काठमाडौं / पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ । साउने झरीको झल्को दिनेगरी परिरहेको यो पानी कहिले रोकिएला रु मौसमविद भन्छन्– पर्सिसम्म यस्तै हो ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने उनको भनाइ छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको तथा प्रदेश ५ मा ५६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । यो प्रणाली पूर्वतर्फ सरिरहेको छ ।

नेपालमा यस्तो झरीको अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने यकिनका साथ भन्न मौसमविदले सकिरहेका छैनन् । किनभने नेपालमा तीन दिनभन्दा बढीको मौसम पूर्वानुमान गरिँदैन । मौसमविद नगरकोटीले पर्सि अपराह्नसम्म पानी पर्ने र त्यसपछि केही कम हुने बताइन् । यसबीचमा पानी पर्ने र रोकिने क्रम जारी रहने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here