उत्पीडित र उत्पीडकबिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध !

3
– नारायण शर्मा (सत्तासीन नेकपाका केन्द्रीय सदस्य)

कुनै व्यक्ती वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोंच, संस्कार, संस्कृती,  साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ ! आज भारतले नेपालको पश्चिमोत्तर सीमाक्षेत्रको नेपाली भूभाग कब्जा गरि तावाघाटदेखी लिपुलेकसम्म १९ किमि बाटो बनाई उद्घाटन गरेको मुद्दाको समाचार नेपाली मिडिया र सामाजिक सन्जालहरुमा मात्र होइन, हरेक देसभक्त नेपाली जनमनहरुमा सन्सनीपूर्ण, सन्देहपूर्ण र संकटपूर्ण सन्देसको रुपमा संप्रेषित भएको छ ! र, यसै विषयलाई लिएर सच्चा देसभक्तहरु सल्बलाएका छन् र सडकमै संघर्ष गर्दै छन् भने सरकार र संसदभित्रका संसदवादी शक्तिशाली दलहरु आपत्तीसम्म जनाउँदै मूलतः र सारत: कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने वचनबद्धतायुक्त वक्तव्यवाजी गर्दै सडक संघर्षमा उत्रने देसभक्तहरुलाई पकड्न र थुन्नमा बलबुता र बेला व्यतित गरिरहेका छन् !

आश्चर्य र दुखको कुरा के छ भने भारतले नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र अखण्डतामाथी गरेको यो हस्तक्षेप  र अतिक्रम कुनै नौलो, ठूलो र एकमात्र घटना होइन ! २४ जिल्लाका ७१ स्थानमा सीमा मिचेर भारतले नेपालको एउटा जिल्ला भक्तपुर भन्दा तेब्बर भूमी अर्थात् कुल ६०६२७ हेक्टर नेपाली जमिन कब्जागरेको छ, त्यसमध्ये हाल चर्चामा आएको कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा मात्र ३७००० हेक्टर अर्थात् ३२७ वर्ग किमि भूमी आतिक्रमण भएको आज ६० बर्ष जति भएको छ । यहाँसम्म कि भूकम्पले क्षतविक्षत पारेको बेला खुला सीमा रहेको देस नेपालमा भारतले नाकावन्दी गर्ने चरम अमानवीय अपराधसहित थुप्रै पटक सैनिक र राजनैतिक हस्तक्षेपका माइक्रो म्यानेजमेन्टसम्मका अनगिन्ती कुकृत्यहरु गर्दै आएको छ । यी हस्तक्षेपकारी अपराध र कुकृत्यहरुको विरोध पनि नभएको होइन, तथापी यी कुनैमा सुनुवाइ वा सुधार भएको छैन ! अझ हास्यास्पद कुरा के पनि छ भने दुई देसीय आपसी सहमतीमा नेपाल-भारत सम्बन्धमा भएका समस्याहरुको समाधानको लागि भनेर गठन गरिएको eminent persons group (EPG) नामक विज्ञहरु सम्मिलित उच्चस्तरीय सरकारी संयन्त्रले लामो समय र कडा मेहनत लगाएर तयार पारेको सुझाव प्रतिवेदन आफू अनुकूल छैन भन्ठानेर एक बर्ष हुंदापनी भारतीय प्रम मोदीलाई प्रतिवेदन बुझ्ने “फुर्सद” नभएको भन्दै त्यो प्रतिवेदन निकम्मा बनाएको छ । भारतले अर्थात् भारतीय विस्तारवादी शासकवर्गले नेपालमाथी यसप्रकारका थुप्रै कुकार्यहरु गरीनैरहने र नेपालले अर्थात् नेपालका दब्बु शासकहरुले आजसम्म पनि सामान्य असन्तुष्टी मात्र व्यक्त गर्दै कथित कूटनीतिक हल खोज्ने बहानाबाजी गरी उर्लँदो जन आक्रोसलाई थामथुम पार्ने मात्रै हुँदै गैरहेको छ ! अहिले राष्ट्रवादको नारा उरालेर बनेको देसभक्त मानिने कम्युनिस्टहरुको दुईतिहाइको शक्तिशाली र स्थिर भनिएको वर्तमान ओलीसरकार भएको बेलामा त नेपालले यसको प्रतिरोध पनि त्यही स्तरमा गर्ला कि भनेर आस र विश्वास बढेको बेलामा विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय/क्षेत्रीय संयुक्त मोर्चा बनाउने र विश्वभरी नै यसप्रकारको हस्तक्षेपको निन्दा, भत्सर्ना गर्ने-गराउने आदि गरेर सशक्त विरोध, अवरोध र प्रतिरोध गर्नुको साटो पुरानै घिसेपिटे, काइते र लुरे तर्क, धर्म र कर्म गरेर झारा टार्ने दुस्प्रयास हुनु सारैनै दुखद विडम्बना भएको छ ! नेपाल सरकारले यसप्रकारको रवैया अपनाउनुको अर्थ हो नेपाली शासकवर्ग र भारतीय शासकवर्ग दुवैको वर्ग, चरित्र र स्वार्थ पनि समान छ र दुवै वर्गमा दलाल, दास, दब्बु,  दम्भी, दामपन्थी, दादागिरी र दमनकारी जस्ता विपरीत वर्गचिन्तन र चरित्र रहेको छ ! फलस्वरूप यिनका बिचमा आपसमा भित्री गोप्य साँठगाँठ, सरसल्लाह, समन्वय, सम्झौता, सहमती र षड्यन्त्र समेत भैरहेको छ ! यो स्थितिमा नेपाली शासक वर्गबाट भारतीय अतिक्रमणको प्रतिकार होइन कि उसका सामु

