पूजापाठमा भेला नहुन आग्रह

66

ओखलढुंगा – जिल्लामा हुने विभिन्न चाडपर्वमा भेला हुन रोक लगाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला कमाण्ड पोष्टले विभिन्न समुदायको कुलपूजा, बुद्धजयन्ती तथा गोठधूपमा भेला हुन रोक लगाएको हो ।

कूलपूजा तथा गोठधुपमा हजारौंको संख्यामा भेला हुने, बली दिने तथा सामूहिक पूजाआजा गर्ने तयारी विभिन्न समुदायमा सुरु भएपछि सामूहिक कार्य गर्न रोक लगाइएको हो ।

कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्ला कमाण्ड पोष्टको बैठकले महोत्सव, जात्रा तथा पर्वहरुमा भेला हुन नपाइने निर्णय गरेको जनाकारी दिए । उनले पूजा नगरी नहुने भएमा पूजारी वा एक दुईजनाले गरेर प्रसादी टिका दिन सक्ने भएकाले सामूहिक भेला हुने, काटमार, बली दिन भेला हुने जस्ता कार्यमा रोक लगाइएको बताए ।

कुनै जातीय समुदायको संस्कृतिभन्दा मानव जीवनको रक्षा महत्वपूर्ण भएकाले त्यस्ता पूजा अर्को साल पनि गर्न सक्ने भएकाले सामूहिक भेला हुने कुनै कार्य गरेमा कानुनी कारवाही गरिने आचार्यको भनाइ छ ।

ओखलढुंगामा बुद्ध जयन्तीको अवसरमा बौद्धमार्गीले भेला गर्ने, हिन्दुहरुको शक्ति पीठमा बली दिने र मेला महोत्सव गर्ने चलन छ । यस्तो तयारी सुरु भएको जानकारी आएपछि स्थानीय तहलाई यसबारे सहजीकरण गर्न अन्यथा कारवाही गर्ने कमाण्ड पोष्टले निर्णय गरेको हो ।

यसबारे जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तह तथा सुरक्षा निकायलाई पत्राचार गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here