सरकारी गाडीले काठमाडौंमा मान्छे ओसारिदै गरेकाे भेटिए

6033
काठमाडौं –  सरकारले उपत्यका भित्रिने नाकामा कडाई  गरेकाे अवस्थामा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार आइरहेकै बेला सरकारी गाडीले नै मान्छे ओसार्ने गरेको पनि खुलेको हो । यसैक्रममा बुधवार सरकारी गाडीले काठमाडौंमा ल्याएका मान्छेहरुसहित गाडीलाई राजधानीका स्थानीयवासीले फेला पारेका छन् ।

सर्लाहीकाे मलङ्गवाबाट एक परिवारसहित सरकारी गाडीबाटै काठमाडौं आइपुगेका हुन् । सर्लाहीकाे होरैता नगरपालिका २ निवासी ४ जनालाई ल्याएर सरकारी गाडी बुधबार दिउसो काठमाडौं आइपुगेकाे हाे । बा २ झ २४१३ नम्बरको सरकारी गाडीबाट उनीहरु काठमाडौं आएका हुन् ।

मलङ्गवाबाट काठमाडौं आएका उनीहरु शुरुमा काठमाडौं २३ वडा ओमबहाल पुगेका थिए । ओमबहालमा नातेदारको डेरामा बस्न आएका उनीहरुलाई त्यहाँका स्थानीयले बस्न नदिने भन्दै विरोधमा उत्रिएका थिए । स्थानीय सर्वसाधारणले उनीहरु आएका सरकारी गाडीका चालकलाइ सोधपुछ गरेपछि उनले ल्याएकाे गाडी संघीय मामिला मन्त्रालय २ नं प्रदेशको भएको बताएका थिए । टोलका स्थानीयले भने ‘कवाडी व्यवसाय गर्दै आएका परिवार सरकारी गाडी चढेर आउदा हामीले रोक्यौ र वडा अध्यक्षलाइ खबर गर्यौ ।’

उनका परिवारको कवाडी गोदाम रहेको नजिकै २२ वडामा बस्ने निर्णय गरेका उनीहरुलाई  मच्छेन्द्र क्लव आवद्द युवाहरु र वटु टोलमा स्थानीय पनि विरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि लगेको थियो ।

उनीहरुको आरडिटि परिक्षणमा रिपोर्ट नेगेटिभ आएको कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । पिसिआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट आउन भने बाँकी रहेको जनाइएकाे छ ।

आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बाहिर नआइ पूर्ण रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई वटुमै बस्न दिइएको मच्छेन्द्र क्लवका सदस्य श्रीजनमान श्रेष्ठले जनाए ।  महानगरपालिकाको २२ र २५ वडामा क्लवले स्थानीय वडासँग सहकाय गर्दै राहत वितरणका साथै डिसइन्फेक्सन छर्कने गर्दै आएको छ ।

तराईमा जोखिम बढ्दै गएकाले नाता परेका मान्छेको सरकारी गाडीबाट आफु काठमाडौं आएको गाडीमा अाउने महिलाले बताएकी छन् । उनीहरु अहिले बसेको ठाउँ कामपा २५ वडासँग पनि जोडिएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले लकडाउनको समयमा सरकारी गाडीको दुरुपयोग भएको  जनाएकी छन् । जो जहाँ छ, त्यहिँ सुरक्षित रहनुपर्ने र हरेक स्थानीय होम क्वारेन्टाइनमा बसिरहेको अवस्थामा सरकारी गाडीले यसरी मान्छे ओसार्नु निकै आपत्तीजनक रहेको खड्गीले जनाइन ।

अत्यावश्यक काममा बाहेक आवतजावत गर्न नहुने अवस्थामा सरकारी गाडीले नै एक ठाउँमा जोखिम बढेको भन्दै अर्को ठाउँमा मान्छे ओसार्नु भनेको पदको दुरुपयोग भएको भन्दै आवश्यक अनुसन्धान गरी कारवाही गर्न सम्बन्धित निकायमा खबर गरिसकिएको जानकारी  उपमेयर खड्गीले दिइन ।

 

 

उनले भनिन ‘अहिले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, एक जिल्लाबाट अर्को जिल्लामा वा एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत नै गर्न नहुने अवस्था हो । सरकारी गाडीले नै मलङ्गवाबाट काठमाडौं ल्याएको विषयमा अनुसन्धान गरि कारवाही गरिनु पर्छ ।’

त्यसैगरी २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले पनि यसरी सरकारी गाडीकाे दुरुपयाेग गरेर लकडाउनकाे उल्लंघन गर्दै मान्छे अाेसार्नु आपत्ती जनक रहेकाे बताए । उनले भने ‘राज्य भनेको अभिभावक हो । यस्तो अवस्थामा राज्यले अभिभावकिय भूमिका निभाउनु आवश्यक छ ।

सरकारी गाडीबाट मान्छे काठमाडौं ल्याइनु विल्कुलै गलत रहेको र यसमा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही गर्न महर्जनले माग गरे।  – बुद्धशरण शाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here