आत्मसमर्पण हुने हुन्छ र यही नै भै रहेको पनि छ, जो स्वाभाविकै हो ! भनिन्छ, – ” Offence is the real defence but only defence is finally a surrender.”  हुन पनी हो पहिले नै “लड्नु हुँदैन र लडेमा लडाइँ हारिन्छ” भन्ने मानसिकताले लडाइँ नै हुँदैन र कथं जबर्जस्ति लडेमा पनि निश्चितै रुपमा हारिन्छ !

यस परिप्रेक्ष्यमा उपरोक्त दृष्टिले हेर्दा भारतबाट नेपाल यसरी उत्पीडित भैरहनुमा दुई प्रमुख कारणले काम गरेका छन् । प्रथमत: नेपालको आन्तरिक आत्मनिर्भरता र आत्मनिर्णयको अर्थात स्वाधीनता, स्वाभिमान, स्वावलम्बनको लागि सशक्त र सशस्त्र संघर्षको सोंच, शक्ति, साहस, संस्कार, संस्कृति र समर्पण नहुनु र द्वितीयत: भारतको विस्तारवादी र प्रभुत्ववादी चुसुवा चिन्तन र चरित्र हुनु ! आज दक्षिण एसियामा भारतको हार्दिक मित्रता, एकता, सहयोग र सद्भाव प्रायः कुनै देससङ्ग छैन ! स्पष्ट छ यसो हुनुमा भारतीय दादागिरीले नै काम गरेको छ ! ठूलो र शक्तिशाली छिमेकी देस भारत भएर पनि यदी त्यहाँका शासक पात्रहरु र तिनका प्रवृत्तिहरु उत्पीडनकारी हुन्नथे भने नेपाल आज यसरी भौगोलिक, जनसांख्यिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सैनिक आदि कुनै पनि हस्तक्षेपको शिकार भैरहनु पर्थेन र दक्षिण एसियामै नेपालसङ्गै पाकिस्तान, बाङ्गलादेस, श्रीलंका आदि सबै सार्क राष्ट्रहरुबिचको सम्बन्ध सुमधुर नै हुन्थ्यो ! के ठूलो, शक्तिशाली र सम्पन्न देसले आफ्ना साना र कमजोर छिमेकीहरुलाई शोषण-दमन नै गर्नुपर्छ भन्ने हुन्छ र ? अवश्य हुँदैन ! यदी यस्तो हुँदैमा नेपाल उत्पीडनमा पर्नुपर्ने भएको हो भन्ने मान्ने हो भने पनि किन त भारतभन्दा ठूलो, शक्तिशाली र सम्पन्न मुलुक चीन घनिष्ट छिमेकी भएर पनि चीनबाट नेपाल उत्पीडनमा परेको छैन, न त अरु कुनै साना र कमजोर राष्ट्रहरु चीनबाट प्रताडित छन् । बरु चीनको समृद्धि र सामर्थ्यबाट त नेपाल, पाकिस्तान, श्रीलंका, उत्तर कोरिया  र यहाँसम्म कि स्वयं भारत लगायत टाढा-नजिकका धेरै छिमेकी देसहरु धेरै नै लाभन्वित पो भैरहेछन्  !

