनिक रुपमा अमेरिकी सेनाले ल्याबहरु बन्द गरेकोलगायतका विषयमा जवाफ माग्दा पनि नबोल्नुले पनि कोरोनाभाइरस अमेरिकाले नै बनाएको हो भन्न सक्ने आधार छ ।
चीनका राष्ट्रपति सी जिनफिङ र रुसी राष्ट्रपति पुटिनले कोरोनाभाइरस प्रभावित व्यक्ति र स्वास्थ्यकर्मीलाई आफैले भेटेर अवस्थाबारे जानकारी लिएको फोटोहरु सार्वजनिक भइरहेका छन् तर नेपाललगायतका देशका सरकार वा राष्ट्रप्रमुख भने लुकेर बसेका छन् । यसलाई कसरी हेर्न सकिन्छ ?
– नेपालका नेताहरुता आफै रोगले ग्रस्त छन्, यीनहरुलाई केको जनताको चिन्ता भयो र ! जनताको बजेट खर्च गर्ने र कमिशन आउने ठाउँ बाहेक अन्त यिनीहरु जाँदैनन् । अहिले त झन् लकडाउनमा सडकमा गरिबका छोराछोरी पुलिसलाई लठ्ठी बजार्नलगाएर आफुहरु हाइसुख्ख भएर बसेका छन् । बिदेशीले दिएको अनुदान सहयोग कहाँबाट कति आउँछ र खाम्ला भनेर र्‍याल निकालिरहेका छन् ।
जहाँसम्म सी जिनफिङ र भ्लादिमिर पुटिनको कुरा गर्नुभयो, यो त यहाँका दलालहरुसँग तुलनायोग्य सवाल नै हैन । अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘साउण्ड माइन्ड इज द साउण्ड बडी’ स्वस्थ र सहि विचार भएका नेताहरूलाई कोरोना रोगले छुँदैन । आफ्नो मात्रै चिन्ता गर्ने लोभी र पापीहरुलाई घरभित्रै बाकसमा पसेपनी त्रासले खान्छ । यिनीहरु त भूकम्प र बाढी आएको भए हेलिकप्टरमा घुम्थे होलान्, किनकि त्यतिबेला जनता मात्रै मर्छन्, अहिले त आफूपनि मरिने भएकोले सबैभन्दा सुरक्षित क्वारेन्टाइनमा बसेका छन् । जनतालाई सडकमा छोडेका छन् । यहीँ हो दलाल पुँजिवादीहरुको राजनीतिक चरित्र ।
चीन, क्युबाले आफू कोरोनासँग लड्दैछन् तर स्वास्थ्यकर्मीसहित यूरोपलगायतका देशहरुमा सहयोग पनि गरिरहेका छन् । उता अमेरिका कोरोनालाई कोरोनाले हाम्मेहाम्मे बनाइरहेको छ, चिनियाँ भाइरस हो भन्‍नमै बल गरिरहेको देखिन्छ । यसलाई कसरी लिन सकिन्छ ?
