नेपालको अवस्था झन भयावह बन्दै जाने संकेत

12
– निशा तामाङ 

विश्व कोरोना भाइरस कोभिड –१९ को संक्रमणबाट आक्रान्त बनिरहेको अवस्था छ । दिनहुुँ मृत्यु क्रमश बढिरहेको छ । संक्रमित हुनेको संख्या पनि त्यस्तै मात्रामा बढेको छ । नेपाल पनि कोरोना संक्रमणको सिकार भएको छ । एक जना दुई जना हुँदै संक्रमणको संख्या  बढिरहेको  छ । कोरोना रोकथामका लागि भन्दै लकडाउन समेत गरेर सुरक्षित हुने संयन्त्र अपनाइएको समेत छ । त्यही पनि कोरोना रोकथाम र नियन्त्रण हुनु भन्दा पनि बढी  कोरोना संक्रमितको संख्या झन झन बढदै गएको छ ।  यस्तो अवस्थामा नेपालको अवस्था झन भयावह बन्दै जाने संकेत देखिएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने भनेर अभियक्ति दिनुभएको थियो । नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको भन्नुभएको थियो  ।  तर विकसित मुलुकहरु पनि यो महामारीको चपेटामा परिरहेको अवस्थामा नेपालले  सतर्कता अपनाउनु आवश्यक नै छ । बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा अपनाइएको  सतर्कता  कहाँनेर कमजोर भयो ? कोरोना रोकथाम तथा न्यूनीकरणका लागि बनेको उच्च समितिको कमजोर नीतिले कोरोना रोकथाम गर्न नसकेको हो भनेर बुझ्न सकिन्छ ।

हालैमात्र असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने समेत जनाएका छन् । एकजुट हुनुपर्ने सुझाव दिने प्रधानमन्त्री स्वयम् भने आफ्नो देशमा एकजुट भएर कोरोना रोकथामका लागि सहि रणनीति बनाउन सकिरहेका छैनन् । जसको प्रतिफल विभिन्न क्षेत्रको कमजोरीका कारण कोरोना संक्रमणको जोखिम अझ बढदै गएको देखिन्छ ।

 कोभिड –१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार समेत गरिएको छ । सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको पनि छ । तर परिक्षणमा कमी भएको हो या परिक्षण किटको कम्जोर गुणस्तरले गर्दा हो संक्रमित पनि पुनः संक्रमित भएका छन् साथै परिक्षणका रिपोर्ट समेत कतै पोजिटिभ कतै नेगेटिभ देखिने भएको छ ।

कोरोना रोगको जोखिम जति छ ,  भोक जोखिम पनि त्यति नै छ ।  भोकले रोग पनि भन्दैन रहेछ । भोकै मरिन्छ कि भन्ने डरले  पैदल नै गाउँ फर्किनेहरुले न आफू सुरक्षित हुन सके न गाउँलाई नै सुरक्षित राख्न सके । यही भोकका कारण राहत वितरण गरेर जिवनयापन सहज बनाउने कोसिस पनि गरियो । तर राहतका नाममा समेत भएको चलखेलले वास्तविक राहत नपाएर पीडित परिवार अझ पीडित भएका छन् ।  राहत वितरणको क्रममा अझ झडपका खबर समेत सुनिएका छन् । राहतका नाममा हुने यस्तो गतिविधि रोक्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ। राहत वितरण गर्नेहरु भोकले पीडित जनताको पहुँचमा हुनुपर्छ ।  राहत वितरण प्रभावकारी बनाउनु पर्दछ । साथै कोरोना रोकथामका लागि  नयाँ रणनीति आवश्यक छ।  यसको रोकथाम बेलैमा गर्न सकिएन भने रोग र भोकले नेपाली जनताको स्थिति भयावह बन्दै जाने निश्चित छ ।-samarianisu@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here