युकेले दाइजो पाएको मुम्बइकाे रोचक इतिहास

153

 

उत्तरी मुम्बइमा अवस्थित कान्दीवली नजिकै फेला परेको प्राचीन अवशेषहरुका आधारमा वैज्ञानिकहरुले मुम्बइमा पाषाण युगदेखि नै मान्छे बस्न थालेको पत्ता लगाएका छन् । इशापूर्व २५० मा मुम्बइमा मानव बसोबास रहेको लिखित प्रमाण नै मिलेको छ ।

तेश्रो शताब्दीमा यो द्विपसमूह मौर्य साम्राज्यको हिस्सा बनेको थियो, जुनबेला सम्राट अशोकको शासन थियो । त्यसपछि त्यहाँ विभिन्न साम्राज्यका राजाहरु १५औँ शताब्दीमा मुम्बइमाथि गुजरातका शासकले कब्जा जमाए । त्यो सँगै पोर्चुगिजहरुले मुम्बइमाथि आक्रमण गरे । तर त्यसपटक पोर्चुगिजहरुले मुम्बइमा युद्ध जित्न सकेनन् । सन् १५३४ मा मुुम्बइमाथि पुनः हमला भयो । त्यस समय मुम्बइमाथि गुजराँतका सुल्तान बहादुर शाहले शासन गरिरहेका थिए । पोर्चुगिजहरुले उक्त युद्धमा जित हात पारे र मुम्बइमाथि कब्जा जमाए । त्यसको धेरै वर्षसम्म मुम्बइमा पोर्चुगिजको शासन रह्यो ।

 

१७औँ शताब्दीमा जब अंग्रेजहरु पहिलोपटक भारत आए तब उनीहरुको नजर पनि मुम्बइ द्विप समूहमाथि पर्‍यो । किनकि त्यसबेलासम्म मुम्बइ एउटा महत्वपूर्ण व्यवसायिक केन्द्र बनिसकेको थियो । त्यसपछि मुम्बइमाथिको अधिकारलाई लिएर पोर्चुगिज र अंग्रेजबीच धेरै विवादसमेत भयो । मुम्बइमाथिको अधिकारका विषयमा अंग्रेज र पोर्चुगिजको विवाद तब साम्य भयो जब पोर्चुगिज राजाले आफ्नी छोरी क्याथरिनको बिहे बेलायती राजा चार्ल्स द्वितीयसँग गरिदिने फैसला गरे ।

सन् १६६१ मा पोर्चुगिज राजकुमारी क्याथरिन र इंगल्याण्डका राजा चार्ल्स द्वितीयबीच बिहे भयो । वास्तवमा त्यो विवाह एउटा सन्धि जस्तै थियो । पोर्चुगिज राजाले छोरीको बिहेमा बेलायती राजालाई ठूलो परिमाणमा धनराशी दाइजो दिए । त्यत्तिले मात्र पुगेन । पोर्चुगिज राजाले मुम्बइ द्विप समूह नै छोरीलाई दाइजोमा प्रदान गरे । अर्थात् मुम्बइलाई पोर्चुगलले दाइजोको रुपमा बेलायतलाई सुम्पियो । पछि राजा चार्ल्स द्वितीयले ससुरालीबाट दाइजोमा पाएको मुम्बइ द्विप समूह मात्र वार्षिक १० पाउण्डमा इस्ट इण्डिया कम्पनीलाई ठेक्कामा दिए । त्यस प्रकार मुम्बइ विधिवत रुपमा अंग्रेजको कब्जामा पुग्यो । बेलायती उपनिवेशबाट समग्र भारत स्वतन्त्र हुँदा मात्र मुम्बइ पनि स्वतन्त्र भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here