लिभरपुल र एट्लेटिकोविरुद्धको खेलाउनु गलत – स्वास्थ्य निर्देशक

58

एजेन्सी – च्याम्पियन्स लिगको खेलका लागि लिभरपुलले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई एन्फिल्डमा निम्त्याउनु कोरोना भाइरसको संक्रमण बढ्नुको मुख्य कारण भएको लिभरपुल काउन्सिलका स्वास्थ्य निर्देशक माथ्यु एस्टनले जनाएका छन्।

बुधबारमात्र कार्यभार ग्रहण गरेका एस्टनले लिभरपुलमा कोरोना संक्रमणको संख्या बढेर २ सय ६२ जनामा पुग्नुको मुख्य कारण यसलाई समयमै गम्भीर रूपमा नलिनुलाई लिएका छन्। ‘त्यो बेला खेल गराउने निर्णय सही थिएन,’ एस्टनले गार्जियनलाई भनेका छन्, ‘यो परिस्थितिको गम्भीरतालाई बुझ्न नसक्नुको परिणाम हो। सरकारी नीति पनि प्रभावकारी हुन सकेन। सरकारले तत्काल ठूलो जमघट हुने सबै खेल गतिविधि रोक्नुपर्ने थियो, तर त्यसो गरिएन।’

च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो लेगअन्तर्गत मार्च ११ मा एन्फिल्डमा भएको खेलमा कूल ५४ हजार दर्शक रंगशालामा उपस्थित भएका थिए। जसमा तीन हजार भ्रमणकारी समर्थक पनि थिए। उक्त खेलमा लिभरपुलले ३-२ को पराजय भोगेको थियो। खेल हुनुअघिसम्म लिभरपुलमा ६ जनामामात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। जबकि मड्रिड त्यो बेलासम्म कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बनिसकेको थियो। उक्त दिन ला लिगाले स्पेनमा सबै खेल बन्द रंगशालामा दर्शकको उपस्थितिबिना गराउने निर्णय गरेको थियो। स्पेन सरकारले अघिल्लो दिन स्कुलहरू बन्द गर्ने निर्णय गरेको थियो।

‘तर, इङल्यान्डमा भने अझैसम्म पनि सामान्य जनजीवनमा कुनै रोकतोक लगाइएको छैन, जुन खतरनाक कुरा हो,’ एस्टनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here