महिलाले अवसर पाए गर्न सक्छन् भन्ने उदाहरण बनिन् डा.रुना झा

103
– प्रीति रमण

कोरोना भाइरसको संक्रमणले बिश्व जगतलाई नै आक्रान्त बनाइरहेका बेला कोरोनाकै संक्रमितहरुको सेवामा खटिएर काम गर्ने बिश्वकै ५ जना महिलाहरुको ‘युएन उमेन’ सूचीमा नाम दर्ज गराउन मधेसी समुदायकी नेपाली महिला सफल भएकी छिन् । चर्चाको शिखरमा रहेकी डा. रुना झा नेपाली मलिाहरुका लागि नै गौरवमय पात्र बन्न सफल भएकी छिन् . विश्वकै जनसंख्यामा आधाभन्दा बढी भूगोल ओगटेका महिलाहरू जुनसुकै काममा पनि सफल हुन सक्छन् भन्ने ज्वलन्त उदाहरणका रुपमा डा.रुना झाले आफूलाई उभ्याउन सफलता हासिल गरेकी छिन् ।

महिलाले अधिकार पाउने हो भने पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने नमूना पात्र मात्र नभएर नेपाली नारीहरुका लागि प्रेरणाको स्रोतसमेत बनेकी छिन् यी मधेसी नारी । नेपालको कुल जनसंख्यामा पुरुषको तुलनामा महिलाको संख्या धेरै नै छ । देशको राष्ट्रपति पदमा अहिले महिला नै आसीन छिन् । प्रधानन्यायाधीश, सभामुख पदमा पनि महिलाले नेतृत्व गरिसकेका छन् । स्थानीय सरकारका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षलगायत पदहरुमा नेपाली महिलाले नेतृत्व गर्दै आएका छन् । चिकित्सा क्षेत्रमा त झन् नेपाली महिलाहरुको उत्कृष्टता धेरै पटक देखिएकै छ । यति हुँदाहुँदै पनि नेपालमा महिलाको अवस्था पुरुषको तुलनामा निकै दयनीय छ । अझै पनि पहाडी भेगमा छाउपडीजस्ता कूप्रथाका कारण महिलाहरूले ज्यान गुमाइरहेका छन् । मधेसमा दाइजो प्रथाका कारण महिलाहरू आफ्नै पतिबाट हिंसाको शिकार भइरहेका छन् । अवशर पाए पछि डा.रुनाजस्तै बन्न सक्ने नेपाली नारीहरु कतिपय त घरेलु हिंसाका कारणबाट प्रतिभा देखाउनबाट बञ्चित नै पारिएका छन् ।

केही औंलामा गन्न सकिने महिला राजनीति, व्यवसाय र अन्य क्षेत्रमा सफल भए पनि अधिकांश महिलाको अवस्थामा पछिल्लो समय खासै सुधार हुन सकेको छैन । समयक्रमसँगै समाज परिवर्तन हुँदै जाँदा महिलामा चेतनास्तर बढ्नु स्वाभाविक हुन्छ । तर, मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएपछि जुन रूपमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्थामा सुधार हुनुपर्ने हो, त्यस्तो महसुस हुन सकेको छैन । सरकारी तथा गैरसरकारी संस्थाहरूले वर्षेनी निकाल्ने तथ्यांकहरूले पनि महिलाको अवस्थामा खासै सुधार हुन नसकेको औंल्याउँदै आएका छन् ।

समग्र नेपाली महिलामा मधेसी महिलाको अवस्था भने झनै दयनीय पाइन्छ । मधेसी महिलाहरू आफू जन्मिएको घरका परिवारबाटै विभेदको शिकार हुँदैआएका पाइन्छन्, गाउँघरमा यो समस्या निकै जटिल बनिरहेको छ । मधेसमा महिलालाई शिक्षा दिने विषय अझै प्राथमिकतामा पर्न सकेको छैन । धेरै शिक्षा दिए त्यहीअनुसारको केटा खोज्नुपर्ने र तिलक अर्थात् दाइजो पनि धेरै दिनुपर्ने सोचका कारण पनि छोरीलाई धेरै पढाउन आमाबुबाले चाहेको देखिँदैन । साथै, विवाह गरेपछि पनि घरधन्दा नै गर्नुपर्ने त हो भनेर पनि छोरीलाई विद्यालय पठाइँदैन । मधेसमा व्याप्त गरिबीका कारण पनि छोरीलाई शिक्षा दिने चलन छैन । दलित महिलाहरू आर्थिक अवस्था कमजोर र पूरातनी सोचका कारण विद्यालय पुग्न सकेका छैनन् । यसकारण पनि मधेसी महिला समाजमा अघि आउन सकेका छैनन् भन्ने स्पष्ट हुन्छ । शिक्षा नपाएका कारण उनीहरूको चेतनास्तर कमजोर भएको र उनीहरू पछाडि परेको कुरामा कुनै विमति हुन सक्दैन ।

मधेसी महिलाहरूको अर्को समस्या बालविवाह हो । दलित समुदायमा त यो समस्या झनै भयावह छ । सानो उमेरमा नै विवाह हुँदा कलिलैमा आमा बन्ने र विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । धेरै बच्चा जन्माउँदा पनि मधेसी महिलाहरू शारीरिक हिसाबमा कमजोर हुन्छन् । शिक्षा तथा स्वास्थ्य गतिलो नहुँदा उनीहरूले कहिले पनि समान अवसर पाउन सकेका छैनन् । मधेसमा दलित समुदायलाई छुवाछूतलगायत गरिने विभेदको शिकार महिला नै हुँदै आएका छन् । मधेसमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउनेसम्मका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका पाइन्छन् ।

महिला शिक्षित भए मात्र उनको परिवार पनि शिक्षित, सुसंस्कृत, सभ्य र स्वस्थ हुनेछ । त्यसकारण शिक्षित, सभ्य र समृद्ध समाजको परिकल्पना गर्ने हो भने त्यसका लागि पहिलो कदम महिलाको स्तर सुधारमा सरकार लाग्नुपर्छ, त्यसका लागि नारीलाई अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्थाले प्राथमिकता पाउनु पर्दछ । कुनै पनि घरमा एकजना महिला शिक्षित छ भने त्यो घरको सम्पूर्ण परिवार शिक्षाको प्रभावमा परेको पाइन्छ । जसरी डा.रुना झाले आज पूरा देशको शान माथि उठाएर नेपाली महिला हुनुको गौरव देखाउन सकिन्, त्यसैगरी सबै नेपाली महिलाहरुलाई शिक्षको अवशर दिलाउन जरुरी छ । महिलालाई सम्मानजनक स्थान दिन सके मात्र मुलुकको विकासको आधा काम यत्तिकै पूरा हुने दावी गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here