– चीन र क्युबाले गरेको कार्य सह्रानीय छ र मानवीय छ । कोरोनाले जनतालाई समाजवाद र पुँजिवाद ब्यवहारमा बुझ्‍ने अवसर दिएको छ ।  अमेरिकाको हर्कत, यो साम्राज्यवादीहरुको आफ्नो असफलता र अभसक्षमतालाई ढाकछोप गर्ने रोइलो सिवाय केहि पनि होइन । अमेरिका मात्रै नभएर पुँजीवादी साम्राज्यवादीहरुको छाता संगठन संयुुक्त राष्ट्रसंघले समेत सुरुमा चाइनिज मामला भनेर बेवास्ता गर्याे । अहिले बल्ल आफूमा परेपछि चेत खुलेका छन् । अहिले यस्तो बेला बिना कुनै सीमा सिमाङ्कन नराखी बिश्व मानव समुदायको साझा रोग कोरोनाबिरुद्ध एकजुटभै लड्नु पर्नेबेला साम्राज्यवादी पुँजीवादीहरु नाफा घाटाकै कुरा गरेर बस्नु राजनीतिक प्रणाली र बिचारकै असफलता हो । मानव समाजको बिगत इतिहासलाई हेर्दा पनि यस्ता खाले विपतहरुले सिङ्गो मानव सभ्यतालाई नै परिवर्तन गरेको पाइन्छ ।
अहिले पनि कोरोनाको कारण बिश्वब्यापीरुपमा समाजवाद कि पुँजिवाद भन्ने बहस अगाडि आएको छ । बिश्व वौद्धिक समुदाय, अर्थशास्त्री र समाजशास्त्रीहरुका बीच पनि अहिले यो बहसले प्रवेश पाएको छ भने नेपालमा झन् दलाल संसदीय पुँजिवादको असफलता नाङ्गो रुपले देखा परेको छ । समाजवादी मुलुक बाहेक पुँजीवादी देशहरूले अहिले अन्य देशका नागरिकहरुको पूरै बेवास्ता र अपमान गरिरहेका छन् । पुँजीवादीहरुले भट्याउने गरेको कथित मानवअधिकारको सक्कली मुखुण्डो उदाङ्गो भएको छ । त्यसकारण अब संसारभरी राष्ट्रिय मुक्ति आन्दोलन र वैज्ञानिक समाजवादी क्रान्तिको लहर चल्ने उज्ज्वल सम्भावना देखा परेको छ । यसमा संसारभरिका कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भई समाजवादको अपरिहार्यतालाई अनिवार्य र सम्भव बनाउन जरुरी छ । यसमा चीनले आफ्नो भूमिका र समाजवादको सही सारलाई बिश्वब्यापी बनाउने कुरामा अगुवाइ गर्नुपर्छ । राज्य नियन्त्रीत समाजवादलाई चिनले जननियन्त्रीत समाजवादमा रुपान्तरण गरी मरणासन्न पुँजिवाद जसलाई उत्तर साम्राज्यवाद भनिन्छ लाई परास्त गरी बिश्वमा वैज्ञानिक समाज स्थापना गर्ने लक्ष्य राख्ने जनता र शक्तिसँग सहकार्य गर्नुपर्छ । अहिले कोरोनाले सबैले बुझ्नेगरी पुँजिवाद र समाजवादबीचको फरक छुट्याइदिएको छ ।
नेपालका नीजि अस्पतालहरुले कोरोनाका बिरामीको उपचार नगर्ने सार्वजनिक रुपमा भनिरहेका छन्, यतिसम्मकी रुघाखाकी र ज्वरोका बिरामीलाई उपचार समेत गर्न छोडेका छन्, यस्तो अवस्थालाई तपाईँको पार्टीले कसरी लिएको छ ?
