प्रकाण्ड्द्वारा जनसम्बन्ध थप सुमधुर बनाउन पार्टीपङ्क्तिलाई आह्वान

77
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कोरोना भाइरसको महामारीबाट चिन्तित, निराश र आतङ्कित भएर स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पर्न गएका आमनेपाली जनतामा पुगेर जनचेतना अभिवृद्धि गर्ने, कोरोना भाइरससम्बन्धी स्वास्थ्य नियम एवम् अनुशासन पालना गर्न अभिप्रेरित गर्ने, समस्यामा परेका जनतालाई मद्दत गर्ने, घर एवम् गाउँलाई एकान्तबासका रूपमा विकास गर्न जनताको नेतृत्व गर्ने, जनतासँग एकाकार हुने र जनसम्बन्ध थप सुमधुर बनाउन सिङ्गो पार्टीपङ्क्तिलाई विशेष आह्वान गरेका छन । उनले महामारीले निम्त्याएको महासङ्कटको साहस, विवेक, धैर्य र आत्मअनुशासित भएर सामना गर्न आमनेपाली जनतामा पार्टीको तर्फवाट विशेष अपिल समेत गरेका छन ।
प्रवक्ता प्रकाण्डले भित्रभित्रै मक्किसकेको उत्तरसाम्राज्यवाद र विश्व–पुँजीवादको सक्कली अनुहार कोरोना भाइरसको महामारीले एकै धक्कामा विश्वसामु अनावरण गरिदिएको बताएका छन । उनले यो उत्तरसाम्राज्यवादी एवम् पुँजीवादी विश्व–व्यवस्था, त्यसको नेतृत्व र राज्यसत्ताको सङ्कट, अक्षमता र असफलताको परिणति भएको ठोकुवा अर्दै विज्ञान र प्रविधिका क्षेत्रमा चमत्कारीपूर्ण विकास गरिरहेको एक्काईसौँ शताब्दीको विश्वलाई नेतृत्व प्रदान गर्न, प्रकृति एवम् विकसित विज्ञान प्रविधिलाई विश्व–मानवजातिको सेवामा उपयोग गर्न नयाँ विश्व–व्यवस्थाको स्थापना र विकास अनिवार्य बन्न गएको बताएका छन । उनले त्यो भनेको विश्वका श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने साम्यवादी विश्व–व्यवस्था, शोषित–उत्पीडित जनताको अगुवाइ र सामाजिक क्रान्तिको विज्ञान माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित कम्युनिस्ट पार्टीको नेतृत्व र तत्कालिक राजनीतिक कार्यक्रम र कार्यनीति भने वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना भएको बताएका छन । यो ऐतिहासिक र महान् कार्यका निम्ति विश्वका श्रमजीवी जनता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, प्रगतिशील शक्ति, राष्ट्रिय मुक्तिका पक्षधर शक्ति र सच्चा लोकतन्त्रवादीहरूले आफूलाई तम्तयार राख्नु पर्ने उनको भनाई छ ।
प्रवक्ता प्रकाण्डले विगत दुई महिनादेखि नेपाली जनता कोरोना भाइरसको महामारीसंग जुधिराखेको बताउदै आजका दिनसम्मको अवस्थालाई हेर्दा यसको नियन्त्रण र निर्मूल चुनौतीपूर्ण नै देखिएको र भैराखेका सरकारी प्रयासहरूको अपर्याप्तता र कमजोरीप्रति आमनेपाली जनताको आक्रोश, आलोचना र विरोध बढ्दो मात्रामा रहेको बताएका छन । उनले यही बेला सरकारी पार्टी र सरकारभित्रको अन्तरविरोध ‘सत्ता सङ्घर्ष, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, अध्यादेश र अपहरण प्रकरण’ भएर विस्फोट भएको र विदेशी शक्तिहरूको खेल पनि यी प्रकरणहरूमा समावेश भएको बताउदै यसले नेपाली जनतालाई थप पीडित र कोरोना भाइरसका विरुद्धको सङ्घर्षलाई कमजोर मात्र वनाएको छैन, विषयान्तर गर्ने षड्यन्त्र पनि अन्तरनिहित रहेको बताएका छन । उनले यतिमात्र नभएर यो खेल त सरकारी नेकपाका नेताहरू र सरकारको नेपाली जनताको जीवनमाथिको खेलबाड, गैरजिम्मेवारपन र अक्षम्य अपराध हुन गएको र सङ्कटावस्थामा अन्य बखेडा नझिकीकन सिङ्गो देशलाई एकताबद्ध बनाएर कोभिड १९ रोगका विरुद्ध केन्द्रित हुन जरुरी बताएका छन । उनले यसका निम्ति निम्नकार्यहरूलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन आवश्यक बताएका छन – :
