कोरोना पछिको नेपालको परिकल्पना

155

 –निमकान्त पाण्डे

कोरोना भाइरसको बिश्वब्यापी संक्रमणले संसारका बिकसित देशहरुको अर्थतन्त्रमा समेत गम्भिर धक्का परेको स्पष्टै छ । अझै कति बिकराल अवस्था आउने हो भन्ने कुराको अनुमान अहिल्यै गर्नु हतारो हुनेछ । हाम्रो देश पनि संसारमा परेको प्रभावबाट अवश्य  बच्न सक्ने छैन । त्यसैले नै नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव नराम्रोसंग पर्ने  निश्चित नै छ ।
  रोजगारीका लागि संसारका बिभिन्न मुलुकहरुतिर पुगेका ४०–५० लाखको संख्यामा रह्का नेपाली युवाहरु स्वदेश फर्किने बाध्यात्मक अवस्था अब सृजना हुने निश्चितै छ । बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु स्वदेश फर्किए पछि उनीहरुलाई देशभित्र ब्यवस्थापन गर्नु नेपालको लागि ठूलो चुनौती हुने पनि निश्चितै छ । रोजगारीको अभावले युवाहरुलाई कस्तो प्रभाव पार्ला भन्ने सवालमा गम्भिर बन्न जरुरी छ ।
रोजगारीमा गएका नेपाली युवाहरु अब नेपालमै रोजगारी खोज्न पर्ने अवस्था बिकसित भएर नेपाललाई  अन्य देशहरुको भन्दा फरक खालको समस्याको सामना गर्न पर्ने अवस्था आउने निश्चितै छ । बिकसित देशहरुमा यो समस्या देखिने छैन । उनीहरुको अर्थतन्त्रमा केही समस्या देखिए पनि आफ्नो देशका जनतालाई रोजगारी के दिने भन्ने समस्या उनीहरु सामु हुने छैन । त्यसैले अरु देशहरु भन्दा फरक समस्याका रुपमा रहेको बेरोजगारी समस्यालाइ अब कसरी समाधान गरेर अगाडि बढ्ने भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुनेछ ।
शक्तिशाली र आर्थिक रुपमा सम्पन्न राष्ट्रहरुले जे गरिरहेका छन् त्यही सिको गरेर हामी माथि उठ्न सक्ने कुरा हुँदैन  । बैदेशिक रोजगारीमा गएका लाखौं युवाहरुले पसिना बगाएर आर्जन गरेको रेमिट्यान्सबाट धानिएको हाम्रो देशको जस्तो अर्थतन्त्रलाई कोरोनाको प्रभाव अकल्पनीय हुने निश्चित छ । त्यसैले हामी समयमै सचेत बन्न जरुरी छ । सचेत बन्नु भनेको समयमै दीर्घकालीन योजना बनाएर तयारी अवस्थामा बस्ने हो ।
आकाश आवागमन सुरु हुनासाथ बिदेशिएका युवाहरु स्वदेश फर्किने क्रम पनि सुरु हुने निश्चितै छ । ती युवाहरु स्वदेश आईपुगेपछि उनीहरुलाई स्वदेशमै रोजगारीको अवशर देखाउन सकियो भने कोरोना संक्रमणको प्रभाव धेरै नकारात्मक हुने अवस्था हामीले सामना गर्नु पर्ने छैन । परन्तु सरकारले यसतर्फ  कुनै सोच बनाएको पाईदैन । युवाहरु स्वदेश फर्किएपछि उनीहरु पुनः बिदेशतिर नै जालान् भनेर सोचियो भने त्यो जति मूर्खता अरु केही हुने छैन ।
हाम्रो देश कृषिप्रधान देश भएकाले कृषिलाई नै रोजगारको केन्द्रबिन्दु बनाएर अगाडि बढ्न उपयुक्त हुन्छ । अहिलेदेखि नै रोजगारी सृजनाका पूर्वाधारहरु तयार गर्नेतर्फ योजना बनाएर कार्यान्वयनतर्फ लागिहाल्न जरुरी छ । यस काममा ढिलो गर्नु भनेको एकैपटक आईपर्ने समस्याको चुनौती सामना गर्न सक्छु भनेर बस्नु नै हो । सरकार यो सवालमा उदासिन बन्नु हुदैन ।
 कोरोना संक्रमणपछि संसारभर खाद्यान्न संकट हुने निश्चित छ । हाम्रो देश कृषि उत्पादन बढाउन सक्ने हैसियतमा पनि छ । बिदेशबाट फर्किएका युवाहरुलाई कृषिकार्यमा आकर्षित गर्न सकियो र कृषि उत्पादन बढाएर निर्यात गर्न सकियो भने बिदेशी मुद्रा आर्जनको आधार तयार हुनेछ र यो नै युवाहरुको आकर्षणको केन्द्र पनि बन्ने छ । बिदेशमा सिकेको सिप आफ्नो देशमा उपयोग गर्न पाइयो र त्यसैबाट अम्दानी पनि गर्न सकियो भने त्यो जति आनन्ददायक अवशर युवाहरुका लागि अन्य केही पनि हुन सक्दैन ।
 कोरोना समस्याग्रस्त सम्पन्न देशहरुको सिको गरेर लकडाउनका नाममा पूरा देशलाई नै कैदी बनाएर राख्नु भन्दा संक्रमित स्थानको पहिचान गरी त्यस छेत्रलाई बिशेष निगरानीमा राखेर आवागमनलाई निषेध गरिनु पर्छ । नेपालमा कोरोना संक्रमित छैनन् भन्ने स्पस्ट भैसकेको छ । बाहिरबाट आएका र खुला सिमानाबाट आईरहेकाहरुबाट सृरु भएको संक्रमणलाई नियन्त्रणमा राख्न सम्पूर्ण देशलाई लामो समयसम्म अस्तब्यस्त बनाईरहनु पर्ने कुनै कारणबाट पनि औचित्यपूर्ण छैन । त्यसैले अनावश्यक रुपमा भैरहेको समयको बर्वादीलाई सदुपयोग गरेर कृषिमा रोजगारी सृजना गर्ने तयारीमा सरकार लागिहाल्नु बुद्दिमानी ठहर्नेछ । ताकि युवाहरु स्वदेश आउदा बित्तिकै उनीहरुले बिदेशमा भन्दा देशभित्र रोजगारीको अवशर देख्न सकुन् । आगे सरकारलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here