– यस्तालाई कार्वाही गर्नुपर्छ तर कसले ? नीजि अस्पताल भनेका दलाल पुँजिपतिहरुका हुन् । सरकार यिनै दलाल पुँजीपतिहरुको छ । नीजि अस्पतालहरु जनताको सेवाभन्दा पनि नाफाको लागि खोलिएका हुन् । अझ नोकरशाह तथा दलाल पुँजीवादीहरुले कालो धनलाई सेतो बनाउन खोलिएका हुन् । अहिले मुनाफाभन्दा पनि मानव सेवा गर्ने बेला हो । नीजि अस्पताल भनेका सरकारको नियन्त्रणमा छैनन् बरु यिनले सरकारलाई नियन्त्रण गर्छन् । यस्तो बेलामा सरकारले निजी अस्पताल र शिक्षण संस्थाहरुलाई क्वारेन्टाइन बनाउनु पर्थ्यो । अब जनताले पनि बुझ्नु पर्छ कि आखिर सरकारी अस्पताल नै चाहिने रहेछ । धनीले जनताको जिउको ख्याल गर्दैनन् । पैसा ल्याओ, तमासा देखाओ ! जसका छनछनी उसका फनफनी भन्ने सिद्धान्त हुन्छ पुँजीवादीमा । अहिले त्यस्तै भयो । यदि जनताको सरकार हुन्थ्यो भने कार्वाही गर्ने थियोे । तर, नेपालका दलाल शासकहरुसँग त्यो नैतिकता नै छैन । किनकि यिनीहरु नै अन्‍न दाता हुन् । भोलि चुनावमा पैसा दिने नै यिनै हुन् । यदि समाजवाद हुन्थ्यो भने जनताले यो समस्या भोग्नु त परै जावस् देख्नु पनि पर्ने थिएन । पुँजीवादी देश हो र पनि स्पेनले देशका जम्मै नीजि अस्पताल राष्ट्रियकरण गर्याे । यो आँट यहाँका दलालहरुले गर्न सक्ने कुरै भएन ।
त्यसकारण हाम्रो पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको छ । यदि नीजि अस्पतालले अन्तसम्म पनि यस्तै रबैया अपनाए र सरकार यसमा मुकदर्शक भयो भने हाम्रो पार्टीले यसलाई कार्वाहीको बिषय बनाउने छ । हाम्रो आग्रह छ कि निजी अस्पतालहरुले उपचारको सवालमा जनताको स्वास्थ्यमा खेलवाड नगरुन् ।
विगतदेखिनै तपाईँको पार्टीले भ्रष्टाचारीविरुद्ध संघर्ष गर्दै आइरहेको छ, कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिदमा करोडौं कमिसन तथा भ्रष्टाचारको खेल भएको सार्वजनिक भएको छ, यसलाई कसरी लिनुभएको छ ?
– यो अत्यन्तै खेदजनक र भत्सर्ना योग्य सवाल हो । यसलाई हामीले निकै गम्भीरताका साथ हेरिरहेका छौं । भूकम्प पीडितको नाममा जसरी देश अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो । अहिले कोरोनाको सवालमा पनि त्यसो नहोस् भन्न चाहन्छौं हामी । एउटा राष्ट्रिय अनुसन्धान केन्द्रका महावीर पुनले डाक्टरले लगाउने स्वास्थ्य सामाग्री निःशूल्क दिने घोषणा गर्ने तर सरकारले जनताको बजेटमा करोडौं कमिशन खाने कुरा जनताको लागि सह्यै बिषय होइन । यदि यस्तो भएको प्रमाणित भएमा यो महामारीको नियन्त्रण पछि त्यस्ता भ्रष्टाचारी र कमिशन खोरहरुलाई हाम्रो पार्टीले जनकारबाही गर्नेछ ।
भूकम्पको बेला त्रिपाल र जस्ता पातामा कमिसन खानेविरुद्ध संघर्ष गर्नुभएको थियो, अहिले थर्माेमिटरमा कमिसन खानेलाई के कारवाही गर्नुहुन्छ ?
– यीनका बिरुद्ध पनि शसक्त प्रकारको जनकारबाही हुनेछ । जनताका बिचमा नाङ्गोझार पारिने छ । यसमा जनता पनि सचेत हुनुपर्नेछ । किनकि स्थानीय निकायका जनप्रतिनिधिले समेत अहिले छदम रुपले बजेट खाने सुरसार गरिरहेका छन् । यसमा हामीले पनि निगरानी गरिरहेका छौँ ।
अन्तमा सरकारले घोषणा गरेको राहत प्याकेजलाई कसरी लिनुभएको छ ?
