संयुक्त राज्य अमेरिकामा ५०० नेपालीमा कोरोना सङ्क्रमण

131

वासिङ्टन डिसी – अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरस९कोभिड–१९० को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा जनाउन कसैले पनि सकेका छैनन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको जनाएका छन् । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको जनाए । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको जनाए । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको जनाए । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनले भने । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन् । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ९एनआरएनए० का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको जनाउँछन् । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको धारणा छ । रासससँग कुरा गर्दै पौडेलले भने, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत जनाएका छन् ।

अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिनुभएको जानकारीअनुसार उहाँहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भने, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको धारणा  छ ।

नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।

 रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here