आज चीनसङ्ग हाम्रो सम्बन्ध लामो समयदेखी राम्रो र मित्रवत हुनुमा चीनको नीति, नेतृत्व र नियत निरन्तर स्वच्छ, सही र सिन्सियर रहेकोले नै हो भने भारतसङ्ग न राम्रो र विवादास्पद अर्थात् दुश्मनीपूर्ण जस्तो हुनुमा भारतीय शासकवर्गको विचार र व्यवहार विस्तारवादी अनि उसको सोंच, शैली, संस्कार र संस्कृति साम्राज्यवादी वा उपनिवेशवादी भएरै हो भन्नेमा विवाद छैन ! भारतको नेपालनीति हस्तक्षेपकारी, हैकमवादी, हैरानकारी, हुकुमी, हेपाहा र हिस्याउने हुँदैआएको हामीलाई हेक्का पूरै छ ! यसै नीति अनुसार नै भारतले बारम्बार नेपाललाई हेप्ने र चेप्ने गर्नुका साथै नेपालमा पस्ने, बस्ने, डस्ने, धस्ने र घुस्ने-चुस्ने गरिरहेको छ ! यस्ता अवान्छित, अप्रिय, अन्यायपूर्ण , अत्याचारपूर्ण र अतिवादी अतिक्रमण र आक्रमणका विरुद्ध दुई देसबिचका सीमा सहितका समग्र सम्बन्ध सम्बन्धी सबै सन्धी, सम्झौता समेतका सम्पूर्ण समस्याहरुको सदासर्वदाको लागि समष्टिमै स्थायी समाधानार्थ सबै शक्तिहरुले संयुक्त र सशक्तरुपमा संघर्ष गर्नुपर्छ ! त्यसको लागि नेपाल राज्य र नेपालका राजनीतिक दलहरुका नायक-नेताहरुले आफ्ना नीति, निर्णय र निर्देशनलाई निर्णायक बनाई नियतमा निरन्तर निर्मलता समेत दिनुपर्ने हुन्छ ।

भारतीय विस्तारवादको यो हेपाहा र मिचाहा प्रवृत्ती नेपालका सन्दर्भमा मात्र होइन, भारतसङ्ग सीमा जोडिएका चीन लगायत दक्षिण एसियाका सबैजसो मुलुकहरुका सन्दर्भमा पनि व्यक्त भएको स्पष्ट छ !

 आज नेपाल यसरी भारतबाट शोषित-पीडित हुनुमा भारतीय विस्तारवादका अतिरिक्त नेपाली शासकवर्गको आत्मसमर्पणवादी कायर, लाछी, लुरे र लाचार चिन्तन र चरित्र पनि अर्को मुख्य कारण  रहेको छ ! यदी नेपालका नीति निर्माणकर्ता नेता-नायकहरुका नीति, निर्देसन र नियतहरु निर्मल र निस्छल हुने हो र भारतीय वा अन्य कुनै पनि शक्तिराष्ट्रको दमनको दरो र दमदार प्रतिरोध गर्ने हो भने हिजो सानो र कमजोर देस भियतनामबाट ठूलो र शक्तिशाली देस अमेरिकी साम्राज्यवाद पुच्छर सेपेर भागे जस्तै लिम्पियाधुरा र सुस्तालगायतका सबै सीमाक्षेत्रबाट भारतीय विस्तारवाद पछि हट्थ्यो !  यो कुरा हिजोका सन्दर्भमा मात्र होइन, आज पनि त्यत्तिकै सत्य हो भन्ने कुरा संयुक्त राज्य अमेरिकाभन्दा धेरै साना र कमजोर ठानिएका क्युबा र उत्तर कोरियाले अमेरिकालाई हर क्षेत्रमा पटक पटक चुनौती दिएको र अमेरिका इन्तु न चिन्तु भएर उनीहरुका गतिविधिहरु हेर्दै रिसले आगो हुँदै कहिले बहुलट्ठीपूर्णरुपले आक्रामक हुन्छ त कहिले वार्ताको वागजालमा फसाउन सकिन्छ कि भनी मेलमिलापको नाटक गर्छ तर जब उसका दुवै हरकतहरु असफल हुन्छन् तब मुर्मुरिएर तालु ठोक्दै र थप षड्यन्त्र, धम्की, नाकावन्दी गर्दै आत्मग्लानीसहितको आत्मरती गरि  बसिरहेकोबाट पनि स्पस्ट हुन्छ !