– यो त सरकारले औपचारिक पूरा गरेको मात्रै हो । राहत भन्दै घोषणा गरिएका कार्यक्रमले लकडाउनले निम्त्याएको संकटसँग जुध्न नागरिकलाई सहयोग गर्ने छैन र घोषणा गरिएका कार्यक्रम कार्यान्वयन नै हुने हामीले देखेका छैनौं । थर्मोमिटर र मास्कमा कमिसन खानेहरुले नागरिकलाई राहत दिनन्छन् भन्नेमा हामीलाई विश्वास नै छैन । यो उनिहरुले घोषणा गरेका कार्यक्रमबाटै थाहा हुन्छ । साबुन पानीले हात धुनुस् भन्दै विज्ञापन गर्छन् तर जनताले साबुन पाएकै छैनन् । किनकि विज्ञापन गर्दा नाफा हुन्छ र कमिसन आउँछ तर जनतालाई साबुन बाड्दा कमिसन आउँदैन । खाद्यान्नमा १० प्रतिशत छुट दिने भनिएको छ, दैनिक ज्यालादारीमा जीवन गुजरा गरेका नागरिकले कसरी खाद्यान्न किन्न सक्छन् । यस्तो पनि राहत हुन्छ । घोषणा गर्न भारतका शासकहरु जति पनि जिम्मेवारी भएनन् नेपालका दलालहरु । कोरोनालाई ब्यापारको साधन बनाउन खोजिँदैछ ।
के हुनु पर्छ ?
– अहिले त खाद्यान्न आपूर्तिमा सहज गराउनु पर्याे, श्रमिकको र गरिवको दैनिकी चल्नेगरी छुट्टै राहत दिनु पर्याे, सबै स्थानीय निकायमा हेल्प डेस्क राख्नु पर्याे, जनतालाई दैनिक उपभोग्य बस्तुसँगै मास्क, सेनेटराइज, साबुन पाएका छैनन् त्यो व्यवस्था गर्न परो, सरकारी साधन प्रयोग गरेर जनताको घरदैलोमा डेलिभरी सेवा दिनुपर्याे । सुरक्षामा खटिने प्रहरी र स्वास्थ्यकर्मीलाई सुरक्षित पोसाकको ब्यवस्थापन गर्नुपर्याे । जनताको दैनिक जीवनलाई असर नपर्ने गरी लकडाउनलाई ब्यवस्थित गर्नुपर्याे । सिमाना र बाटोमा अलपत्र जनतालाई सुरक्षित ठाउँमा पुर्याउनु पर्याे ।
कोरोनाको संक्रमित आशंका गरिकाहरुलाई अछुत व्यवहार गरिएको छ, अस्पताहरुले उपचार गर्न मानेका छैनन् । एउटै बिरामी दश अस्पताल धाएर पनि उपचार नपाएको सार्वजनिक भइरहेकै छन् । यसले नागरिकलाई सरकार नै नभएको अनुभूति भइरहेको छ । कोरोना संक्रमित र क्‍वारेन्टाइनमा राखिएकाहरुको सम्पूर्ण खर्च राज्यको जिम्मा लिनुपर्छ ।
लकडाउनमा घर बाहिर निस्केको बहानामा प्रहरीले नागरिकमाथि जारी राखेको आतंक बन्द गर्नुपर्छ । चुलो बल्न छोडेपछि बाध्य भएर घर बाहिर निस्केका नागरिकमाथि प्रहरीले निर्घात कुटपीट गरेका घटाना सार्वजनिक भइरहेका छन् । दोषीलाई तुरुन्त कारवाही गर्दै घर बाहिर किन निस्कन बाध्य भएर बुझेर सम्झाई बुझाई गरेर फर्काउनुपर्छ ।
जनताको घर दैलोमा पुगेर जनचेतना फैलाइरहेका हाम्रो पार्टीका नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तारी जारी छ । यो अमानवीय छ, तुरुन्त बन्द गरिनुपछ ।
अनि नेपालका जेलमा क्षमताभन्दा बढी बन्दी कोचाकोच गरेर बसिरहेका छन् । उनीहरुलाई कोरोनाबाट सुरक्षित गर्न आस्थाका बन्दीसहित गम्भीर अपराध गरेका बाहेक सबैलाई तुरुन्त रिहाई गरिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here