‘१) राष्ट्र र नेपाली जनताको जीवन एवम् अस्तित्वलाई खतरामा पार्ने गरी महामारीको रूप लिइराखेको कोरोना भाइरसलाई नियन्त्रण गर्न सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्नुपर्छ ।
२) कोरोना भाइरसको समस्या नेपालमै पैदा भएको नभएर अन्य देशबाट आयातित महामारी भएका कारण नेपालसँग जोडिने अन्य देशसँगका हवाई, सडक र पैदल मार्ग एवम् नाकाहरूको आवातजावतलाई निर्ममतापूर्वक रोक लगाउने ।
३) सीमा नियन्त्रणलाई बलियो बनाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउने जुन राष्ट्रिय सुरक्षाका निम्ति पनि रणनीतिक महत्वको हुनेछ ।
४) कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटबाट नाजायज फाइदा उठाउन दुस्साहस गर्ने भ्रष्टाचारी, कमिसनखोर, कालोबजारी र राहत वितरणमा पक्षपात एवम् अनियमितता गर्नेहरूलाई सशक्त कारबाही गर्ने ।
५) देशलाई बन्दाबन्दीमा राखेपछि दैनिक ज्यालादारी गरेर जीवनयापन गर्न विवश असङ्गठित र अनौपचारिक क्षत्रेका मजदुरहरूलाई बन्दाबन्दी अवधिसम्म पर्याप्त राहतको व्यवस्था गर्ने ।
६) नेपाली जनताको जीवनरक्षार्थ कोरोना भाइरसका विरुद्धको लडाइँका नेतृत्वकर्ता स्वास्थ्यकर्मीहरू नै हुन् । देशभरिको स्वास्थ्य क्षेत्रको जनशक्तिलाई केन्द्रीकृत र एकीकृत गरी परिचालन गर्नु जरुरी छ । यसका निम्ति स्वास्थ्यकर्मीलाई उच्च गुणस्तरयुक्त स्वास्थ्य सुरक्षा सामग्रीको जुनसुकै मूल्यमा व्यवस्थापन गर्ने विषय प्राथमिक कार्यसूचीमा राख्नुपर्छ ।
७) कोरोना भाइरसको महामारीका विरुद्ध लड्न अर्को महत्वपूर्ण विषय स्वास्थ्य सामग्री र औषधीको व्यवस्थापन एवम् आपूर्ति हो । यसका निम्ति देशको सम्पूर्ण शक्ति र आवश्यक पर्ने बजेटलाई केन्द्रित गर्नुपर्छ । के कुरालाई विशेषगरी ध्यान दिन जरुरी छ भने ‘अर्थतन्त्र जनताको सेवा निम्ति हो न कि अर्थतन्त्रका निम्ति जनता ।’
८) देशको आत्मगत अवस्थालाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल र समन्वयलाई प्रभावकारी बनाउने ।
९) मुलुकमा विद्यमान स्वास्थ्य संरचनालाई कोरोना भाइरसविरुद्ध मोर्चा लिनसक्ने तहसम्म सर्वाङ्गीण विकास गर्ने, प्रत्येक जिल्लामा प्रकृति हेरी २ देखि ३ वटासम्म कोभिड १९ लगायत सरुवा रोग र भाइरसविरुद्ध केन्द्रित आधुनिक अस्पताल स्थापना गर्ने, ‘चुनौतीलाई अवसरमा बदल्ने सिद्धान्त’ को साहसका साथ प्रयोग गर्ने ।
१०) सङ्क्रमित बिरामीको उपचारलाई उच्च प्राथमिकतामा राख्ने, आइसोलेसनमा राखिएका जनताको तीव्र गतिमा जाँच गरी निक्र्योल गर्ने र क्वारेन्टाइनमा राखिएका जनताको परीक्षणलाई तीव्रता दिने । आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित एवम् गुणस्तरीय बनाउने ।
११) एकान्तबासमा राखिएका जनताको अवस्थालाई यथाशक्य निक्र्याेल गरी खतरामुक्त भएकालाई घरमा पठाएर समाजमा सहज वातावरण सिर्जना गर्ने ।
१२) रणनीतिक दृष्टिले उत्पादन र तत्कालिक दृष्टिले उच्च सतर्कताका साथ आपूर्तिलाई व्यवस्थित र सहज बनाउने ।
१३) कोरोना भाइरसबाट आतङ्कित भएर घर जान चाहने जनतालाई सहज वातावरण बनाएर घरगाउँमा पढाउने ।
१४) भारतबाट सिमानामा पुगेर क्वारेन्टाइनमा राखिएका नेपाली जनतालाई सतर्कतापूर्व देश भित्र्याएर क्वारेन्टाइनमा राखी जाँच गर्ने ।
१५) स्वास्थ्यकर्मीलाई विशेष सुविधाको व्यवस्था गर्ने र सुरक्षामा खटिएको जनशक्तिलाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने ।
१६) कोरोनाका विरुद्ध उपरोक्त कार्यलाई अगाडि बढाउन ‘कोरोना भाइरस नियन्त्रण राष्ट्रिय योजना’ तय गरेर तत्कालिक र रणनीतिक रूपमा कार्य सम्पादन गर्ने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here