अर्थमन्त्रीले भन्याे – कोरोना रोकथामका लागि ३ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसक्याे

168
काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि  सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ। 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना विरुद्धको लडाईमा बजेट अभाव हुन नदिएको जनाउदै सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको जनाएका छन् ।

स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको जनाउँदै  मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको  र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताउनुभयो।

कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा बन्द भएकोले राजश्वमा चाप परेको समेत मन्त्री खतिवडाले बताउनुभयो। भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुलि सबैमा कमि आउँदा राजस्व संकलनमा चाप परेको उहाँले बताउनुभयो।

सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवस्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिवद्धता पाएको समेत बताउनुभयो। यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताउनुभयो। l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here