यहाँनेर क. माओले भन्नू भएका यी दुई कुरा अत्यन्त सान्दर्भिक, आकर्षित र स्मरणीय छन् : एक, “विचारधारा र राजनीतिक कार्यदिशा ठिक हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्दछ !” दुई, ” प्रतिकृया वादीहरु कागजी बाघ हुन् !” यस्तै संस्कृतमा पनि एउटा भनाइ छ :  ” सत्यमेव जयते” अर्थात् सत्यको नै जीत हुन्छ । नेपालीमा पनि यस्तै मिल्दोजुल्दो एउटा भनाइ प्रचलित छ – “सत्य डग्दैन, न्याय हार्दैन ! ”  त्यस्तैगरि अङ्ग्रेजीमा पनि एउटा भनाइ छ : ” unity is streingth “.( एकता नै बल हो) । यसरी के कुरा पक्का देखिन्छ भने हामी सत्यको, न्यायको, समानताको, स्वतन्त्रताको, क्रान्तिको, मुक्तिको र प्रगतिको मार्गमा छौं भने अथवा भनौं हामी वैदिक साहित्यमा भनिएझैं- “सर्वे भवन्तु सुखीन, सर्वे सन्तु निरामया…..”  जस्तो सदाचारको सन्मार्गमा सगर्व सम्बद्ध छौं र त्यस अनुसार हामीले जस्तालाई तस्तै व्यवहार गर्ने आँट गर्दछौं, त्यसको निम्ति जेजस्तो दुख कष्ट र त्याग, तपस्या र बलिदान गर्न तयार रहन्छौं र दृढतापूर्वक संघर्ष गर्ने गर्दछौं भने भारतलाई वा अरु कसैलाई पनि सत्य नस्वीकारी धरै छैन ! तर त्यो संघर्ष र  भनेको अहिले भनिए जस्तो कूटनीतिक मात्र नभएर कानुनी, राजनीतिक र सामरिक/फौजी समेत हो भन्ने पनि नेपाल सरकार र राष्ट्रिय राजनीतिक दलहरुले बुझ्नुपर्छ र कम्तीमा मिचिएका भूमी रक्षार्थ नेपाली फौज त्यहाँ पठाई अविलम्ब प्रतिरोध गर्नु पर्छ । साथै उनीहरुले जमीन माथी र मुनि रहेका संगठित क्रान्तिकारीहरु, भारत र संसारैभर छरिएर रहेका कर्तब्यपरायण नेपाली आमाका स्वतन्त्र वा प्रतिबद्ध देसप्रेमीहरु, देसका विभिन्न भागमा सकृय सचेत नागरिक समाजहरु र आम देसभक्त र न्यायप्रेमी जनसमुदायहरुलाई पनि यो संघर्षको औचित्य, आवश्यकता र महत्व बुझेर यो संघर्षमा ऐक्यबद्धताको निम्ति आह्वान गर्नुपर्छ ! अनि यी सम्पूर्ण शक्ति, ब्यक्ती र व्यक्तित्वहरुको सशक्त संयुक्त मोर्चामार्फत संसारभरका सम्पूर्ण न्यायप्रेमी देस र जनताको सद्भाव, समर्थन, सहयोग र सहभागितालाई संचालन-परिचालन गरेर मात्रै नेपाल र नेपालीले न्याय, सफलता र विजय पाउन सकिन्छ ! त्यसैले आवश्यकता प्रतिरोधी चेत, क्रान्तिकारी विचार, सही राजनीतिक कार्यदिशा, सशक्त कूटनीतिक प्रयास, मुद्दाको अन्तर्राष्ट्रियकरण अनि कानुनी र फौजी उपचार आदि सबै उपाय अवलम्बनको योजनाको हो ! देसभित्र आवश्यक यी सबै प्रकारका संघर्ष गर्दै तिनको पूर्ण सफलताको लागि एक वृहत्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता र संयुक्त मोर्चा निर्माण र परिचालन गर्नैपर्छ ।

आजको युग सत्य, न्याय, समानता, स्वतन्त्रता, स्वाभिमानको युग हो ! यो युग नै वास्तवमा एकता, संघर्ष र रुपान्तरण अनि नयाँ आधारमा नयाँ एकता, मित्रता, सहकार्य र सह अस्तित्वको युग हो !  अन्तर्राष्ट्रिय भाइचारावाद र विश्ववन्धुत्व आजको युगको सन्मार्ग र लक्ष हो र हुनुपर्छ ! यसका विपरीत जाने जोसुकै पनि जतिसुकै ठुला र शक्तिशाली भएपनी तिनको पराजय अवश्यंभावी छ भने युगको गति र विशेषता अनुसार चल्ने जोसुकै र जतिसुकै साना र कमजोर भएपनी अन्तत: तिनकै जीत  सुनिश्चित छ । आगे शासकहरुको मर्जी !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here