कोरोनाविरूद्व लड्नका लागि बनाइएको बाँकेको आकस्मिक कोष ‘रित्तै’

14

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बनाइएको जिल्लास्तरीय आकस्मिक कोषमा अहिलेसम्म  कसैले रकम जम्मा गरेका छैनन्।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, विभिन्न गाउँपालिकाका प्रमुख, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव लगायतको उपस्थितिमा बनाइएको आकस्मिक कोषमा सबै स्थानीय तह, संघ, जिल्ला समन्वय समितिबाट जम्मा गर्ने रकमसमेत ‘फिक्स’ गरिए पनि अहिलेसम्म कसैले जम्मा गरेका छैनन्।

सरकारले लकडाउन गर्नुअघि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा बसेको बैठकले आकस्मिक कोष बनाउने र त्यसबाट कोरोनाविरुद्धको पूर्वतयारी, क्वारेन्टाइन लगायत काममा खर्च गर्ने भनिएको थियो।

कोषमा नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला समन्वय समितिले ३०/३० लाख, कोहलपुर नगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले २०/२० लाख, अरु ६ वटा पालिकाले १०/१० लाख जम्मा गर्ने भनिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाले आफैले अगुवाई गरेकाले कोषमा रकम जम्मा गरेपनि अरु कसैले पैसा दिएका छैनन्। नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले पालिकाहरुले आफैले काम गरिरहेको जनाएर पैसा जम्मा गरेका छैनन् भने संघले पत्र नै पठाएर त्यति पैसा दिन नसक्ने जनाएका छन् ।

नेपालगञ्जका मेयर राणाले सक्रियता नदेखाएकाले कोष रित्तो हुन पुगेको अरुको गुनासाे छ। यो बाहेक उद्योगी, व्यापारीलाई, समाजसेवीहरुलाई आग्रह गरेर कोषमा पैसा थप्ने कुरा भएको थियो। त्यो पनि हुन सकेको छैन।

जिल्लास्तरीय आकस्मिक कोष रित्तो भएपनि नेपालगञ्जमा बनाइएको क्वारेन्टाइनमा बसेकालाई खानपिनको व्यवस्थापन गर्नुपर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले विपद व्यवस्थापन उद्धार कोष बनाएर सहयोग गरिरहेको छ।

यो कोषमा राप्ती गणेश कन्स्ट्रक्सनका सञ्चालक ओमनारायण शाहले एक लाख रुपैयाँ दिएका छन्। उपमेयर थापाले अरु उद्योगीहरुलाई पनि सहयोगका लागि अनुरोध गरेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here