काेभिड १९ विरुद्ध लड्न ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर

185

काठमाडौं – कोरोना भाइरस (काेभिड १९) संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।

सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई एक अर्ब आठ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई दुई अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको जनाए।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा खतिवडाले कोरोनाविरुद्धको लडाइँमा बजेट अभाव हुन नदिएको दाबी गरे । उनले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्ययोजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भएअनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको जानकारी दिए ।

कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरू पूर्ण रूपमा बन्द भएकाले राजस्वमा चाप परेको समेत मन्त्री खतिवडाले बताए । भन्सार नाकाबाट मासिक लक्ष्यको एकचौथाइ मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुली सबैमा कमी आउँदा राजस्व संकलनमा चाप परेको उनले दाबी गरे ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवश्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिबद्धता पाएको समेत जनाए ।  यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने जनाए ।  लकडाउन लम्बिँदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here