महामारीले राष्ट्र बैंक प्रवेशमा कडाई

184
काठमाडौं – नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन, कार्यालय एवम् स्वास्थ्य सुरक्षा, वर्क फ्रमहोम गरी चारवटा विषयका सम्बन्धमा त्यस्तो मार्ग निदर्शन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार मार्ग दर्शनमा जनशक्ति व्यवस्थापन बढीमा एक तिहाई कर्मचारी मात्रै उपस्थित भएर राष्ट्र बैंक सञ्चालन गर्नेगरी यस्तो मार्गदर्शन ल्याएको हो । एक तिहाई भन्दा बढी कर्मचारी आउनुपर्ने अवस्थामा जनशक्ति व्यवस्थापन विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त मार्गदर्शनमा सम्बन्धित विभाग, कार्यालय, महाशाखा, इकाईको जिम्मेवारी सम्बन्धित विभाग, कार्यालय, महाशाखा वा इकाईको प्रमुखले लिने, कामको प्रकृतिअनुसार घरमै बसेर काम गर्ने व्यवस्था मिलाउने, ६/६ दिनको रोटेसनमा कार्यालय उपस्थित भएर काम गर्ने व्यवस्था गर्ने भनिएको छ । राष्ट्र बैंकका कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, संक्रमित जिल्लाबाट फर्किने कर्मचारी १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बैंकिङ सेवा सञ्चालन सम्बन्धमा बैंकिङ कार्यालय र मुद्रा व्यवस्थापन विभाग र प्रदेश कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी र नगद जम्मालाई निरन्तरता दिने त्यस्तो काम गर्नेलाई कर्मचारीले ग्लोभ्स र मास्क अनिवार्य गर्ने तथा सम्बन्धित कार्य सञ्चालनको लागि सूचना प्रविधिसम्बन्धी सेवा निरन्तरता दिने जनाइएको छ ।

त्यस्तै, नोटलाई डिस्इन्फेक्टेड बनाउने, अत्यावश्यक नभएसम्म प्रत्यक्ष उपस्थितिमा बैठक सञ्चालन नगर्ने, प्रत्यक्ष बैठक सञ्चालन गर्ने हो भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने, कर्मचारीहरुबीच पनि अत्यावश्यकबाहेक भेटघाट नगर्ने, एकआपसको दूरी कम्तीमा १ मिटर हुने व्यवस्था मिलाउने लगायत विषय समावेश छन् ।

कार्यालयभित्रको सुरक्षाको लागि कर्मचारी र सेवाग्रहीको ज्वरो मापन गर्ने र १००.४ डिग्रीभन्दा बढीज्वरो हुनेलाई कार्यालयमा प्रवेश नदिने, कार्यालय प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र अन्य स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अवलम्बन गर्ने, कार्यालयका मुलगेट, कार्यालय, ढुकुटी, काउन्टर, शौचालय लगायतका क्षेत्र स्रक्रमण रहित बनाउने, प्रवेशद्वारमा खटिएकालाई पीपीई उपलब्ध गराउने, कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको विवरण राख्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै, घरमै बसेर गर्न सकिने कामको लागि त्यसरी काम गर्न स्वीकृति दिने, त्यस्ता कर्मचारीहरु कार्यालय प्रमुखको निरन्तर सम्पर्कमा रहनुपर्ने र प्रमुखले दिएको निर्देशन पालना गर्नुपर्ने, टेलिफोन, मोबाइललाई तयारी अवस्थामा राख्नुपर्ने विषय समावेश गरिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here