भारत सीमावर्ती क्षेत्रमा २२ सय ८० सशस्त्र प्रहरी परिचालन

22

काठमाडाैं भारतसँगको सीमावर्ती तराईका जिल्लाहरूमा २ हजार २ सय ८० जना सशस्त्र प्रहरी परिचालन भएका छन्। सीमा नाका आवागमनमा कडाइ गर्न भन्दै आज सशस्त्र प्रहरी बलको मुख्यालयले उक्त सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरेको हो।

लकडाउनको बेलामा पनि भारततर्फबाट विभिन्न सीमा नाका हुँदै आवागमन पूर्ण रूपमा नरोकिएपछि सशस्त्र प्रहरी परिचालन भएको हो। सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक प्रविनकुमार श्रेष्ठले परिचालन गरिएको टोलीमा नयाँ सशस्त्र प्रहरीलाई पनि सामेल गरिएको  जनाए ।

‘भारत सीमावर्ती क्षेत्रमा आजदेखि पठायौं, विभिन्न स्थानमा रहेको बाहिनीको टोली त छँदैछ’, प्रवक्ता श्रेष्ठले भने, ‘विभिन्न शिक्षालयमा रहेका टोलीमा रहेकाहरू पनि भए नै, नयाँ जवान पनि तयार भएको छ, उनीहरूलाई पनि हामीले परिचालन गरेका छौं।’ तर, सीमावर्ती भए पनि नियमित रूपमा अत्यावश्यक सामग्री ओसारपसार गर्न खुला राखिएका नाकाहरूमा भने सशस्त्र प्रहरीले गस्ती गर्ने छैनन्। त्यसबाहेकका नाकाहरूलाई लक्षित गरेर मात्रै सशस्त्र प्रहरीले गस्ती गर्ने छन्।

लकडाउनलाई उल्लङ्घन गर्दै भारतबाट नेपालमा प्रवेश गरे सशस्त्र प्रहरीले नियन्त्रणमा लिने छन्। यससँगै सम्भावित घुसपैठलाई नियन्त्रण गर्न, सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र जङ्गे पिलरको सुरक्षा गर्न भूमिका निर्वाह गर्ने पनि सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले भने ।

सशस्त्र प्रहरीले यसअघि नै भारत सीमावर्ती क्षेत्रमा बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना गरेको छ। बिओपीमा रहेका सशस्त्र प्रहरी जनशक्ति पनि सीमा नाकाबाट हुने आवागमन कडाइमा परिचालित हुने  जनाइएकाे छ ।

सुदूरपश्चिमको कैलालीकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको थियो। विदेशबाट आएकाभन्दा बाहेक समुदायस्तरमा पहिलो पटक संक्रमित शनिबार नै फेला परेको हो। त्यसपछि सरकारले कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको उल्लेख ग¥यो। यससँगै सीमा क्षेत्रबाट हुने आवागमनलाई कडाइ गर्न सरकारले सशस्त्र प्रहरीलाई परिचालन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here